ब्रेकिङ समाचार

चिनीयाँ राष्ट्रपतिको भ्रमण रद्द भएको हल्ला निराधारः परराष्ट्र

काठमाडौं, भदौ २२ –  चीनका राष्ट्रपतिको भ्रम रद्द भएको विभिन्न संचारमाध्यममा आएको हल्ला निराधार भएको सरकारले जनाएको छ ।

चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण स्थगित नभएको कुरा बुधवार परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरेर स्पष्ट पारेको हो ।

विभिन्न सञ्चारमाध्यममा भ्रमण स्थगित भएको र सरकारले आवश्यक तयारी नगरेको भन्दै आएका समाचार सत्य नभएको पनि सरकारले प्रष्ट पारेको छ । सरकारले भ्रमणका लागि आवश्यक तयारी भइरहेको पनि स्पष्ट पारेको छ । तर चीनका राष्ट्रपतिको भ्रमण मिति भने अझै तय नभएको सरकारले स्पष्ट पारेको छ । उहाँ असोज पहिलो वा दोश्रो हप्ता नेपाल आउने तयारी छ ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नेपालका लागि चीनका राजदूतले भ्रमण स्थगित भएको जानकारी गराएको भन्दै समाचार आएको भए पनि बैरागीले चीनका राजदूतसँग आफ्नो भेट नै नभएको स्पष्ट पार्नुभएको छ ।

भ्रमण स्थगित भन्ने खबर आए लगत्तै परराष्ट्र मन्त्री प्रकाशशरण महतले बैरागीलाई बोलाएर यसबारेमा चासो राख्नु भएको थियो । परराष्ट्र मन्त्रीसँग सचिव बैरागीले  चिनियाँ राजदूतसँग आफ्नो भेट नै नभएको जानकारी दिनुभएको थियो ।