ब्रेकिङ समाचार

राजा भन्छन ‘ जनता आउ देश बचाउ’

-स्वयम्भुनाथ कार्की
 विगत केही बर्षदेखि  राजाका हरेक सार्वजनिक उपस्थितिमा नारा लाग्ने गरेको छ । स्वागत तथा दर्शनको निमित्त जम्मा भएकाहरु चिच्याउने गर्दछन ‘राजा आउ देश बचाउ’ ।
 अलिकति प्रवुद्ध भनिएको वर्ग भेट चाहान्छ, कुराकानी गर्न चाहान्छ । यस्तो भेट भैहालेमा उसको एउटै विषय हुन्छ , एउटै उपदेश हुन्छ जो उ राजालाई दिन चाहान्छ ।
 देश बचाउन मेरो तर्फबाट यसो गर्छु भन्ने कुरा कसैसंग हुँदैन । तर राजाले यसो गर्नु पर्दछ वा उसो गर्नु पर्दछ भन्ने अर्तिहरुको भण्डार हुन्छ ।
 शाहशवंशको इतिहासमा सबै काम उसले जनतासंगको सहकार्यमा मात्र गरेको छ । त्यसैले होला पश्चिममा एक पटक मुखै खोलेर राजाले भन्नु पर्‍यो, ‘जनता आउ देश बचाउ’ ।
 आफुले दुख कष्ट पाएको कुरा गर्नेले राजाले भोग्नुपरेको परिस्थितिसंग आफुलाई अनभिज्ञ राख्नु उचित हुँदैन । विगतमा जे भोग्नु परेको छ त्यो सहन गर्नसक्ने हिम्मत संसारमा नै थोरैसंग मात्र हुनसक्छ ।
 देश र जनताको भलोको निमित्त काम गर्न खोज्दा जे जुन अवस्था भोग्नु पर्‍यो त्यो कसैसंग लुकेको छैन ।
त्यति हुँदा पनि ’ म कुनै दल, व्यक्ति वा चरित्रको सूक्ष्म आकार होइन, मसँग समग्र राष्ट्रको सिंगो विचार छ । म सबै नेपालीलाई समभावका साथ माथि उठाउन मियो अवश्य बन्न सक्छु तर कोही कुनै दल वा व्यक्तिविशेषलाई माथि उठाउने कडी म बन्न सक्दिन । मेरो हैसियत त्यो होइन ’ भन्न सक्ने हौसला कायम छ ।
 यो कुरा अर्ति दिनेहरुले मनन गर्नु आवश्यक छ । देश बचाउन राजा र जनताको संयुक्त मेहेनत चाहिन्छ । राजाले त आफु तैयार रहेको प्रष्ट पारिसकेका छन । प्रश्न छ के जनता अरुले के गर्नु पर्‍यो सिकाउन छोडेर देशबचाउने अभियानमा होमिन तैयार छन ?
सिधा प्रश्न छ, ‘राष्ट्र रहे हामी रहन्छौं र हामी ठीक ठाउँमा, ठीक ढंगले रहे राष्ट्र रहन्छ । त्यसैले राष्ट्र बचाउन, राष्ट्रियताको संवर्धन गर्न र सबै राष्ट्रवादीको दु:खदर्द हटाउन दूरदर्शी दृष्टि चाहिन्छ ।
 सही, स्वच्छ र समन्वयकारी नेतृत्व चाहिन्छ । सबैको सर्वमान्य दरो मियो चाहिन्छ । जनताको आशा, भरोसा र आस्थाको पर्खाल उसै भत्काएर हुँदैन । त्यसमा जनताको अन्तर्मनको ज्ञान पनि बुझ्नुपर्छ । नेपाली जनताको मन कताकता यस्तैयस्तै कुराले आज खिन्न र खण्डित बन्दै गएको मेरो अनुभव छ ।
राष्ट्रिय गतिविधि निरन्तर ऊध्र्वगामी हुनुपर्छ, अधोगामी होइन । यसका निमित्त निरन्तर निश्चित गतिमा राष्ट्रिय विधिविधानको सञ्चालन हुनुपर्छ ।
 तर प्रश्न उठेको छ, त्यो स्थिति आज किन अवरुद्ध छ ? बितेका १०–११ वर्षमा केकस्ता, केकति सरकार आए ? राष्ट्रको गहनतम जिम्मेवारी बहन गरेकाहरूले केके भने, केके गरे?’ जनताले यी प्रश्नको उत्तर खोज्ने हिम्मत गर्नै पर्दछ ।
अवको उत्तम बाटो के हुनसक्छ भन्ने बारेमा भनिएको छ , ‘राष्ट्रको विद्यमान असफल अवस्था अन्त्य गर्न अन्तत: नेपाली जनता नै जागरुक हुनुपर्छ, यो मेरो अन्तस्करणको धारणा हो ।
 परिवर्तनशील समय–प्रवाह निरन्तर प्रतिफलमुखी हुनुपर्छ, समयको छालमा बग्ने तर ठीक ढंगले वारपार गर्न नसक्दा दुर्घटना निम्तिन्छ । मुलुकले गति लेओस विधिविधानले निकास पाओस् र सबै क्षेत्रमा निरन्तर विकास होस् भन्ने नै हाम्रो कामना हो– हामी सबैको भावना हो ’।

