ओली र देउवाको राष्ट्रवाद छताछुल्ल
 – योगेन्द्र गौतम
– योगेन्द्र गौतमहाम्रो देश नेपालको विकास नहुनुको मुख्य कारण भनेको स्वार्थी र अवसरवादी आर्थिक नीति हो । राणा शासनको अन्त्य पश्चात बिपी कोइरालाको नेतृत्वमा बनेको प्रथम प्रजातान्त्रिक सरकारले आर्थिक क्रान्तिलाई महत्त्व दिएको थियो । गाउँको विकास नै मेरो समाजवादी आर्थिक निति हो, विकासका योजनाहरु बनाउँदा गाउँमा बस्ने मजदुर किसानको बिचारलाई समेट्नु पर्छ तब मात्र आर्थिक क्रान्तिले नयाँ बाटो समाउन सक्छ यो बिचार थियो बिपी.को । तर राजनीतीक वितृष्णाका सामुन्ने आर्थिक क्रान्ति झुक्न बाध्य भयो र पंचायतमा आर्थतन्त्रको खासै प्रगति हुन सकेन । ३० वर्ष पंचायत चल्यो तर पनि आर्थिक संकटबाट देश मुक्त हुन सकेन । ४६ पश्चात बहुदलमा केहि विकास नभएको भने होइन । यतायत, गाविस भवन, इलाका प्रहरी कार्यलय र भूमिसुधारका क्षेत्रमा उल्लेख्नीय विकास भएको थियो । माओवादी द्वन्द्वकालले त्यो भताभुङ्ग बनाइदियो । जनता निकै पीडित भए । ६२/६३ पश्चात राजनितीक दलहरुमा छाडापन बढ्दै गयो । जनता भूकम्प र बाढी पहिरोबाट पीडित भए । खुल्ला आकाश मुनि बस्न बाध्य जनताका पीडा के थाहा राजनितीक दलका नेताहरूलाई ?
भूकम्प पीडितको नाउँमा आएको धन दुरुपयोग आफ्नो सन्तानलाई नक्कली भूकम्प पीडित बनाएर चीनको भ्रमण र जनताको विरोध के थाहा ? राष्ट्रवादी भनाउँदाहरुलाई धिक्कार छ । संसदमा नक्कली बिल बनाएर पेश गरिन्छ । जनताका प्रतिनिधीहरु नै जनताको धन राज्यकोषबाट हडप्न तल्लीन छन् । खै कसरी विश्वास गर्ने यिनीहरुलाई । भुकम्प पीडितको अवस्था अत्यन्त दयनीय छ । खुल्ला आकाश मुनी बस्न बाध्य छन् तर तिनै भूकम्प पीडितको नाउँमा दातृराष्ट्रबाट आएको रकम राष्ट्रवादीहरुले खावाप्प भुँडी भरिहाले । आफना कार्यकर्तालाई तीन करोड राज्यकोषबाट बाँड्छन् स्वघोषित राष्ट्रवादीले । उपचारको नाउँमा करोडौ रकम ऐठिएको छ । स्वदेशमै राम्रो उपचार हुन सक्छ भन्ने उदाहरण कांग्रेस महामन्त्री शशांक कोइरालाको ओम अस्पतालमा गरिएको उपचारले सावित गर्दछ । के थाहा यिनीहरुलाइ ? अहिले काँग्रेस सभापति र एमाले अध्यक्ष उपचार गर्न भनि विदेशमा छन् ।
विरामी भएपछि उपचार पाउनुपर्छ, त्यो सत्य हो । तर जनताको धनले होइन आफनो ब्यक्तिगत खर्चबाट उपचार गर्नु पर्छ । वर्तमान अवस्थामा जनताहरुले एक रुपैयाँको सिटामोल नपाएर मृत्युवरणको अवस्थामा पुगेका छन् । ग्लानूमा शंका भएको भरमा राज्यकोषको ढुकुटीबाट ६० लाखको लागि निवेदन गर्नु डा. रामवरण यादवको नैतिकताले कतै स्वीकृति माग्न र प्रचण्ड नेतृव सरकारले उक्त रकम राज्यकोषबाट दिन कसरी मिल्छ ? एमाले अध्यक्ष र काँग्रेस अध्यक्ष स्वदेशमै उपचार सम्भव हुँदाहुँदै विदेशमा उपचारको नाउँमा भ्रमण गर्नु के यही हो नैतिकता ? नेपालमा सबै किसिमको उपचार हुन्छ र हुन सक्छ, त्यो उनीहरुलाई पनि थाहा छ तर राज्यकोष लुट्नकालागि अनेक किसिमका बाहाना बनाएर नेपालमा उपचार हुँदैन, भन्नु ओली देउवाको यही हो राष्ट्रवाद ? राष्ट्रिय ढुकुटीमा ब्रम्हलुट मच्चाई देशलाई आर्थिक रुपले टाट पल्टाउने यी नेताहरूको वास्तविक अनुहार र खोक्रो राष्ट्रवाद छताछुल्ल भइसकेको छ । यी राष्ट्रिय ढुकुटी दोहन गर्ने अधिकार कसैलाई छैन ।
(२०७३ भदौ १६ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित पाठक विचार)
 
 
 
 
 
 
 
 
 
 
 
 
