राजावादीले राजसंस्थालाई किन भड्खेलीमा हाल्दैछन् ?
दर्शन राजा ! के को राजा ? कहाँको राजा ? किउज सिनेमाको कफी सपमा म सुदिप बबी भूपाल सिंहलाई कुरिरहेको थिएँ । उनको अभिवादनमा फर्काएको जवाफ थियो त्यो । बबी माला सिनेमाको निर्देशक, कथा, पटकथा गीतकार तथा प्रस्तुतीकर्ता हुन् । उहाँसँग जहिले पनि नेपाली सिनेमा र उद्योग बारे चिन्ता हुन्छ । उनी उदयमान तथा राष्ट्रियताको भावनाले उतप्रेरीत नव युवा फिल्म निर्देशक हुन् । हामीले हेरेको नेपाली सिनेमा छक्का पञ्जाको संवाद पनि त्यहि माथिका हरफहरु हुन् । उहाँसँग र हाम्रा अनन्य मित्र किउज सिनेमाको मेनेजर राकेश श्रेष्ठसंग भेट हुँदा हामी जहिले पनि नेपालको समसामयिक राजनीति र राष्ट्र, राष्ट्रियता कमजोर भएको प्रति केन्द्रिकृत भएर गफ लडाउँने गर्छौं ।
हामीहरु देश भड्खेलोमा गएको कारणहरु खोज्नेतिर लाग्छौं, त्यस्को निकाष के हुन्छ भन्नेतिर बुद्धि खियाउने प्रयास गर्छौं । फेरी अब राष्ट्रप्रति ओतप्रेत एउटा राम्रो सिनेमा बनाउनु पर्छ, जसको माध्यमबाट मानिसमा जागरण ल्याउनु पर्छ भन्ने भनाई राख्दै आफ्नो कुराको बिट मार्दै श्रीमतीको धेरै फोन आयो भन्दै आ–आफ्नो गुँडतिर लाग्छौं । यो क्रम शायद एउटा सन्देश मुलुक, राष्ट्र र राष्ट्रियता जागरण गराउने सिनेमा नबनुञ्जेल निरन्तर हुने नै छ ।
गएको शुक्रबारको दिन २०४७ सालको संविधानको औचित्य बारे पुरानो शक्तिले राखेको कार्यक्रममा जाने सु–अवसर मिल्यो । त्यहाँ असोज ३ को कालो संविधानलाई कालो दिवस मनाउने तथा संविधान जलाउने क्रममा गिरफ्तारी भएको युवाहरुलाई अभिनन्दन गर्ने कार्यक्रम पनि थियो । सो अवसरमा नेपालको वरिष्ठ पत्रकार बामपन्थी चिन्तक, पंचायत कालमा थुपै्र समय जेल सजाय वेहोरेका तथा वैदिक कालदेखि नेपालमा राजसंस्थाको भूमिका बारे सही विश्लेषक प्रेम कैदी ज्यूको पनि अति रोमाञ्ति भाषण सुन्ने अवसर मिल्यो । त्यहाँ उनले भगवान शिवको काल देखि, इन्द्रको राज्य र मनुको राज्यसम्म बेलिविस्तार लगाए । सो अवसरमा उहाँले म सुदुर पश्चिमको बासी भएको हुनाले अलि अलि कुरा उहाँ सोम राजालाई पनि थाहा छ भनि भाषणमा मेरो नाम सम्बोधन गर्दा खुशीले गद्गद् भएँ । तर मेरो खुशी एकछिनमै दु:खमा परिणत भयो । कहाँको राजा ? लावण्य देशको झैँ स्वस्थानीमा सिमित भएको मात्र त हो नि भनेर आफूले आफुलाई सान्तवना दिएँ । त्यस्तै तरिकाले आज हाम्रो देशमा राजसंस्थालाई दूरअवस्था पुर्याइएको छ । यो देशको निर्माता तथा तिनका सन्ततिलाई विदेशी शक्तिको आडमा आज एउटा कुनामा थन्क्याउने जुन दुस्प्रयास भएको छ, त्यसले गर्दा राजसंस्था मात्र होइन् राष्ट्र र जनताले अपार दु:ख तथा कष्ट भोग्नु परेको अवस्था छ ।
