ब्रेकिङ समाचार

बेलैमा सम्पूर्ण राजनीतिक शक्तिहरू एक भई सतर्क हुनु जरुरी छ

-सन्तोष मिश्र
भूराजनीतिक अवस्था तथा चीन र भारतकोसँग विद्यमान सम्बन्धमा ध्यान केन्द्रित रही नेपालको राष्ट्रिय स्वार्थ र स्वाधीनता जोगाउन राष्ट्रिय एकता र अखण्डता कायम राख्न सार्वभौमसत्ता जोगाउन सामूहिक प्रयत्न तथा राष्ट्रिय राजनीतिक सहमहतिबाट मात्र संभव छ । आन्तरिक राष्ट्रियता बलियो नभई राष्ट्रवादको सवालमा सम्पूर्ण राजनीतिक शक्तिहरू एकजुट नभएसम्म आन्तरिक कलह र वाह्य हस्तक्षेप, अनुचित दबाव, प्रभाव र नियन्त्रणलार्य निस्तेज गर्नु कठिन हुन्छ । भारतले सन् १९५० को सन्धी नेपालसँग गरेको लगत्तै देखि नेपाललाई आफ्नो नियन्त्रण र प्रभावबाट उम्कन नदिने रणनीति, कार्यनीति अवलम्बन गर्दै आइरहेको छ । तीनतिर भारत परिवेष्ठत नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । नेपालको सामरिक महत्वलाई चीन र भारत दुबैले राम्रोसँग बुझेका छन् । नेपालमा राजनीतिक शक्ति जो भारतको नेपालप्रतिको गलत दृष्टिकोण, नीति र व्यवहार छ त्यको विरोध गर्ने शक्तिलाई साशनसत्तामा टिक्न नदिने, स्थिर शासन, सरकार हुन नदिने कार्यनीतिले निरन्तरता पाइरहेको छ ।

    वर्तमान समयमा तिब्बत र चीन घेर्ने पश्चिमा रणनीति र भारत घेर्ने चिनीयाँ रणनीतिको घात प्रतिघातमा नेपालको राज्य व्यवस्था, संविधान, सरकार तथा सिंगो मुलुक पर्ने भयलाग्दो परिस्थिति सिर्जना भएको छ । उदाउँदो शक्ति राष्ट्र चीनको बढ्दो प्रभाव र विस्तारलाई रोक्न महाशक्ति राष्ट्र अमेरिका बेलायत लगायत अन्य पश्चिमा युरोपियन मुलुकहरु पनि सहकार्य गर्दैछन् । दुई विशाल छिमेकी चीन र भारतसँग नेपालको कुटनीतिक सन्तुलन नभएसम्म नेपालमा शान्ति, स्थिरता र विकास संभव छैन । चीन र भारत दुबैलाई नेपालले आफ्नो हित अनुकूल अपयोग गर्ने रणनीतिलाई प्रभावकारी ढंगले अगाडी बढाउनु पर्दछ । आगामी दिनहरुमा नेपालले एक छिमेकीसँग मात्र परनिर्भर भएर टिक्न सक्दैन । नेपालको वर्तमान अवस्था निकै चुनौतिपूर्ण, संवेदनशील र गम्भीर छ । नेपालको आन्तरिक खिचलोले गर्दा राजनीति अत्यन्त तरल छ ।

नेपालको संविवधान २०७२ लाई कार्यान्वयन गर्न अनुकूल परिस्थिति कायम हुन सकेको छैन । नेपाल भूमि नजानिंदो किसिमले छिमेकी मुलुकका विरुद्ध प्रयोग भइरहेको छ । चीन र भारतले नेपालप्रति आशंका गर्दै सुरक्षाको कुरा उठाइरहेका छन् । सरकार ढाल्न र बनाउनमा नै अधिकांश समय खर्चिरहेका नेपालका राजनीतिक शक्तिहरू कुनै न कुनै रुपमा नेपालको राष्ट्रिय स्वार्थलाई गौण बनाउन लागिपरेका छन् । जसले गर्दा नेपालको राष्ट्रिय सुरक्षा कमजोर र राष्ट्रियता असफल हुँदै गइरहेको छ । यथार्थमा भन्नु पर्दा कुनै योजना, कुनै पूर्व सतर्कता बिना नै नेपाल ‘भगवान भरोसा’मा चलिरहेको छ । कुनै पनि क्षेत्रमा व्यवस्थापन छैन ।

