तथाकथित राष्ट्रवादी ओलीको थुरथुरवाद !
– सन्तोष मिश्रखड्ग प्रसाद ओली (के.पी. ओली) यस विचित्रको संसारमा अनौठो जन्तुको रुपमा देखा परेका छन् । नेपालको ३८ औं प्रधानमन्त्रीको इतिहास बनाएका के.पी. ओली कसैले तपाईं भनोस् नभनोस् आफैं मपाईं भई हिंड्ने व्यक्तिका रुपमा चित्रित भएका छन् । राष्ट्रवादीको जबरजस्ती पगरी गुथाइएका प्रधानमन्त्री ओलीका कारण नेपाली राष्ट्रवाद कति कमजोर भयो यसको लेखाजोखा छैन । केपी ओलीको “मुखै बैरी” हुनाका कारण ५ महिनासम्म नेपालीले ठूलो हण्डर खेप्नु पर्यो, नेपालमा ठूलो राजनीतिक र कुटनीतिक बवण्डर मच्चियो ।
केपी ओलीले भारत भ्रमण गरी राष्ट्रिय आत्मसमर्पण गरेपछि नेपाल प्रतिको भारतीय अविश्वास सबै सच्चियो भन्न थालिएको छ । केपी ओलीको सत्ता ढल्ने संकेतबाट अधिकारकालागि लडिरहेका जनता, देशभक्त नेपालीहरु अति खुशी भएका छन् । केपी ओलीले भारत र तराई मधेशका जनतालाई चिढाएर के उपलब्धी दिए त्यसको मूल्यांकन भोलिको दिनमा हुने नै छ । इतिहासका कलंकित र निकम्मा प्रधानमन्त्री केपी ओली हुन भन्दा अतियुक्ती नहोला । के.पी. ओलीलाई शासनसत्ता दिंदा नेपाल र नेपालीले कति सास्ती खाए त्यसको वर्णन गरेर साध्य छैन । केपी ओलीले कटु सत्य बोली र व्यवहार गरेको भए सर्वसम्मतिले त्यसलाई स्वीकारिन्थ्यो । ओलीको बोली तुच्छ, व्यक्तिगत स्वार्थ र घृणित राजनीतिक खेल थियो । केपी ओली आफ्नो भूमिका र खेलमा असफल भएका छन् । नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट निर्माण भई जारी भएको संविधान उनको पालामा कार्यान्वयन हुन सकेन । उनी प्रधानमन्त्री भएपछि नेपालको आधा भूभाग तराई मधेशमा आन्दोलनरत पक्षहरुले उनका विरुद्ध जेजति घृणा, आक्रोश, गाली गलौज, निन्दा, भत्सर्ना गरे त्यस्तो नेपालका कुनै प्रधानमन्त्रीका विरुद्ध कहिले पनि हुन गएको थिएन ।
भूकम्पपीडितहरुको श्रापले उनको सत्तास्वार्थ केन्द्रित राजनीति र कुटनीतिमा ठूलो धक्का लाग्यो । ओलीका सबै महत्वाकांक्षा नै महिना मै पानीको फोकाझैं भयो । उनको राष्ट्रवादी अभियानले नेपाल र नेपालीको सर्वोत्तम हितकालागि केही लछारपाटो लगाउन सकेन । आफ्नै पार्टीका साथी, विपक्षी पार्टी, देश, विदेशका जनताहरुबाट ओली यति आलोचित भए कि भनि साध्य छैन । समर्थनले दिएका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिंदा पनि सरकारको नेतृत्वबाट नहट्नु नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको थुरथरवादले बाटोमा हग्नेलाई भन्दा देख्नेलाई लाजको अवस्थामा पुर्याएको छ । ओलीको सरकार विरुद्ध स्पष्ट अविश्वासको मत आइसकेपछि पनि संसदीय संस्कार, संस्कृति र मर्यादा विरुद्ध अति घृणित राजनीतिक खेल खेलिरहनु नेपाल र नेपालीकै लागि लज्जा, घृणा र बिडम्बनाको करा हो ।
नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रधानमन्त्री ओलीले बाध्यात्मक परिस्थितिको उपज भन्दै जम्बो मन्त्रीमण्डल बनाएर संविधनको खुल्ली उडाउँदै जुन ‘लोभी र पापी’ काम गरे यसबाट प्रायश्चित र पश्चाताप गरेर उनले उम्कन सक्दैनन् । पार्टीमुखी बजेट बनाएर शासन व्यक्तिको हुन्छ, विधिको हुन्छ, ठूलाले जे गर्छ काम त्यो हुन्छ सर्वसम्मत भन्ने परम्परालाई कायमै राखे । राजनीतिक कुलंगार व्यक्तिका रुपमा गिरिजा प्रसाद कोइरालापछि ओलीले आफ्नो नाम इतिहासमा दर्ज गराएका छन् । उखान टुक्काका टुकडे उस्ताद केपी ओली नेपालको राजनीतिक इतिहासमा परपीडकका प्रधानमन्त्री भएर छाडे । धर्मकर्मलाई विशेष महत्त्व नदिने धर्म निरपेक्ष राष्ट्र बनाई क्रिश्चियन धर्म परिवर्तनको महाअभियानलाई सघाउ पुर्याउने मुख्य पात्रहरु मध्येका कम्युनिष्ट प्रधानमन्त्री के.