ब्रेकिङ समाचार

नयाँ शक्तिका नगर अध्यक्षद्वारा दलितलाई ठगी

आर.सि.एनबाट
बारा ।
बारा जिल्लाको गढीमाई नगरपालिकाभित्र केही ठगहरुको जमातले नगरभित्र रहेका दलितहरूलाई सरकार र नगरपालिकाले बेरोजगारी भत्ता, रासन कार्ड लगायतका सुविधा उपलब्ध गराउन लागेको प्रचार गरेपछि स्थानीय दलितहरू फोटो, नागरिकताको प्रतिलिपीसहित नगरपालिकाका कार्यकारी अधिकृत नाथु साह समक्ष केही दिन देखि पुग्दा कार्यकारी अधिकृत साह आश्चर्यचकित भएका छन् ।

 राज्य वा स्थानीय निकायले राशन कार्ड, बेरोजगारी भत्तालगायतका सुविधा दिने घोषणा तत्काल नगरेको अवस्थामा पनि नगरपालिकालाई बदनाम गर्ने कार्य कसले कहाँबाट गरिरहेका छन् भनि विशेष निगरानी गर्न कर्मचारी एवं प्रहरीलाई समेत अनुरोध गरेको कुरा कार्यकारी अधिकृत साहले स्थानीय संचारकर्मीहरुलाई बताए ।

    उक्त प्रचारबाजीको प्रलोभन र आशामा गढीमाई नगरपालिका वडा नं. ५, ७, ९, ११, १२ बाट दलितहरू लोडसेडिङको बेला स्टूडियोमा चर्को मूल्य तिरेर फोटो खिचाउनुको साथै नागरिकताको फोटो कपि गरी दिनभरीको ज्याला छाडेर परिचयपत्र बनाउन गएका नगरपालिका–९ छाता पिपराका राजकपुर पासवान नगरपालिका पुग्दा कार्यकारी अधिकृत साहले नगरपालिका र स्थानीय निकायको नाममा गलत र भ्रमात्मक प्रचारबाजी गरेर झुक्याउने काम गरेकोले त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरे ।

अधिकृत साहले यदी स्थानीय निकायबाट जनतालाई थप सेवा सुविधा दिने घोषणा भई निर्देशन आएमा नगरपालिकाले सबै नगरबासीलाई उक्त सुविधा उपलब्ध गराउने विश्वास समेत दिलाउनु भयो । साथै अधिकृत साहले नगरपालिकाको नाममा यसरी भ्रम फैलाई जनतालाई दु:ख दिने व्यक्तिको खोजी गरी कडा कानुनी कारवाही गर्ने चेतावनी समेत दिनुभयो ।

यता एक पीडितले संचारकर्मीलाई स्थानीय वडा नं. ७ निवासी चन्देश्वर पासवानले सो भ्रम फैलाउँदै नगरपालिका कार्यालय परिसरमै बसेर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको सदस्यता फाराम भर्दै नगद रकम असुल गरी ठगिगरिरहेको कुरा बताए ।

    सोबारे बुझ्दा चन्देश्वर पासवान भन्ने व्यक्ति नयाँ शक्ति पार्टीका गढीमाई नगरपालिकाका नगर अध्यक्ष पदमा रहेको जानकारी हुन आएको छ ।