    नेपाल भूपरिवेष्ठित सँगै तीन तिरबाट भारत परिवेष्ठित राष्ट्र पनि हो । नेपाल भारत सम्बन्धमा पञ्चशीलको सिद्धान्त समावेश नभएको अवस्थाले गर्दा बेलाबखतमा नेपालले पारवाहन असुविधा र अवरोध व्योहोर्दै आउनु परेको छ । नेपाललाई आफ्नो एउटा प्रान्त जस्तै ठान्ने दिल्लीको दृष्टिकोण असाध्यै खतरनाक छ । विश्वको बदलिंदो परिस्थितिमा नेपालको भू सामरिक महत्वलाई दुबै विशाल छिमेकी चीन र भारतले निकै महत्वकासाथ हेरिरहेका छन् । नेपालको भूसामरिक महत्वलाई युरोपयिन मुलुकलगायत अन्य बाह्य शक्तिहरुले पनि आवश्यकता भन्दा बढी चाख दिएर हेरिरहेका छन् । यतिखेर नेपालको सरकार परिवर्तनमा दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनको बराबरी चासो देखिनुले नेपालको आन्तरिक मामिला झन–झन पेचिलो बन्दै गइरहेको छ । मधेशी जनता भारत परस्त र पहाडका जनता चीन परस्त देखिनुले नेपालको आन्तरिक राष्ट्रियतामा गम्भीर खतरा उत्पन्न भएको छ ।

    नेपालमा कुनै राजनीतिक व्यवस्था र राष्ट्रिय नीति छैन । जुन सत्तामा रहन्छ उसैको नीति, व्यवस्था (व्यक्तिवादी नीति) छ । यो लामो समयदेखि चल्दै आएको छ । नेपालको संविधान २०७२ ले पनि नेपाली जनताको चाहना पारदर्शी कुटनीतिक सम्बन्ध, असल शासन, विधिको शासन कायम गर्ने आधारभूमि तयार गर्न सकेन जसले गर्दा राज्य संचालन घृणित खेल, षडयन्त्र, अविश्वासका बीच भइरहेको छ ।

    दुबै छिमेकी मुलुकलाई विश्वासमा लिएर अगाडी बढ्न सकिएन भने त्यो भन्दा ठूलो दुर्घटना र दूर्भाग्य केही हुने छैन । भारतसँगको यथास्थितिको सम्बन्ध र संझौतामा ठूलो हेरफेरको खाँचो छ । भारतसँग असल छिमेकी सम्बन्ध नेपालले खोजेको हो । भारतभन्दा राम्रो सहयोग र असल सम्बन्ध चीनसँग छ । नेपालको बारेमा चीन र भारतको बेग्ला बेग्लै दृष्टिकोण अब हुनु हुँदैन । भीन र भारतले समान आँखा, एउटै आँखाले नेपाललाई हेरेर सहकार्यमा जुटेको दिन आजसम्म कायम रहेका सबैखाले कुटनीतिक विकृति, राजनीतिक विसंगति, भ्रम र भयको अन्त्य भई नयाँ अध्याय, नयाँ दिनको शुरुवात हुने थियो । तर यो कल्पना–कल्पनाकै रुपमा नरहोस् । सत्तासीन सरकारले घरेलु राजनीति र बाह्य सम्बन्धमा तालमेल मिलाउन नसक्नाले हरबखत नेपाल र नेपालीको भाग्य र भविष्य संकटमय छ ।