राजसंस्थाले आज देशको दुरावस्था टुलुटुलू हेरेर बस्न बाहेक केही गर्न सक्ने अवस्थामा छैन किनभने जनताका प्रतिनिधि भन्नेहरु धमाधम बिक्री भईसके भने जनता यसको प्रतिकारमा उठ्न भन्दा चिया गफ गरेर बिताउनमा नै व्यस्त देखिन्छन् । जनता पनि विदेशी डिजाइनमा आएको प्रत्येक आन्दोलनलाई हामीले साथ दिएर ल्याएको भनि गर्व गर्छन् भने आज राष्ट्र धुजा धुजा हुँदा नेताले गरेका भनी गाली गर्ने शिवाय, विदेशी तत्व, दलाल, भ्रष्टचारी नेताहरुको प्रतिकार गर्न हुत्ती देखाउँदैनन् ।
यो देशको दुर्दशा कुनै राजाले र नेताले वा कुनै विदेशी शक्ति, उत्तर र दक्षिणले भन्दा पनि जनता आफैले गरेका हुन् भन्दा त्यति बेठिक ठहरिंदैन । विश्लेषकहरुका अनुसार अब देशलाई पक्कै पनि राजसंस्थाको अपरिहार्यता देख्दछन् । राष्ट्र कमजोर बनाउने खेलमा हिन्दु धर्म राजसंस्थाका पहिचान, भाषा, जात, अखण्डतामा विदेशी शक्ति तथा तिनका नेपाली गुलामहरुले प्रहार गर्ने काम भयो, त्यसले हाम्रो समाजमा सहिष्णुतामा पनि खलल पुर्यायो । हाम्रो पहिचान भन्दा जातको पहिचानमा नहोला । तसर्थ यी सबै कुरालाई ख्यालमा राखी देशलाई विखण्डन र हाम्रो राष्ट्र, राष्ट्रियता, मौलिक पहिचान र उत्कृष्ट समाजलाई खण्डित हुनबाट जोगाउन आज राष्ट्रवादी तथा देशभक्ति नेपालीहरुले राजसंस्थालाई अपरिहार्यताको बेजोड सुत्र ठान्न थालेका छन्, यसलाई सदियौं स्थापित हुने एउटा विशेष सुत्रको पहिचानमा लागेका छन् । पश्चिमा र चीन पनि राजसंस्था फेरी दाहोर्याउँछ भनि प्रश्न गर्न थालेका छन् । पश्चिमा भन्छन् हो हामीसँग सूचना छ, राजा ज्ञानेन्द्र र चीन तथा भारतका प्रतिनिधि ब्यांककमा भेटेको भनेर चीन पनि राजसंस्था आउँछ र ? भन्दै प्रश्न गर्दा फेरी हामीले त ब्यांकक भेट गरेकै हो भन्छन् । तर यहाँनिर प्रश्न उठ्छ, के उनीहरुलाई राजसंस्था फर्किन्छ भन्ने डर हो की, राजसंस्थालाई ल्याउनु पर्छ भन्ने चासो हो ? यी कुरा बुझ्नलाई गाह्रो छ ।
नेपाली जनतामा राजसंस्था प्रति चाहना र चासो भए झैँ नेपालको विभिन्न पार्टीमा भएका देशभक्त र राष्ट्रवादी नेता तथा कार्यकर्तालाई यो संस्था प्रति आस्था छ, शिवाय देश बचाउने अचुक औषधीको रुपमा । बझाङ जिल्लाका तरुण दलका अध्यक्ष विष्णु ऐडी पनि राजसंस्थाको भूमिका राष्ट्र बचाउने हो नै भने हाम्रो विचार राष्ट्र भन्दा माथि हुन सक्दैन भनि धारणा राख्छन् । सबैलाई चिन्ता छ, राष्ट्रको चिन्तन गर्छन्, मनन् गर्छन्, अन्त्यमा यी दलाल नेताको अगाडी हाम्रो केही लाग्दैन भनि लाचार हुन्छन् । तर अन्त्यमा चिन्तन मनन गर्दै, गफ मार्दै हिंड्ने हो भने सबैले दोषी फेरी यी राजावादीलाई लगाउँछन् ।
