नवौं वर्षको प्रण
प्रकाशकीय
 
 तराइ–मधेशमा रहेर आर्थिक अभावका बीच प्रेस स्वतन्त्रतालाई मजबुत बनाउन अनेकौं समस्या र चुनौतीको सामना गर्दै आफ्नो घोषित उद्देश्य, लक्ष्य र ध्येय पूरा गर्न र पाठकहरुकालागि यस साप्ताहिकलाई उपयोगी बनाउन सक्दो प्रयास जारी छ । वर्तमानको विश्लेषण र भविष्यको मार्गदर्शक बनाउने हाम्रो चाहना हो । जहाँ इच्छा, त्यहाँ उपाय, निरन्तरताले सफलताको शिखरमा पुर्याउँछ भन्ने कुरामा विश्वास गर्ने प्रकाशकले आफ्नो मार्गमा अविचलित रुपले अघि बढ्ने प्रयास गर्दा गर्दै पनि अनेकौं त्रुटी, कमजोरी, देखा पर्ने नै छन् । पाठकहरुको माया र सहयोग बिना पत्रकारिता दरिलो बन्न सक्दैन । दरिलो र मजबुत क्राइम चेकको जग बनाउन सामुहिक प्रयासको प्रयत्न गर्दा गर्दै संस्थगत पत्रकारिताको भूमिका निर्वाह गर्न खोजिंदै छ । आगोको झिल्का सानो भएपनि सुकेको खरमा सल्कन पायो भने क्षण भरमा सखाप पार्न सकेजस्तै पत्रिका सानो भएपनि साँघुरो क्षेत्रमा सीमित भएपनि प्रभावशाली सूचना र सन्देश, खोजी समाचार प्रकाशन गर्न सकिएमा सानो भएर पनि शक्तिशाली बन्न सक्दछ भन्ने विश्वास गर्दछु ।
पर्सा जिल्ला, देशकै प्रमुख प्रवेशद्वार वीरगंजमा राजनीतिका कारण निकै धमिलिएको छ । आर्थिक उन्नतिको मार्ग प्रशस्त हुन सकेको छैन । बिग्रिएको वातावरण बनाउन पत्रिकाले आवश्यक जनमत सिर्जना गर्न सक्दछ । अधिकार खोस्नेहरुका विरुद्ध लड्ने सशक्त माध्यम पत्रिका हो । अधिकार खोज्नेहरुकालागि बलियो हतियार पत्रिका नै हो । पत्रकारितालाई सहयोग गरेर, सदभाव राखेर सूचना र सन्देश ग्रहण गर्न पाठकहरुले सक्नु पर्दछ ।
यस क्राइम चेकलाई सदैव लेख, रचना, समाचार उपलब्ध गराउने, विज्ञापन दिएर सहयोग गर्ने, बेलामौकामा विभिन्न रचनात्मक सुझाव र सल्लाह दिने सम्पूर्ण महानुभावहरुप्रति कृतज्ञ रहने छु । पाठकहरुको रचनात्मक र सकारात्मक सहयोगबाट कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने यस क्राइमचेक सबैकोलागि सधैंकालागि साझा पत्रिकाको रुपमा रहन चाहन्छ र आवाजविहीनहरुको आवाज बनि आत्मनिर्भरता, राष्ट्रिय एकता, स्वतन्त्रता र समृद्ध नेपाल निर्माणको महाअभियानमा लागिरहने प्रण गर्दछु ।
प्रकाशन मितिः २०७३ साउन ०६ गते विहीबार
 
 
 
 
 
 
 
 
 
 
 
 
