ब्रेकिङ समाचार

हिन्दूत्व, साउने सोमवार र पशुपतिनाथको अराधना

धर्म, संस्कृति र परम्परा
 
–दीर्घराज प्रसाई
 

 आराध्यदेव पशुपतिनाथको आराधनाको लागि साउने सोमबारको ठूलो महिमा छ । नेपाल, भारत तथा संसारका हिन्दुहरु ठूलो उत्साहकासाथ पशुपतिनाथ लगायत नेपाल, भारत तथा विश्वमा अवस्थित शिव मंदिरहरुमा आराधनाको लागि साउनको सोमबार हिन्दु भक्तजनहरुको ठूलो भिड लाग्छ । पशुपतिनाथ हिन्दुहरुको ठूलो तीर्थस्थल हो । प्रथम गोपालबंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको उल्लेख छ । हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाण्डौं उपत्यका रुद्रको अति नैं प्रिय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोसाईकुण्ड, पिण्डेश्वरलाई पबित्र क्षेत्रको रुपमा लिइन्छ । कैलास–मानसरोवर, गोसाईकुण्ड, अमरनाथलाई शिवजीको तपोभूमिकारुपमा विश्वभरका हिन्दु तथा बौद्धहरु मान्छन् । पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शंम्भु, ज्योर्तिलिङ्ग आदि विभिन्न नामले पुकारिन्छ । महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरुले प्रायश्चितस्वरुप पशुपतिनाथको पूजा गरेका र लिच्छविबंशका पहिला राजा “विक्रमादित्य”को उपाधि धारण गरेर “वैशालाधिपति” को रुपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तिसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला बंशावली र हिमवतखण्डमा उल्लेख छ । नेपालका लिच्छविकालीन राजाहरुदेखि शाहवंशीय राजाहरुले पशुपतिनाथप्रति भक्ति गरेर सेवा गरेका प्रसस्त अभिलेखहरु छन् ।

    पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास–मानसरोवर–हिमालय र दक्षिणमा गंगासम्मको भूभाग हिमवतखण्ड नेपाल हो भने गंगादेखि हिन्दमहासागरसम्मको क्षेत्र भारतखण्ड हो । हिमवतखण्डका स(साना टुक्रामा विभाजित हिन्दु राज्यहरुलाई गोर्खाकाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत भएर बनेको हो नेपाल अधिराज्य । यो भूमि हिमाल, पहाड, तराईका हरक्षेत्र, पवित्र नदीहरु, ताल, धाम, जंगल, भूभागले सीचित छ । भारतखण्डमा एकहजारबर्षसम्म मुसलमान र अंग्रेजी साम्राज्यले हिन्दु र बौद्धका अस्मिताहरु तोडफोड गरेर बिटुलो बनाएर आफ्नो भाषा, धर्म र संस्कृति लाध्ने काम गर्‍यो । सम्राज्यवादी शक्ति र अन्य कुनै धार्मिक षडयन्त्रबाट नेपाल कहिले बिटुलो नबनेकाले नेपालको विश्वमा ठूलो प्रतिष्ठाछ । भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइकुण्ड, बाराहक्षेत्र, पाथिभरा, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ धाम जस्ता प्रसिद्ध थामहरु छन् । नेपालमा रहेका धाम र पवित्र मन्दिर र सयौं तीर्थस्थलहरुको साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरुको विश्वब्यापी मान्यताछ । नेपालको साथै भारतमा अवस्थित तीरुपति, अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, कासी, विन्द्यावासिनी, कामाक्ष(कामरुप, आदि पवित्र स्थलहरुमा नेपाल र भारत बीचमा त्यत्तिकै तादात्म्यता छ । भारतका कतिपय धाम र मंदिरहरुमा नेपालका राजाहरुको विशेषाशिकार रहिआएको छ ।

