ब्रेकिङ समाचार

समाजसेवा, फेसन र बिज्ञापन

दिपिका भुसाल
भनिन्छ, स्वार्थ नभएको मानिस नै हुँदैन । नि:स्वार्थ भनेको स्वार्थरहित हो । मानिसले राष्ट्रिय स्वार्थ, सामूहिक स्वार्थ र निहित स्वार्थ, व्यक्तिगत स्वार्थ राखेर काम गर्दछ । राष्ट्रिय स्वार्थ र सामुहिक स्वार्थ उत्तम स्वार्थ हो । निहित स्वार्थ र व्यक्तिगत स्वार्थ तुच्छ स्वार्थ हो । आत्मासाक्षी राखी तन, मन र धन तथा मन, बचन र कर्मले सेवा गर्नु मानिसको कर्तव्य, धर्म र उत्तरदायित्व हो । धर्मले मानिसलाई नि:स्वार्थ सेवामा ध्यान केन्द्रित गराउँछ ।

मानवजीवनमा नैतिकता, सत्चरित्र र अनुशासन अनिवार्य छ । विवेकविहीन मानिस स्वार्थी हुन्छ । नि:स्वार्थ भाव राखी कार्य नगरिएबाट नै कुनै पनि क्षेत्रमा राम्रो परिणाम आउन सकेको छैन । बिना मतलबको कुनै प्रयोजन नभएको, व्यर्थको कार्य बढिरहेको छ । व्यक्तिगत स्वार्थले चरमसीमा नाघेको छ । व्यक्तिगत स्वार्थका कारण समाजमा जताततै भ्रष्टाचार व्याप्त छ । बहुजन हिताय, बहुजन सुखायको सिद्धान्त आत्मसाथ गर्नु नै नि:स्वार्थ हो । नि:स्वार्थ सेवाले दु:ख मुक्तिको बाटोमा मासिनलाई हिंडाउँछ । मानवतावादी सिद्धान्तलाई व्यवहारमा उतार्नेले मात्र नि:स्वार्थ सेवा गर्न सक्दछ । सेवा लाभ हानीबाट मुक्त हुनु पर्दछ । कर्मवादी मात्र नि:स्वार्थ हुन सक्दछ । 

आजको युग व्यक्तिगत स्वार्थको व्यक्तिवादी युग हो । पूँजीवादी समाजमा नि:स्वार्थ सेवाको कुरा गर्नु बेकार हुन्छ । उपभोक्तावादी संस्कृतिले नि:स्वार्थ सेवालाई उपेक्षा गर्दछ । नि:स्वार्थी मानिस काम, क्रोध, लोभ, मोह र अहंकारबाट मुक्त हुन सक्दछ । मानिसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पाप कार्य गरिरहेको हुन्छ । निस्वार्थी मानिस विद्या, आचरण र धर्मले सम्पन्न हुन्छ । बोली अनुसारको व्यवहार गर्दछ ।

 नेपालको सन्दर्भमा नि:स्वार्थ सेवा गर्नेको संख्या निकै कम छ । नि:स्वार्थ सेवाको उदाहरण नेपाल धर्तीमा गौतम वुद्धले दिनु भएको छ । सेवाका नाममा नेपालमा व्यापक शोषण छ ।
हिन्दू धर्म दर्शनले ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ भनेको छ । क्रिश्चियन धर्मले ‘असहाय, पीडित, दीन–दु:खी मानिसको सेवा नै भगवानको सेवा हो’ भनेको छ । वर्तमान संसारमा कलियुगका प्रतापका कारण विकास सँगै विनास पनि भइरहेको छ । ‘जहाँ पाप त्यहाँ क्षणिक फलिफाप’ पनि देखा परेको छ । नि:स्वार्थ सेवा गर्न खोज्नेको निन्दा, उपेक्षा र स्वार्थी सेवा गर्नेको प्रशंसा, मान सम्मान भइरहेको पाइन्छ । युगले काँचुली फेर्दै जाँदा सेवा क्षेत्रमा लागेका मानिस पनि रंगीचंगी देखिन थालिएको छ । जनताको सेवा र हीतका नाममा विदेशी दातासँग आवश्यक कुरा माग्ने र प्राप्त भएका वस्तुहरू व्यक्तिगत हितमा ल्याउनेको संख्या बढ्दै गएको छ । 

