ब्रेकिङ समाचार

आशा सकारात्मक एवं क्रियाशील जिम्मेवारीको ?

– सन्तोष मिश्र

केपी ओली नेतृत्वको मन्त्रीपरिषदरुपी जहाज डुबेको छ । कति हर्षित छन् कति विस्मातमा । आम नेपाली जनता जो अभाव, महंगी, पीडा, बेरोजगार छन् उनीहरु सरकार ढलेपनि नयाँ सरकार बने पनि न हर्ष न विस्मातको अवस्थामा छन् । विगतका दिनहरूलाई उदासिन र निरास भएका नेपाली जनतालाई आफ्नो भाग्य र कर्म यस्तै रहेछ, कुनै सरकार आएपनि जनताको दु:ख, पीर, मर्का हेर्दो रहेनछ भनेर चित्त बुझाइमा छन् ।

लगभग संसदको ठूलो दल काँग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको ‘प्रचण्ड’ को नेतृत्वमा बहुमतीय सरकार बनेको छ । आफ्नो आगामी कार्यकालमा चुनौतीसँगै अवसर पनि भएको घोषणा प्रधानमन्त्री दहालले गरिसकेका छन् । उनको चुनौती के हो ? अवसर के हो ? झट्ट जनताले बुझ्ने कुरा होइन । दाहाल यसअघि पनि प्रधानमन्त्री भएर बहिर्गनमन भएका व्यक्ति हुन् । त्यतिखेर जनयुद्धबाट हुँदै शान्ति प्रकृयामार्फत आएका दाहाल निकै शक्तिशाली थिए । त्यतिखेर क्रान्तिकारी देशभक्त योद्धा कमरेडको पगरी गुथेका दाहाल आखिरमा के हुन् भनेर देशी विदेशी सबै शक्तिमा कौतुहलता थियो । आम नेपालीमा दाहाललाई लिएर ठूलो भय र भ्रम त्यतिखेर थियो ।

अहिले दाहालको मुटु र नाडी आम नेपाली र बाह्य शक्तिले छामीसकेका छन् । नयाँ आवरणको राजनीतिक त्यागी जोगी प्रचण्डप्रति पहिलो पटक प्रधानमन्त्री हुँदा धेरैले धेरै आशा एवं भरोसा गरेका थिए । आखिरमा ‘जुन जोगी आएपनि कानै चिरेका’, ‘सबै मूला एउटै ड्याङका’ भन्ने उखान चरितार्थ भयो । दुई बामपंथी पार्टीका शक्तिशाली नेता भनिएका प्रचण्ड र ओलीको कार्यकाल बोली, व्यवहार, चरित्र जनताले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएका छन् । ओली सरकारको सर्वत्र आलोचना भयो । उल्लेखनीय, देश र जनताको सर्वोत्तम कार्य एउटा पनि भएन । भारत र तराईका जनताहरुलाई आक्रोशित, असन्तुष्ट बनाएर चिढाए वापत देशभक्त राष्ट्रवादी प्रधानमन्त्रीको संज्ञा पाए । झण्डै आफ्नो नौ महिने कार्यकाल व्यंग्य विनोद, उखानटुक्कामै बिताएर आफ्नो व्यक्तिगत इतिहास बनाएर प्रधानमन्त्री ओली विदा भएका छन् । उनलाई आफ्नो पार्टी, नेपाली जनता, विदेशी शक्ति भारत लगायतले नरुचाउँदा नरुचाउँदै पनि असफल प्रधानामन्त्रीको कार्यकाल बिताए । उनले गरेको पापले नेपाली जनताहरूले ठूलो सास्ती र हण्डर खेप्नु पर्‍यो । ओलीका समर्थकहरुले ओलीको थमौतीकालागि जुलुस प्रदर्शन गरेर जनताहरूलाई तीन छक्क पारेर नेपालको गाईजात्रे शासन यस्तो हुन्छ भनेर उदाहरण प्रस्तुत गरे ।

ओलीले आफूमाथिको अविश्वास प्रस्तावका बारेमा संसदमा ताइ न तुईको अभिव्यक्ति दिए । ओलीको प्रधानमन्त्रीत्वकालको समग्रको मूल्यांकन गर्ने हो भने नेपाल र नेपाली जनताकालागि दु:खदायी नै बन्यो । सत्ता साझेदारी, बाँडफाँड र भागबण्डाको क्रममा ९ महिनााकालागि प्रचण्डको हातमा प्रधानमन्त्रीको जिम्मेवारी परेको छ । प्रतिकूल परिस्थिति, बाध्यात्मक परिस्थिति, राजनीतिक संक्रमण कालका नाममा ओलीले नौ महिना शासन गरे लगभग उही शैलीमा प्रचण्डले पनि शासन गर्ने पो छन् कि ? देशमा प्राप्त उपलब्धी पनि गुम्ने पो हो कि ? मधेश आन्दोलनलाई सम्बोधनको बदला झन जटिलता आउने पो हो कि ? या देशमा विद्यमान संवैधानिक, राजनीतिक, कुटनीतिक, आर्थिक सबै संकट समाधानकालागि मार्ग प्रशस्त हुने छन् भन्ने तर्क, कुतर्क जनताहरुकाबीच चलिरहेका छन् । ओलीसँग जनताहरूलाई मूर्ख बनाउने र मूर्ख ठान्ने, उटपट्याङ कुरा गरेर ताली खाने राजनीतिक कला देखियो ।

 अब प्रचण्डले त्यो पाटोलाई त्यागेर साँच्चि नै देश र जनताप्रति सकारात्मक जिम्मेवारीको क्रियाशील भूमिका निर्वाह गरुन् । नेपालको संविधान २०७२ अन्तर्गत देशका सम्पूर्ण राजनीतिक शक्ति एउटै राजनीतिक मूल प्रवाहमा अटाएर आगामी दिनहरुमा सम्पन्न गर्नुपर्ने तिनै तहको निर्वाचन सबै राजनीतिक दलहरू सहभागी हुन सक्ने वातावरण बनोस् । ठूलो राजनीतिक दलका रुपमा नेकपा माओवादी केन्द्र जनताका नयाँ आशा र भरोसाको केन्द्का रुपमा स्थापित हुन सकोस् । भूकम्प, पहिरो, बाढी र डुबान पीडित जनताहरूबाट वाह ! वाह लुट्ने अवसर प्रचण्डको नेतृत्वको सरकारले लिन सकोस्, गलत स्वार्थ सिद्ध नगरोस् । कुनै पनि हालतमा केपी ओलीको नेताहरूजस्तो तुच्छ सरकार नबनोस् । ओली सरकारको जस्तो आलोचित र निन्दित नबनोस् ।

क्राइम चेक साप्ताहिकमा २०७३ साउन २० गते बिहीबार प्रकाशित