गर्छु भनेर मात्र हुँदैन, आफ्ना अनुभवबाट पाठ पनि सिक्न आवश्यक छ । यो कुरा यसरी व्यक्त गरिएको छ , ‘तर बाटो कहाँ, कसरी बिराइयो र यस्तो अलमलमा किन पारियो, हाम्रो साझा चासोको कुरा यही हो अहिले । हेरौं, देखौं, सुनौं, बुझौं र समीक्षा गर्दै जाऔं ’ ।
गलती गर्दैमा केही हुन्न यदि त्यसलाई सुधार गरिन्छ भने । त्यसैले कुनै पुर्वग्रह राखिएला भनेर डराउन पर्ने आवश्यकता छैन । मुलुकको निमित्त काम गर्ने अवसर सकिएको छैन ।
 यो कुरा पनि यसरी उल्लेख छ, ‘यो हाम्रो मानवीय स्वभाव हो तर सिंगो सबल राष्ट्र, सुदृढ राष्ट्रियता, सबैलाई एकत्रित र समुन्नत पार्ने सुन्दर प्रजातान्त्रिक शासनशैली हामीलाई चाहिन्छ । हाम्रो राष्ट्रिय आवश्यकता भनेको राष्ट्र र राष्ट्रवासीको सर्वोत्तम हित नै हो ’।
राजाले आफ्नो कुरा स्पष्ट पारेका छन । मुलुकमा वर्तमान परिस्थिति आउनमा धेरथोर सबैको जिम्मेवारी छ । एकोहोरो दोषारोपण मात्रले कुनै हल निक्लन्न । समय अनुसार र जनताको चाहाना अनुसार आफुलाई परिष्कृत गर्दे गएको र यसलाई निरन्तरता दिने कुरो पनि आएको छ ।
 भनिएको छ , ‘ एक देशभक्त व्यक्तित्वको हैसियतमा जतिखेर पनि म जनतासँग नजिक रहन चाहन्छु । देशमा विभिन्न भूभाग र मठमन्दिरका द्वारहरू मेरानिम्ति सधैं खुला छन् । नेपाली जनतासाग सामीप्य बढाउने र समय सन्दर्भको आत्मबोध गर्ने काममा मेरो यस्तो भ्रमण फलदायी रहेको मैले अनुभव गरेको छु’ । अव हात बढाउने पालो जनताको , राजा त निरन्तर भन्दैछन ‘ जनता आउ, देश बचाउ’ ।
विराटनगर १
२०७३।२।२५
(गोरखा एक्सप्रेस)