गरिब, असहाय, पीडितका नाममा विदेशी दाताहरुबाट उपलब्ध चीजबीज हिनामिना हुने संस्कृति छ । त्यसैले नि:स्वार्थ समाज सेवाका नाममा गुट, उपगुट, पदीय स्वार्थ मौलाएको छ ।
राष्ट्रिय स्वार्थ, सामुहिक स्वार्थ गौण बन्दै गइरहेको छ । मानसम्मान र कुर्सीभन्दा ठूलो मानव सेवा हो । मानवको नि:स्वार्थ सेवामा जस्तो आनन्द र सन्तुष्टि केहीमा पाइंदैन । नि:स्वार्थ सेवीहरू समाजमा नै अहोरात्र खटेर रमाएको पनि देखिन्छ । नेपाल र नेपाली गरीब छैन, गरीब बनाइएको छ । देश र जनताको सर्वोत्तम हितको प्रण गरेर राजनीतिमा लागेका व्यक्तिहरू बेइमान भएको पाइन्छ । सेवा र धर्मलाई पेशा बनाएको पनि देखिन्छ ।
एनजिओ, आइएनजिओमा संलग्न भई मानव सेवाको क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई नि:स्वार्थी मान्न सकिंदैन । दरिद्र मानसिकता र भ्रष्टाचारले स्थान ओगट्दा नि:स्वार्थ समाजसेवा एउटा फेसन बनेको छ । दु:खी, पीडित, असहाय र गरीबहरूलाई दया र निगाह होइन अधिकार चाहिएको छ, बाँच्ने दीर्घकालिन आधार चाहिएको छ । शोषण र भ्रष्टाचार निर्मूल समाजबाट भयो भने दु:खी पीडित कोही पनि हुँदैनन् । भूकम्प पीडितहरूको पीडामा रमाउने, नाजायज फाइदा उठाउने समाजसेवीको लहर चलेको छ । पीडितहरूको सेवा र सहयोगको नाममा विज्ञापन भइरहेको पनि हामीले देखेका नै छौं । स्वार्थले भरिएको सेवा एउटा खतरा हो । नेपालमा केही महिला र पुरुषहरु समाज सेवाका क्षेत्रमा सक्रिय छन् तर नि:स्वार्थी छैनन् । नि:स्वार्थी व्यक्तिले प्रशंसा, मान–सम्मान, नगद पुरस्कार, कदरपत्रको बसमा पर्दैन । नि:स्वार्थी व्यक्तिहरू लाभ र हानी केही नहेरी आफ्नो जीवन समाज सेवामा नै समर्पित गर्छन् ।

समाज सेवाका क्षेत्रमा सक्रिय थुप्रै संघसंस्था र त्यसमा संलग्न व्यक्तिहरूको गतिविधि र त्यसमा संलग्न व्यक्तिहरूको गतिविधि पनि संदिग्ध देखा परेको छ । मानव सेवा गर्न तन, मन, धनको आवश्यकता पर्दछ । तन, मन र धन कालो हुनु हुँदैन । गुप्तदान, श्रमदान नेपाली समाजमा प्राचीनकालदेखि नै हुँदै आएको हो । समाज सेवामा लाग्नेहरू स्वस्फूर्त र देखाउनकालागि लागेको पाइन्छ । स्वस्फूर्त समाज सेवामा लाग्नेहरू नि:स्वार्थ हुन्छन् । 
ह्दयदेखि नै समाज सेवामा समर्पित भएका हुन्छन् । उनीहरूको योगदानले समाजमा उल्लेख कार्य गरेको हुन्छ । हिजोआज व्यक्तिको एक्लो प्रयासले पर्याप्त समाजसेवा हुन सक्दैन । संघ, संस्थाको उपस्थिति अनिवार्य छ । संघ संस्थाका पदाधिकारी नि:स्वार्थ र सक्रिय भएमा त्यो संस्थाले प्रभावकारी ढंगले समाज सेवामा योगदान पुर्‍याएको हुन्छ ।

राजधानी सहरको प्रमुख ठाउँ टुँडीखेल ,याँ देशका मुख्य मुख्य सहर रहस्पिटल वरपर क्यान्सर रोगी, मृगौला रोगी, मुटुरोगी र उनका परिवार चन्दा माँगेर बाँचेका छन् । कुनै पनि समाजसेवीको त्यसतर्फ ध्यान गएको छैन । पीडितहरूको सेवामा कुनै पनि संघसंस्था र समाजसेवीले चिन्ता र चासो लिएको पाइंदैन । गरीबीका कारण शिक्षाबाट बञ्चित बालबालिका, जोखिममा परेका बालबालिकाका मुद्दामा गैर सरकारी संघसंस्थाहरुले आवश्यक दबाव र सेवा पुर्‍याइरहेका छन्, यो सकारात्मक कदम हो । पीडितको नाममा आएको राहत सामग्रीमा र्‍याल चुहाउने समाज सेवाका क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरूको पनि कुनै कमि छैन । अन्य क्षेत्रमा झैं समाज सेवाको क्षेत्रमा पनि विकृति र विसंगति छ । अझै भन्नु पर्दा समाजसेवा लागेका प्रतेक ब्याक्ति पदीय स्वार्थ ब्यक्तिगत स्वार्थ रहित सधैं नि:स्वार्थ मन र भावनाले काम गरीरहेका छन् भन्नु भूल हुनेछ । तर केही ब्याक्ति हरु पनी छन आफ्नो जीबनको हरेक क्षण दुखी पीड़ितको सेवामा समर्पित गरेको पनी भेटीन्छ ! यो राम्रो कार्य हो ! समाज सेवाको लागी चालियका कदम समाज परिवर्तनका लागी साकारत्मक कदम हुन ! देशको अबस्था कमजोर  छ देश बिकासको  लागी हामी  सबैको  हात र साथको   अबस्यक छ !   तर स्वार्थ रहित समाज सेवी बन्नको लागी समाज सेवाको नाममा हुने ,पद्दीय स्वार्थ गुट उपगुटको अन्त्य हुन पनी  जरुरी छ !
प्रकाशित मिति 
२०७३ / जेठ २७  बिहीबार