नेपाली काँग्रेसको धरातल र गणतन्त्र

–स्वयम्भुनाथ कार्की
विना निर्वाचन एमालेको जत्रै आकार दिईएको माओवादी त्यस बखत गीरिजाप्रसाद कोईरालाको विषेश स्नेहपात्र थियो । संभवत उनको मनमा माओवादी प्रयोग गरेर एमालेलाई खुम्च्याउन सकिन्छ भन्ने आएको हुनसक्छ ।
माओवादीसंग शान्ति सम्झौता गरेको सरकार भएकाले सम्झौताको दुई पक्ष थिए ।
तर यस प्रकारले माओवादीलाई संसद र सरकारमा भित्र्याउने वित्तिकै त्यो सम्झौताको सन्तुलन परिवर्तन भयो , सम्झौता गर्ने सरकार र माओवादीको वरावर हैसियत भएको सरकार अनि सिंगो माओवादी पक्ष ।
यसरी माओवादी डेढ पक्ष भयो र सात दल भनिने संसदवादी दलहरु आधा पक्ष मात्र रहे ।
यो नै नेपाली कांग्रेसको धरातलमा परेको पहिलो सशक्त चोट थियो । यसले चर्केको धरातल संविधानसभाको निर्वाचन पछि लगातार फराकिलो हुँदै गएको छ ।
गीरिजाले आफ्नो जीवनको अन्तकालमा सत्ता हस्तान्तरण गर्दा शायद जीवन भरिकै सबैभन्दा धेरै अपमान व्यहोर्नु पर्यो । उनलाई राष्ट्रपतिको ललिपप देखाएर गणतन्त्र तर्फ लगेको कुरा माओवादी नेताहरुबाट लगातार भनियो ।
कांग्रेसजनले प्रति मौन रहेर निरिहतापूर्वक स्विकार गर्नु परेको छ । आफुले काँधमा बोकेको भनेर दावि गरिएको राजसंस्थालाई नै हतियार बनाएर बहुमतिय पद्धति संविधान संसोधन गराएको कुरा अनगिन्ति पटक प्रचण्डले भनेका छन ।
गीरिजाको माओवादी प्रतिको विषेश स्नेहको कुरा उनको मृत्युमा शोक प्रकट गर्ने वेलामा प्रचण्ड लगायतका नेताहरुले खोलेका थिए । उनलाई पहिलो वाचा अनुसार पहिलो राष्ट्रपति बन्न रोकेर आफुहरुले ठूलो भूल गरेको आत्मआलोचना पनि गरिएको थियो ।
६३ पछि नेपाली कांग्रेस एकलौटी सत्ता सञ्चालन गर्ने हैसियतमा नै रहेन । आपसमा जति वैमनश्यता भए पनि वामपन्थीहरु कै सत्तामा वर्चश्च रहदै आएको छ ।
काँधमा राजतन्त्र बोक्न छोडेको उद्धोष गरेदेखि नै कांग्रेसले आफ्नों परंपरागत मतदाताहरु गुमाएको छ ।
नेपाली कांग्रसका परंपरागत मतदाताहरु भनेका मध्यम वर्ग हुन । निम्न वर्ग र उच्चवर्ग वामपन्थीका समर्थक भएका छन ।
आज नेपालका कुनै पनि ठूला उद्योगका मजदुर संगठन आफ्ना माउ संगठनमा जाँदा त्यहाँ नेतृत्वमा त्यही उद्योगका मालिक भेट्छन । आफ्ना दलबाट संसद पठाईएकाहरु आफ्नै उद्योगका मालिक भेट्छन ।
मध्यम वर्गको पारंपारिक सोचमा कांग्रेस लगातार प्रहार गर्दै छ । यस्तोमा निकट या सुदुर भविष्यमा गठवन्धनद्वारा पनि सत्ताको नजिक पुग्न हम्मे हम्मे हुन्छ भने एकलौटी सरकारको त कल्पना पनि संभव छैन ।
सुशिल कोईरालाले बाहिरबाट भन्दा ज्यादा आलोचना दल भित्रैबाट भोग्नु पर्यो वामपन्थीलाई सत्ता हस्तान्तरण नगरेकोमा ।
प्रजातन्त्रको जुन संस्कारको निमित्त वीपीले जीवनभर काम गरे आजको कांग्रेसीको निमित्त त्यो मुर्खता भएको छ । प्रतिपक्षको उपस्थिति र वहुलवाद प्रजातन्त्रको अपरिहार्य तत्व हो भन्ने कुरा कांग्रेसहरुलाई पच्न छोडेको छ ।
सहमती अझ त्यो पनि राष्ट्रिय सहमतिको कुरा गरेर एकैमात्र विचारको अधिनायकत्व लाद्ने कुरा नमानेकोमा सुशिल कोईरालाले भोग्नु परेको तिरष्कार दुर्भाग्यपूर्ण छ ।
एक दिन पनि सत्ता प्रतिपक्ष विहिन भयो भने त्यसले पैदा गरेको तानाशाहीको विउ निर्मुल गर्न दशौवर्ष संघर्ष गर्नु पर्दछ भन्ने कुरा ओरालो लागेका कांग्रेसजनलाई पच्दैन ।
माओवादीलाई द्वन्दकालका आफ्ना अपराध नकोट्याईने प्रत्याभूति ओलीबाट चाहिएको थियो । उसको हतियार बन्न सत्ता आकांक्षी कांग्रेस तैयार थियो ।
फलत प्रचण्डको नेतृत्वको सरकारको हावा चलाईयो जो ९ बुँदामा चतुराईपुर्वक सामेल गरेको त्यो प्रत्याभूतिले सफलतामा सकियो । नेपाली कांग्रेस झर्ला र खाँउला भनेर हेरेको हेर्यै भयो ।
यसमा गुमाउने केवल कांग्रेस भयो । एमालेले आफुले ओडेको राष्ट्रवादको बर्को उजिल्याउने मौका पायो ।
राप्रपा नेपाल (कथा)ले एमाले प्रतिको बफादारी प्रकट गर्ने मौका पायो ।
माओवादीले द्वन्दकालका अपराधको आफ्नो टाउकोमा तेर्सिएको तरवार केही समयको निमित्त नै भएपनि पर सार्न पायो ।
तरकारीमा नुन चर्को भए पनि भारतको षडयन्त्र देख्ने हुतिहाराहरुले मन फुकाएर गाली गर्न पाए ।
यो विषयमा भारत वा अरु विदेशी शक्ति तटष्थ थिए वा छन भन्न खोजिएको हैन । धेरै कुरामा यस्ता शक्तिहरु वायु या देश्यान सरह हुन्छन, अर्थात जसले वास्ता गर्छ त्यसलाई पिर्छन वास्ता नगर्नेलाई केहि लाग्दैन ।
जे होस, गणतन्त्रमा कांग्रेसको धरातल चर्केको देखेर भन्ने पर्ने हुन्छ, राजतन्त्रलाई उसले कांधमा बोकेको हैन वरु राजतन्त्र कांग्रेसको निमित्त छहारी भएको रहेछ । त्यो छहारी हटदा कांग्रेसको अस्तित्वमा नै प्रश्न चिन्ह लाग्दैछ ।
विराटनगर १
२०७३।०१।२५
(जनआवाज)