ब्रेकिङ समाचार

उत्तर कोरियाले पूर्वी तटीय समुद्रमा मुसुदान नामक ब्यालेष्टिक क्षेप्यास्त्र फाल्यो

सोल—उत्तर कोरियाले उसको पूर्वी समुन्द्र तटीय क्षेत्रमा क्षेप्यास्त्र फालेको छ। मङ्गलबार बिहान मात्र सो मुसुदान नामक ब्यालेष्टिक क्षेप्यास्त्र उत्तर कोरियाले फालेको दक्षिण कोरियाको सरकारी समाचार समिति योनहापले उल्लेख गरेको छ।

अज्ञात रुपमा नै उत्तर कोरियाले सो मध्यमदुरीको क्षेप्यास्त्र उक्त क्षेत्रमा फालेको पाइएको हो। गोप्य रुपमा गरिएको सो कार्यबारे दक्षिण कोरियाली रक्षामन्त्रालयका रक्षा विज्ञहरुले थाहा पाएका थिए।

मङ्गलबार बिहान साढे पाँच बजे उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वानसनबाट सो क्षेप्यास्त्र फालिएको हो। केही समयअघि पनि उसले यही क्षेत्रमा अर्को क्षेप्यास्त्र परीक्षण गरेको थियो। सो परीक्षण सफल वा असफल भएकोबारे विवादास्पद कुराहरु सार्वजनिक भएका थिए।

दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको थियो।

सो क्षेप्यास्त्र हान्ने विषयमा भने कुनै संकेत प्राप्त नभएको दग्क्षिण कोरियाली रक्षामन्त्रालयले जानकारी दिएको छ। 'यस्तो परीक्षणका बारेमा हामीले कुनै सूचना पाएका छैनौँ तर परीक्षण तयारी भएकोमा भने हामीले जसरी पनि पत्ता पाउने छौं', रक्षामन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

सो तयारीको सूचना पनि सोलले प्राप्त गरेको जनाएको थियो। सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाबारेमा अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा उसले उक्त क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको पाइएको र यसको परीक्षणको कुनै सूचना प्राप्त नभएको उल्लेख गरेको छ।

दुई कोरियाबीच पछिल्लो समय सम्बन्ध निकै चिसिएको छ। सम्बन्ध सुधारको वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले हालैमात्र अस्वीकार गरेको थियो।

उत्तर कोरियाली नेताले आफ्नो पार्टीको बैठकको अवसरमा दुई महिनाअघि सम्बोधन गर्दै दक्षिण कोरियासँग वार्ता गरी सबै समस्याको टुंगो लगाउने बताएका थिए।

उत्तर कोरियाले आणविक परीक्षण जारी राखेको छ। त्यसले कोरियाली प्रायद्वीपको शान्तिमा असर पुर्‍याइरहेको विश्लेषण गरिँदैछ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दा पनि उत्तरले आणविक परीक्षणको काम रोकेको छैन। उत्तर कोरियाको हठ स्वाभाव भइसकेको ती मुलुक एवं राष्ट्रसंघको निष्कर्ष छ।

मङ्गलबार बिहान गरेको भनिएको सो क्षेप्यास्त्रको प्रयोग बारेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन।

साभार=  नागरिक बाट  गरियको