    विक्रम सम्वत् १७१४ भन्दा अगाडि सन्यासीहरु पशुपतिनाथका पुजारी थिए । त्यसपछि यहीकै राजोपाध्यायहरुबाट पशुपतिनाथको पूजा गरिन्थ्यो । क्रमश: पशपतिनाथका पूजारीको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीहरुलाई पशुपतिको भण्डारे बनाइए । पछि प्रतापमल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रुपमा तान्त्रिकहरु ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा दाइजोका रुपमा आएका र पछि तिनै तान्त्रिक भट्टहरुको माग अनुसार भट्टहरु पशपतिनाथका पुजारी बनाइए । अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मलभट्ट सहित दक्षिण भारतका चारजना भट्ट पुजारी र १०६ जना नेवार भण्डारीहरु छन् ।  पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका भण्डारीहरुलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ । भट्ट र भण्डारीहरु गृहस्त हुन्छन् । पशुपतिनाथको चार ढोका बिहान चार बजे खुल्छ । बिहान साडे आठ बजे भट्टहरु भित्र प्रवेश गर्छन् । पशुपतिनाथको क्षेत्रफल २६४ हेक्टर भूभाग छ र यस क्षेत्रभित्र ५१८ वटा मन्दिर र धार्मिक स्मारकहरु छन् ।

    हिन्दु तथा बौद्धहरुले पशुपतिनाथको साथै अमरनाथ, विश्वनाथ, कैलास(मानसरोवरलाई शिवजीको तपोभूमिकारुपमा मान्छन् । पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शंम्भु, ज्योतिलिङ्ग आदि विभिन्न नामले पुकार्ने गरिन्छ । नेपाल तथा भारत हिन्दुधर्म दर्शनको उद्गम हो । वालाचतुर्दशी, शिवरात्री, अक्षतृतिया, एकादशी, तीज, साउनको सोमबारहरुमा भक्तजनको पशपुतिनाथ र संसारका सबै शिव मंदिरहरुमा भिड लाग्छ । साउनको सोमबार शिवजीको जन्मदिन स्वरुप भक्तिपूर्वक धुमथममकासाथ मनाइन्छ । साउने सोमबारहरु महिनामा ५ पटक पर्दछन् । साउनको सोमबारमा बोलबमको नाममा राता र पहेंलाबज्र लगाएका महिला पुरुषहरुबाट पवित्र नदीहरुको जल घडामा लिएर पशुपतिनाथ र शिवमूर्तिहरुमा भक्तिपूर्वक चढाइन्छ । निधारमा टिका लगाएका भक्तजनहरुको मेला र भेलाले पशुपतिनाथ, गोसाईकुण्ड, भक्तपुरको डोलेश्वर, पाटनको कुम्वेश्वर, धरानको पिण्डेश्वर सिंहारिएको हुन्छ । समय समयमा राजनीतिक परिवर्तन हुँदैआएता पनि हाम्रा धाम र मंदिरहरुको परम्परागत मान्यता र पहिचानहरु बचाउने कार्य हुँदैआएको छ । हिन्दुहरुको नेपाल, क्रिस्चियन र यहुदीहरुको जेरुसेलम, मुसलमानहरुको मक्का मदिना पबित्र स्थलहरु मानिन्छन् । क्रिस्चियनहरुको क्रस र चर्च, यहुदीको षडकोण, मुसलमानको नमाज तथा मस्जित र हामी हिन्दु र बौद्धहरुको पशुपतिनाथ र स्वयम्भूनाथ त्यतिकैं पूजनीय छन् ।

    हिमवत्खण्ड नेपालमा एकपटक विक्रम सम्वत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतिस हजार मुसलमान पल्टन लिएर नेपालका  मन्दिर तथा विहारहरु ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिर समेत ध्वस्त पार्ने धृष्टता गरेका थिए । लिच्छविवंशका अन्तिम राजा जयर्जुनदेव कम्जोर राजा भएकाले त्यही मौका छोपेर मुस्लिम आक्रमणले सारा हिन्दु तथा बौद्धहरुमा कोलाहल मच्चियो । त्यस्तो विकराल अवस्थाबाट यसक्षेत्रलाई बचाउन पाल्पा, कास्की,गोरखा, लमजुङ्गका राजाहरुको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौज माथि आक्रमण गरे, तीसहजार चारसय मारिए र ६सय जति बाँचेर भागे । (भक्तपुर तजेजु स्तम्भको शिलालेख) त्यसपछि जयस्थिति मल्ल काठमाण्डौं उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्णेद्घार तथा पुनरुत्थान गरी बाग्मतीपारी राम मन्दिरको निर्माण गरेको र नेपाल सम्वत् ४७० मा कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्धलाई मात्र प्रवेश र अरुहरुको लागि प्रवेश निषेध गर्ने नियम चलाएकाले अहिलेसम्म त्यही परम्परा चल्दै आएको छ । संविधानहरु समयानुकुल परिवर्तन भइरहन्छन् तर परम्परागत स्थापित मान्यताहरु संविधान भन्दा माथि हुनेभएकाले परम्पराको रुपमा त्यसको समर्थन भइआएको छ । यस्तो परम्परा अन्य धर्महरुमा पनि प्रशस्त छन् ।

