ब्रेकिङ समाचार

हामीले पनि गर्ने कि ?

– के.पी शर्मा
दुई वर्षअघि बीबीसी हिन्दी सेवाले भारतको चेन्नईमा भएको एउटा सवारी दुर्घटनामा युवक दिमागी रुपले मृत घोषित भएपछि उनको मुटु निकालेर एउटी युवतीलाई प्रत्यारोपित गरिएको थियो । त्यो बेला त्यो युवकलाई राखिएको अस्पतालबाट युवतीको उपचार भैरहेको अस्पतालको दूरी १३ किलोमिटर थियो । सो १३ किलोमिटरको दूरीलाई चेन्नई प्रहरी र अस्पतालको सहयोगमा १२ मिनेटमा पूरा गरेर युवतीलाई ह्दय प्रत्यारोपित गरिएको क्षण दुर्लभ थियो । त्यसबेला शहरका सबै ट्राफिकलाई बन्द गरेर प्रहरीले ग्रिन कोरिडोरको मद्दतबाट चाँडो भन्दा चाँडो सो पुनित कार्य गर्न सहयोग गरेकोमा चेन्नई प्रहरी सर्वत्र प्रसँशित भएको थियो । त्यसपछिका दिनहरुमा भारतमा हरेक महिना जसो दुर्घटनामा परेर मृत्यु भएकाहरुको मुटु, किडनी र आँखा प्रत्यारोपण भैरहेको समाचार पढ्न र सुन्न पाइदैं छ ।

नकारात्मक समाचार र राजनीतिका बीचमा यो पक्कै पनि एउटा सुखद समाचार हो । अकालमा भएको कसैको जीवनको अन्त्य हुन्छ । जसलाई चाहेर पनि कसैले रोक्न सक्दैन । तर त्यही त्रासदीपूर्ण घटनाबाट कसैको आँखाको ज्योति बल्दछ भने कसैको मुटु अन्य कसैको शरीरमा प्रत्यारोपित भएर धडकिन थाल्दछ । यो संयोग नै हो कि कसैको जीवनको अन्त्य कसैकालागि जीवनको शुरुवात हुन पुग्दछ ।

नेपालमा पनि दिनहुँ जसो सडक वा अन्य दुर्घटनामा परेर मान्छे मरिरहेका छन् । कालको नियम विपरीत अकालमा मृत्यु वरण गर्नु परिवारकालागि निको नहुने घाउ हो । तर पनि सत्यलाई स्विकार्नै पर्दछ । ती अकालमा मरेकाहरु या दिमागले मृत घोषित भएकाहरुको अँग जो जलाएर वा गाडेर सदगत गरेर सकाइन्छ । ती आँखा, मुटु, किडनी र फोक्सो जस्ता शरीरका महत्वपूर्ण अँगहरुलाई बेलैमा निकालेर अरुको शरीरमा प्रत्यारोपित गर्न सके एउटा राम्रो कार्यको थालनीको देशमा जग बस्थ्यो ।

धेरैले असमय काल कवलित भएका आफ्ना आफन्तहरुको शरीर अँग, भँग गरेर अन्तिम संस्कार गर्न मान्दैनन् । तर यो एउटा जीवनको असमायिक अन्त भएको दु:खद घडीमा कुनै सामयिक जीवनको शुरुवातको शुभ समय पनि बन्न सक्दछ । जीवन सबैको उपयोगी छ । तर शरीरको कुनै अगँमा रोग लागेर जीवनबाट निराश भएर काल पर्खेर बसेकाहरुकालागि यसरी दुर्घटनामा परेर मृत्यु भएकाहरुको अँगदान जीवन दान बन्न सक्दछ । यसमा प्रहरी, अस्पताल र डाक्टर, मृतकका आफन्त र सञ्चार माध्यको महत्वपूर्ण भूमिका हुने गर्दछ । यी सबैको सहयोगमा कसैले नयाँ जीवन पाउनेछन् ।

हाम्रो देशमा रक्तदान र नेत्रदान जस्तो पुनित कार्य भइ नै रहेको छ । यहाँ पनि मुटुको ओपन हार्ट सर्जरीका साथै किड्नी (मृगौला) पनि प्रत्यारोपित गर्न शुरु भइसकेको छ । चिकित्सा विज्ञानले ठूलो फड्को मारिसकेको छ । अब असंभव भनिने शायदै केही होला ? त्यसैले आजको अत्याधुनिक समयमा चिकित्सा विज्ञानसँग हातेमालो गरेर असमयमै खेर गैसकेको जीवनलाई बचाउन नसके पनि खेर जान सक्ने जीवनलाई बचाउन हामी सबैले पहल गर्न सके यो भन्दा सुन्दर कार्य अरु कुनै हुनै सक्दैन ।

भारतमा जस्तै यहाँ पनि दुर्घटना भएको स्थल वा अस्पतालबाट ट्रयाफिक प्रहरीको सहायतामा ग्रिन कोरिडोर बनाएर यस्तो सेवा कार्य गर्न रुचाउने चिकित्सले कसैको जीवन बचाउन सहयोग गर्न सक्छन् । यसकालागि परिवारलाई जागरुक बनाउन जरुरी छ । यो भवितव्य हो । कसैले पनि आफन्त कोही दुर्घटनामा परोस् भन्ने सोच्दैन । तर अचानक यस्तो भवितव्य आइलाग्यो र आफन्तको मृत्यु वा दिमागले मृत भएको अवस्था (ब्रेन डेड) आइपरेको खण्डमा त्यो अँग दान गरेर त्यहीं पर कुनै घर वा अस्पतालमा अँग बिहीन भएर आफ्नो आयुको दिन गिन्ति गरेर बाँचेकाहरुले पक्कै पनि पुनर्जीवन पाउनेछन् ।

भारतमा हुने राजनीतिक उठापटक वा धार्मिक असहिष्णुताको समाचार हामी निक्कै चाख मानेर पढ्दछौं र त्यहाँका राजनीतिक दलहरुलाई गाली पनि गर्दछौं । तर भारतमै राजनीतिको उल्टो दिशामा भइरहेको यस्तो फरक खाले घटना र सकारात्मक समाचारमा हाम्रो ध्यान जाँदैन । भारतमा होस् या अन्य कहीं यस्ता सकारात्मक समाचारहरु प्रशंसित मात्र हैन आफ्नो देशमा पनि लागु गर्न सके राजनीतिको गलत धारमा मोडिएर थिलथिलो भएको हाम्रो देशमा अलिकता भए पनि आशाको सञ्चार हुने थियो । जुन देशमा गोविन्द केसी र भगवान कोइराला जस्ता चिकित्सक छन् त्यहाँ यस्ता जीवनोपयोगी कार्य गर्न कसैले कसैलाई रोक्न सक्दैन । मात्र मीडिया र प्रहरीको साथ भए पुग्छ । हामीले पनि भारतबाट सिकेर यो कार्य गर्ने कि ? सबैको आपसी सहयोगबाट गर्न सके यो महान कार्य अरुहरुकालागि पनि अनुकरणीय बन्न सक्नेछ ।

(पूर्व राष्ट्रसेवक समेत रहेका शर्मा मिसन नेपालमा आवद्ध छन् ।)

क्राइम चेक साप्ताहिकमा २०७३ साउन २० गते बिहीबार प्रकाशित