सार्वभौम नेपाली जनता चीन र भारतसँग असल सम्बन्ध र प्रभावकारी विकास साझेदारी चाहन्छन्, त्यसकालागि अहावश्यक वातावरण र विकल्पका खोजीमा छन् । राष्ट्र निर्माणमा राजनीतिक दलहरूको एउटै साझा अवधारणा, आम सहमति बिना राम्रो । आवश्यक कल्पना साकार हुन सक्दैन ।  मधेशी आन्दोलनले धेरै पाठ सिकाएको छ । मधेशी आन्दोलनका राम्रा र सकारात्मक कुराहरुलाई आत्मसात गर्दै अन्धराष्ट्रवाद, नक्कली राष्ट्रवाद, अवसरवादी राष्ट्रवाद, उपभोक्तावादी राष्ट्रवादलार्य त्याग्दै सम्पूर्ण नेपाली भूभागको सुरक्षा र सम्पूर्ण नेपालीको अधिकारको प्रगतिशील राष्ट्रवादलाई स्थापित गर्न सकिएमा नेपाल र नेपालीको भाग्य र भविष्य सुनिश्चित भइ नेपालीहरु विश्वकै भाग्यमानी र धनि बन्ने अवसर सधैंकालगि कायम हुन सक्दछ ।

    विश्व महाशक्ति राष्ट्र अमेरिका, दोश्रो महाशक्ति बन्न व्यग्र पर्खाईमा रहेको चीन, छिमेकी राष्ट्र भारत र युरोपियन युनियनसँग गठजोडबाट नेपाल सम्बन्धमा अब के कस्ता तरंग आउने हुन् त्यसका लागि आवश्यक गृहकार्यमा जुट्नुपर्ने बेला आएको छ । शक्ति राष्ट्रहरूको क्रिडास्थलबाट जोगिन, राष्ट्रिय एकता कायम गरेर चीन र भारतसँग विश्वासको दीगो सम्बन्ध कायम गर्न सबै नेपालीको ध्यान जान जरुरी छ ।

    नेपाल, भारत र चीन दुबैका बीचमा महत्वपूर्ण ट्रान्जिट बन्न सक्ने प्रवल संभावना छ । त्यसको भरपुर फाइदा उठाउनु नेपालकोलागि सुनौलो अवसर हो । यो अवसरलाई बिग्रिन नदिन नेपालले जरुरी रहेका सबै काम पूरा गर्न सक्नु पर्दछ । समयले कोल्टे फेरेकै कारण एक अर्कामा जानी दुश्मनका रुपमा रहेका चीन र भारत सम्बन्ध दिन पर दिन प्रगाढ बन्दै छ । युरोपेली महासंघ र पश्चिमा राष्ट्रहरू नेपालमा कायम भएको धर्म निरपेक्षताको आडमा क्रिश्चियन धर्म प्रचार महाअभियानको माध्यमबाट नेपाल भूमि प्रयोग गरी चीन र भारत दुई विशाल शक्तिलाई एक हुन नदिने षड्यन्त्रमा छ । नेपालका विचार र वुद्धिहिन भ्रष्ट नेता, शासक, प्रशासक छिमेकीलाई भन्दा युरोपियन मुलुकलाई प्राथमिकता दिने, झगडियाले खेल्ने भूमिका निर्वाह गर्ने पक्षमा छन् ।

    देशमा मानव कल्याणवादी, विश्वशान्तिवादी नेताको नेपालमा यतिखेर ठूलो खाँचो छ । समयले साथ दिएमा त्यस्ता नेता प्रकट भई ‘हे नेपाल आमा तिमीलाई संसारकी राम्री र शक्तिशाली बनाउने’ प्रण पूरा गर्न पनि सक्दछन् । दुई विशाल छिमेकीका बीचमा रहेका नेपाली जति भाग्यमानी छन् त्यति नै असुरक्षित पनि छन् । चीन र भारतले मिलेर नेपाललाई माया गरे भने नेपाली सुखै सुखमा बाँच्दछन् । चीन र भारतलाई मिल्न नदिने बाह्य र आन्तरिक शक्तिको चंगुलमा परे भने दु:खै दु:ख पाउँछन् । भनिन्छ समय भन्दा अगावै भाग्यभन्दा बढी केही पाइँदैन ।

क्राइम चेक साप्ताहिकमा २०७३ साउन १३ गते प्रकाशित