परदेशी चेलीको पीडा
यो पाली त यस्तै भयो अर्को वर्ष आउने छु,
माइतीघरको आँगनीमा ढल्कि नाच्ने छु !
सबै जम्मा हुँदा आमा बाटो मेरो हेर्दी हौ,
सबै संगै खान बस्दा सम्झी रुंदी हौ !
यस्तै लेखा रैछ मेरो कर्मथलो विदेश,
शरीर यता भए पनि मन त स्वदेश !
चाडबाड नजिकिंदा मन रुन्छ धरर,
चरी भको भए उडि आउँथे फरर !
रंगीचंगी पहिरनमा सबै उस्तै देखिँदा,
झल्को मेरो आउँछ होला सँगी भेटिंदा !
संगालेर घिउ तिमी मेरै लागी साँच्दी हौ,
छोरी आउने दिन गन्दै औंला भांच्दी हौ !
माइतीराजा दाजै मेरा झल्को मेरो आउँदो हो,
टाढिएकी चेलीको माया लाउँदो हो !
भाउजुहरु मिठो दर पकाउँदै भान्सामा,
कहिले आउलीन चेली हाम्री गर्दै सम्झना !
म नहुँदा बहिनीहरु खल्लो तिमलाई लाग्दो हो,
प्रत्येक वर्ष यसै गरि चाँड जाँदो हो !
प्यारी छोरी पिडा तिम्रो बुझेकी छु मैले नि,
अर्को वर्ष संगै बस्ने वाचा गरें नि !
प्यारो छोरा काख मेरो खोज्दै तिमी हिंड्दा हौ,
मन भित्रको पीडा तिमी पोख्न खोज्दा हौ !
-सीता पौडेल
चितवन, हाल इजरायल
क्राइम चेक साप्ताहिकमा २०७३ भदौ १६ गते प्रकाशित
 

 
 
 
 
 
 
 
 
 
 
 