    विक्रम सम्वत् १४६५ मा राजा ज्योतिर्मल्लले पशुपति अभिलेखमा उल्लेख गरेका थिए( “पूण्यभूमि नेपालखण्डमा वत्सलेस पाँचमुख भएका परम पशुपति बाग्मतीको तिरमा हुनुहुन्छ र यहींं पूज्य बाशुकीनाग पनि हुनुहुन्छ ।” राजाहरुमा प्रतापमल्लले पशुपतिनाथको धेरै सेवा गरेको पशुपतिनाथमा प्रसस्त शिलालेखहरु पाइन्छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषा बंशावलीमा उल्लेख छ । पृथ्वीनारायण शाहको काठमाण्डौं उपत्यका विजयपछि विक्रम सम्वत् १८२६ मा बसन्तपुर दरबारको अभिलेखमा उल्लेखछ( “राजा पृथ्वीनारायण शाहको बंश गुह्येकाली र पशुपतिको दुइृपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस् ।” यसैगरी शाहबंशीय राजाहरुमा रणबहादुर शाह र विक्रम सम्वत् १८६७ मंसिरमा राजा गिर्वाणयुद्ध विक्रम शाहबाट पुजारीहरुको अलग अलग खान्की तोकिदिएका थिए । भने शाहबंशीय राजाहर लगायत राजा महेन्द्र तथा राजा वीरेन्द्रबाट पनि साविक बमोजिम चल्दै आएका पशुपतिनाथका पूजाआजा संवन्धि अनेकौं लालमाहेहरु लागुहुादै आएका छन् ।
    कैलाश मानसरोवर शिवजीको क्रिडा तथा तपस्थान र हिन्दु तथा बौद्धहरुको पवित्र तिर्थस्थल हो । हो ।

 अहिले तिब्बतमा परेता पनि यो क्षेत्र पनि हिमवतखण्डको भूभाग हो । हरेक हिन्दु तथा बौद्धहरु कैलास मानसरोवरमा बीना रोकठोक यात्रा गर्नमा स्वतन्त्र रहन्छन् । मानवकल्याणको लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशुलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्डको पनि ठूलो महीमाछ । अठार पुराणहरु सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो । हिमवतखण्डको पुस्तकमा( “मरिचि,पुलह,ऋतु,भृगु,अत्री आदि ऋषिहरुले पशुपतिनाथको पुूजा गरेर बसेको उल्लेख छ ।

 नेपालका राजाहरु आफ्नो संदेश र भाषणको अन्त्यमा “पशुपतिनाथले हामी सबैको कल्याण गरुन्” भन्ने उद्गार गर्छन् । पशुपतिनाथका अनेकौं जात्राहरु मध्ये शिवरात्री, बालाचतुर्दशी, साउने सोमबारहरु अतिनैं प्रिय मानिन्छन् । साउन महिनामा ५ पटक सोमबार पर्दछ । पशुपतिनाथ लगायत नेपाल र भारतका शिव मंन्दिरहरुमा सोमवारको दिन राताम्य महिलाहरु र विभिन्न भेषका पुरुष भक्तजनहरुबाट बोलवम भन्दै पबित्र, नदी, तालबाट घडाका घडा जल महादेवमा चढाउने काम गरिन्छ । विशेष गरेर साउने  सोमबार महिलाहरुले आफ्ना पति, सन्तान्को समृदिको कामना गरेर उपबास(ब्रतमा लिहीन रहन्छन् । युनेस्कोले पशुपतिनाथ गुह्येश्वरी लगायत लगभग चार हेक्टर जमीनलाई अत्यन्त सम्वेदनशील कोर क्षेत्रमा राखेको छ । विश्वभरीका हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरु आत्मागौरव मान्छन् भने नास्तिकहरु यसक्षेत्रलाई परम्परागत अस्तित्व ठान्छन् । २०७३ सालको साउन महिना सबैको लागि शुभ बनोस् । पशुपतिनाथले सबैको कल्याण गरुन् ।


    Email:dirgharajprasai@gmail.com



क्राइमचेक साप्ताहिकमा २०७३ साउन १३ गते विहीबार