विद्वत परिषदले गणतन्त्रको हरेक कार्यक्रमलाई बहिष्कार गर्ने: अर्जेल
वीरगंज, १४ चैत्र/ नेपाल विद्वत परिषदले चैत्र ४ गते शुरु गरेको मेची महाकाली राजीतिक जनपरिचालन कार्यक्रम देशको विभिन्न जिल्ला हुँदै वीरगंज आइपुगेको छ ।ठाउँ–ठाउँमा हुने सभा, भेटघाट, संगठन विस्तार आदिको विस्तृत कार्यक्रम अन्तर्गत परिषदका केन्द्रिय अध्यक्ष जीत बहादुर अर्जेलको नेतृत्वमा केन्द्रिय सदस्य बल्लभ दाहाल, केन्द्रिय सदस्य नरेशराज गिरी र केन्द्रिय सदस्य दिपक बहादुर सिंहसहितको टोली मेची–महाकाली जन परिचालन कार्यक्रम–२०७३ अन्तर्गत वीरगंज आइपुगेको कुरा रिपोटर्स क्लव नेपाल पर्साले आइतवार वीरगंजमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा परिषदका केन्द्रिय अध्यक्ष जीत बहादुर अर्जेलले जानकारी गराउनु भयो ।
क्लवका मधेश क्षेत्रीय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा भएको सो साक्षात्कार कार्यक्रममा बोल्नुहुँदै परिषदका केन्द्रिय अध्यक्ष अर्जेलले देशमा व्याप्त भ्रष्टाचार, अन्याय, अत्याचार, विकृति, विसंगती एवम् राष्ट्रघाती कार्यविरुद्ध नेपाल विद्वत परिषदले राजनीतिक जन परिचालन कार्यक्रमको माध्यमबाट बैचारिक सांगठनिक छलफल, भेटघाट र राजनीतिक विश्लेषण जस्ता विभिन्न कार्यक्रम गरिरहेको जानकारी गराउनु भयो ।
केन्द्रिय अध्यक्ष अर्जेलले नेपालमा नेपाली जनताले थाहै नपाउने गरी चोर बाटोबाट आयात गरिएको गणतन्त्र, धर्म निरपेक्षता र संघीयता यतिबेला असफल भइसकेको साथै नेपाल विद्वत परिषद असफल गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले ल्याएका सम्पूर्ण राष्ट्रघाती कार्यक्रमलाई बहिष्कार गर्ने निर्णय गरेको बताउनु भयो ।
वर्तमान नेपालमा स्थापित बाहिरबाट आयात गरिएको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता एवं बाह्य शक्तिको निर्देशनमा दलहरू चलायमान भएका कारण देशको विद्यमान परिस्थिति अत्यन्तै भयावह, नाजुक एवं संकटपूर्ण अवस्थामा रहेको कुरा कसैबाट नलुकेको बताउनु हुँदै अर्जेलले राजसंस्थाको पुनस्र्थापना, सर्वधर्म सह अस्तित्व सहितको सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना र अखण्ड एकात्मक राज्य प्रणाली बिना मुलुकमा शान्ति, एकता र विकास हुन नसक्ने हुँदा यस अभियानमा सबै नेपालीहरू एकजुट हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा परिषदका केन्द्रिय सदस्य अध्यानन्द प्रसाद कलवार, पशुपति विक्रम शाह, पर्सा जिल्ला अध्यक्ष रामनारायण साह, स्थानीय सञ्चारकर्मीहरू तथा विद्वत परिषदसँग आवद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।