को हुन् यी राजावादी, कसबाट संचालित छन्, किन राजसंस्थालाई यी राजावादीबाट ठूलो कष्ट, दु:ख, धोकावादी तथा यी नै तत्वबाट राजसंस्थालाई ठूलो दरार छ । वास्तवमा भन्दा मैले राजावादीको अर्थ र सिद्धान्त बुझन् सक्या छैन, हार खाएँ अब बुझ्ने प्रयास पनि गर्दिन ।
राजसंस्था कि राजतन्त्र, राजतन्त्र भित्र राजा रोज्ने व्यक्ति पर्यौं हामी । यस राजसंस्थाको आफ्नै मूल्य मान्यता र व्याख्या हुन्छ यो आफनै परम्परागत ढंगले सुचारु ह्ुन्छ, र आफनै प्रचलित मान्यता अनुरुप परम्परागत ढंगले चल्दछ । नेपालको आफ्नै राजसंस्थाको संस्थागत ढंगले परिचालित हुन्छ भन्ने मान्यता राख्ने व्यक्तिहरु पर्यौं हामी । राजा प्रकृतिको, जनताको, समाजको, ब्रम्हाण्डको जनबाट तथा राष्ट्रको नै राजा हुन्छ । सिमित व्यक्ति वा परिवारको होइन । सम्पूर्ण जगतको नै संरक्षक भएर बसेको हुनाले राजा सबैका साझा हुन्छ र राजसंस्थालाई साझा प्रतीकको रुपमा लिइन्छ ।
राष्ट्र रहे त राजा रहन्छ, राजा रहे त हाम्रो मौलिक धर्म, संस्कृति तथा पहिचान जिवित रहन्छ । हाम्रो मौलिक पहिचान, धर्म संस्कृतिको लागि राष्ट्र र राजा एक आपसमा परिपुरक हुन् भन्ने यथार्थ आज बल्ल नेपाली जनताले चेत्दै छन् । हाम्रो मौलिक पहिचान, भनेको, नेपाल स्थापना हुनु अगाडी देखि चलिआएको वैदिक सनातन संस्कार र विभिन्न जात र समाजलाई एक सुत्रमा बाँध्ने कडीको रुपमा रहेको राजसंस्था नै हो । तसर्थ राष्ट्र, राष्ट्रियता धर्म संस्कृति, भेष भूषा, मौलिक पहिचान तथा रहन सहनलाई संरक्षण, जर्गेना, तथा अभिभावकत्व गर्नको लागि राजसंस्थाको अपरिहार्यता देखिन आएको हो ।
विभिन्न मान्यताले गर्दा राजसंस्थाको कुनै पनि वाद हुँदैन भन्ने मान्यता राख्छौं हामी । यही कारणले गर्दा राजालाई सम्पूर्ण जगतको नै साझा बनाउने प्रयत्नरत छौं । स्वयम घोषित राजावादी भनेर राजसंस्थालाई एउटा किल्लामा धकल्ने प्रयास गर्ने कुचेष्टा नगरौं । शाही र राजसंस्थाको नाम बेची परिवार पाल्ने, आफनो व्यक्तिगत नाम स्थापित गर्ने, राजा भन्ने शब्द आफनो व्यक्तिगत सम्पत्ती झैं दुरुपयोग गर्ने प्रयास झुक्केर पनि नगर्दा नै बेस हुन्छ जसले तिनकै भलो गराउँछ । कहिले नारायणहिटी सफाई कार्यक्रम सरकारको निर्देशनमा भएको आफनो कार्यक्रम राजाको सचिवले गर्न लगाएको, तथा नाम राजाको आदेशमा नै राखिएको भनि दिग्भ्रमित कुरा गर्दै हिंड्ने कुतत्व एकदिन जनताले राम्ररी ठेगान लगाउने नै छन् भन्ने आशय हामीले लिएका छौं । आफनो नाम मुछिंदा सचिवहरुले पनि बोलाएर स्पष्टिकरण माग्न पर्ने हो, तर यसो नगरिंददा जनता भ्रमित भई कतै यो कार्य त्यहींबाट भएको त होइन ? भनि बोल्न संकुचित मानिरहेको अवस्था पनि हो भन्ने बुझाई छ ।
