ब्रेकिङ समाचार

जीवनको महत्त्वलाई न बुझिदिंदा...

-सीता पौैडेल
 
    खाडी मुलुकको मरुभूमिमा टाउकै फुट्ला जस्तो प्रचण्ड गर्मी अनि त्यही गर्मीको तातो रापमा डढ्दै ड्युटीमा खटिएको छ ऊ । लगभग आफ्नों जीवनको चौध वर्ष उसले विदेशमा बिताई सकेको थियो । विगतमा गरेका धेरै गल्तीहरुले जब उसको आँखा खुल्यो तबसम्म धेरै ढिलो भैसकेको थियो सबै गुमाई सकेको थियो उसले । बर्बाद बनाएको थियो उसले आफू र आफ्नो परिवारलाई र त्यसैको फलस्वरूप आज ऊ प्रायश्चित गर्दै खाडीको तातो हावाको रापमा कहिले यता कहिले उता हुत्याइ रहेको थियो आफ्नो जीवन ।

    जीवन हो उसको नाम तर उसको सुन्दर नाम अनुसारको सुन्दर जीवन थिएन उसको । पश्चातापको ज्वालामा रन्किंदै जलाई रहेको थियो जीवनले आफ्नो जीवन । समय मै सत्यताको बोध नहुँदा र ऐयासीलाई नै सुन्दर जीवन ठान्दाको उपहार थियो आजको उसको कुरुप र अर्थविहीन जीवन । समय र परिस्थिति संगै लेखिएको गन्तव्यहिन जीवन ।

    एकछिनको विश्रामको समयमा ऊ चुरोटको सर्को तान्दै आफ्नो जीवनलाई जस्तै गरी चुरोटबाट निस्केको धुँवालाई बुङ् बुङगति आकाश तिर हुत्याई रहेको थियो । उसको जीवनले लिएको मोड जस्को न कुनै घुम्ती छ न कुनै गन्तव्य नै, न त कुनै रंग छ न त कुनै लगाव नै । मरुभूमिको तातो बालुवामा पुरी सकेको थियो उसले आफ्नो जीवनलाई र बिताई रहेको थियो उ आफ्ना दिनहरु एउटा लावारीस जस्तै । चुरोटको सर्को लिंदै ऊ आफ्ना विगतका दिनहरूमा हराउँन पुग्छ ।

    जीवन जीवन ¤ एकाबिहानै उसको साथी उसलाई बोलाउन आई पुग्छ र एकछिनमा जीवन पनि तयार भएर ऊ संगै बाहिर निस्कन्छ उसकी श्रीमतीले केही सोध्दा सोध्दै जवाफै नदिएर उ हुत्तिइन्छ बाईकमा । यो त उसको दिनचर्या नै भैसकेको थियो, न त कुनै समय थियो घर आउने न त कुनै ठेगान नै थियो सुत्ने । ऊ आफ्नै दुनियाँमा मस्त थियो । उ पैसाको लोभमा अपराधीको गैंगमा पुर्णरुपले सामेल भै सकेको थियो । घरमा कसैले केही सोध्दा उसको ठाडो जवाफ हुन्थ्यो यो मेरो निजी जीवन हो तिमीहरूलाई के मतलब ?
    ऐयासी, लुटपाट, आवारगी, गुण्डागर्दी यी आदि कुरा उसको लागी सामान्य भै सकेको थियो । यस्तै क्रममा एकदिन उबाट एउटा हत्या हुन पुग्छ । नशाले चुर भएर मात्तिएको अवस्थामा राती घर फर्किने क्रममा उसको बाईकले एकजना युवकलाई ठक्कर दिंदा युवकको घटनास्थल मै मृत्यु हुन्छ ।  रातिको समय भएको हुँदा उसलाई उसका साथीहरुले त्यहाँ बाट भाग्न मद्दत गर्छन् । पुलिस जोडतोडले उसको खोजीमा लाग्छ, तर उसका साथीहरुले उसलाई रातारात सबै कुराको इन्तजाम गरेर लुकाउँछन् र एकसातामै खाडीको लागि पलायन गराई दिन्छन् । यस्ता आपराधिक गैंगहरुले अचानक केहि परि आएको खण्डमा पहिल्यै देखि नै सुनियोजित योजना बनाई राखेका हुन्छन् जुन कुरा जीवनलाई राम्रै संग थाहा थियो । त्यसैको फलस्वरूप आज ऊ खाडीमा छ ।

    घटना पछि खुलेको उसको आँखा तर सबै गुमेको अवस्था, त्यसैले उसले फर्केर जाने कहिल्यै सोचेन । ती सबै गल्तीहरुको प्राय:श्चित आज ऊ आफैंलाई एक्लै छट्पटिएर दिंदै छ त्यो तातो रापमा । विगतका कुराले जब ऊ असह्य हुन्छ तब कि त उ रुन्छ या त पागल जस्तै अट्टाहास गर्छ  । यहाँ उ एक्लै छ उसका कोही खास साथी छैनन्, जब कसैले उसको परिवारको बारेमा सोध्दछ तब भन्ने गर्छ सानैमा म घर छोडेर भागेको मान्छे त्यसैले मलाई केही थाहा छैन । त्यसो भन्दा उसको आँखा रसाउने गथ्र्यो र उ ती आँसुलाई आँखा मै लुकाउने प्रयास गथ्र्यो ।


    यति लामो समयको विदेश बसाईबाट कमाएको सारा पैसा उसले विभिन्न संघ संस्थाहरुलाई सहयोग स्वरूप दिएर प्रायश्चित गर्दै छ । तर पनि ऊ आफैंले आफुलाई माफ गर्न सकेको छैन । क्षणिकको मौज मस्तीले यदि बाँकीका दिनहरु यसरी पश्चातापमा बिताउनु पर्छ भने के अर्थ रह्यो र त्यो मौज मस्तीको ? जसले घर, समाज र पुरै देश नै दुषित बनाउँछ भने ¤ किन सचेत हुँदैनन् अझै पनि पटक–पटक घटेका यस्ता घटनाहरु देखेर पनि ? किन जीवनको यथार्थलाई कुरुप बनाउँछन् ? आखिर त्यस्तो के छ त्यो जीवनमा जसलाई अँगालेर आफ्नो वास्तविक परिचय गुमाउन चाहन्छन् ?





क्राइम चेक साप्ताहिकमा २०७३ साउन १३ गते बिहीबार प्रकाशित