पी. ओलीले ‘श्री मदभागवतमा लेखिएको ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ लाई अवश्य सम्झना गर्नेछ । उनको प्राण जान गाह्रै हुनेछ । उनले राजनीतिक दोषबाट मोक्ष पाउने छैनन् । एउटा राजनीति कुपात्रका रुपमा नेपालीहरुका माझ सधैं चर्चामा आउने कुपात्रका रुपमा नेपालीहरूमाझ सधैं चर्चामा आउने छन् ।
केपी. ओलीको प्रधानमन्त्रीत्वकाल राम्रा काम अति थोरै र नराम्रा काम अत्यन्तै धेरै भए । नीतिगत भ्रष्टाचार, संस्थागत भ्रष्टाचार भए । जस पाउने सकारात्मक काम अवसर पाएपनि केपी ओलीको अव्यवहारिक र रुखो बोलीका कारण नेपाल–भारतबीचको यथास्थितिको सम्बन्ध भत्कियो तर क्रमभंग हुन सकेन । यसको दूष्परिणाम धेरै देखा परेका छन् । केपी. ओलीको दुस्साहस र दूशासन दस्र्घकालीन रुपमा राष्ट्र र जनताकालागि प्रत्युत्पादक साबित भएका छन् । अब गठन हुने सरकारले देशमा कायम भएको गलत राजनीति र कुटनीतिलाई देशभक्तिपूर्ण तरिकाले बेलैमा आम सहमति राष्ट्रिय सहमतिका आधारमा सच्याउन सकेन आवश्यक सुधार र परिवर्तन गर्न सकेन भने नेपाल र नेपालीको अस्तित्व र पहिचानमा ठूलो प्रश्नचिन्ह खडा हुने छ । देशबाट शानित, स्थिरता, सुख, समृद्धि भाग्ने छ । केपी. ओलीको शासन कालमा निकै गम्भीर र संवेदनशील भूल भइसकेका छन् । देश र जनतामाथि विद्यमान सबैखाले संकट र चुनौतीको सामना गर्न सक्ने पाठ विगतले सिकाएको छ । विगतबाट सतर्क भएर, सिकेर वर्तमान सपार्न सक्यौं भने निश्चित रुपमा भविष्य सुनिश्चित हुन्छ ।
खड्ग प्रसाद ओलीको राजनीति खड्गो अब कुनै पनि हालतमा टर्ने छैन । ओलीको तथाकथित राष्ट्रवाद र नक्कली राजनीतिबाट नेपाल र नेपालीले मुक्ति पाएपनि आगामी दिनको सत्ता गठबन्धनको खतराबाट मुलुकले छिट्टै मुक्ति पाउने अवस्था देखिंदैन । आगामी दिनमा कुनै पनि अनिष्ट, अशुभ, अकल्याणकारी काम मुलुकमा नहोस् यही हाम्रो कामना छ । के.पी. ओलीको सरकार राजनीति अवसानबाट कसैले केही दु:ख मनाउनुपर्ने कारण छैन । पीडै पीडा, अभावै अभावमा बाँच्नुपर्ने आम नेपालीहरुको नियति अवश्यै होइन होला । परिवर्तनको अनुभूति र प्रत्याभूति हुन्छ होला नै ।
ओली नेतृत्व सरकारका विरुद्ध अविश्वास प्रस्ताव पारित गर्न बहुमत पुगिसकेको छ । ओलीले नैतिकतावस सत्ताको नेतृत्व त्यागेको भए मुलुकको संसदीय व्यवस्थामा राम्रो संस्कार देखिन्थ्यो तर ओलीको घृणित चालले राष्ट्रको संसदीय व्यवस्था र प्रकृयाको अपमान गरेको छ । ओली सरकार जनताको मनबाट विस्थापित भइसकेको छ । अब ओलीको भूति स्थापित हुन सक्दैन । ओलीले प्रधानपदमा रहँदा बोलेका उटपट्याङ कुराले सिंगो मुलुक र विश्वलाई नै लज्जित बनाएको छ । ओली जस्तो फटाहा बोली बोल्ने प्रधानमन्त्री संसारमा बिरलै पाइन्छ होला । उखान टुक्का बोलेर, झुटो कुरा बोलेर ओलीको प्रधानमन्त्रीकाल बित्दैछ, उपलब्धी हात लाग्यो शून्य ।
क्राइम चेक साप्ताहिकमा २०७३ साउन ०६ गते बिहीवार प्रकाशित
Nepalese Rupee Exchange Rate