हामी राजावादी कुनै पनि हालतमा होइन यसको अपव्याख्या भएको हुँदा हामीलाई दु:ख लागेको छ, तर हामी राष्ट्रवादी अवश्य हौँ । हाम्रो बुझाईमा माथिका विभिन्न कारणले राजसंस्था अपरिहार्यता देखेका मात्र हौं । तसर्थ हामी राष्ट्रलाई शीरमा राखेर, र राजसंस्थालाई भुईबाट तानेर दिमागमा पुर्याई, भावनमा होइन, चेतनामा पुर्याउन आवश्यकता छ भनि अगाडी बढिरहेका छौं । राष्ट्र र राजसंस्थालाई अनावश्यक रुपले आफनो स्वार्थ र आफनो घेरामा राख्ने तथा अविरल रुपले विवादमा तान्ने कुचेष्टा नगरौं । त्यस्ता तत्व प्रति सारा जनता सजग हुनै पर्छ, जसको हामी घोर भत्र्सना र निन्दा गर्न पछि समय आएपछि यसको सुरक्षार्थ, दिगो अस्तित्वको लागि त्यस्ता तत्व प्रति जाइ लाग्नै पर्छ ।
सामाजिक सञ्जालका मधुकर पाण्डेको भनाई झै राजालाई यस म्यानबाट टाढा राख्दै सही बाटो देखाउने सल्लाहकारको आवश्यकता छ, तिनै यस म्यानको गलत मार्ग निर्देशनको कारण आज जब झुसे मुसेहरुको राज छ । जसरी छक्का पञ्जा सिनेमाको संवाद झैं लावण्य देशका राजा र लावण्य देश एउटा स्वस्थानीमा सिमित गराइयाछ त्यसरी नै राजावादी भन्ने मनुवाहरुलाई राजसंस्थालाई एकादेशको राजामा नपुर्याउलान् भन्ने कुनै ग्यारेन्टी नै छैन । अर्का सामाजिक सञ्जालको स्वर्ण शाहले भने झैं राजा भनेको साझा हुन् स्वर्णलोकको रक्षा श्री हरिले गरे झैं पृक्ष्वी लोकको रक्षाको लागि उनै हरिको अंश अवतार राजा हुन् । हामी वैदिक सनातनीहरु प्रकृतिको पुजा गछौं तसर्थ राजा भनेको सम्पूर्ण प्रकृतिकै स्वामी हुन् यानी भू स्वामी ।
अन्त्यमा राजसंस्थालाई यो शीर यानी राष्ट्रको अभिन्न अंग मानौं, राजसंस्था भनेको शीरको भित्री भाग दिमाग यानी चेतना हो हातखुट्टा तथा अरु अंगहरु हामी जनता, धर्म, संस्कृति, समाज, मौलिक पहिचान, भेषभूषा तथा रहन सहन हुन् । यसलाई साझा प्रतिकको रुपमा लिउँ, व्यक्तिगत प्रयोग गरि आफ्नो स्वार्थ पूर्ति गर्ने भावना त्यागौं यसमै जनता राष्ट्र र राजसंस्थाको भलाई छ । राजावादीको भ्रम त्यागौं सबैलाई चेतना भएकैं निको ।
जय राष्ट्र, जय जनता, जय राजसंस्था ।
(सिंह राष्ट्रिय सरोकार मञ्चका केन्द्रिय अध्यक्ष हुन् ।)
क्राइम चेक साप्ताहिकमा २०७३ असोज २० गते प्रकाशित