ब्रेकिङ समाचार

विद्यालयमा इ–पुस्तकालय, विद्यार्थीलाई छात्रवृत्ति

तनहुँ, कार्तिक/
छोरीमैया श्रेष्ठ स्मृती प्रतिष्ठान, कोटेश्वर काठमाण्डौले तनहुँ जिल्लाको रिसिङ रानीपोखरी गाविस स्थित दिपक माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर प्रदान गरेको छ । विद्यालयमा इपुस्तकालय संचालन गर्न प्रतिष्ठानले कम्प्युटर उपलब्ध गराएको हो । प्रतिष्ठानका उपाध्यक्ष राजकुमार श्रेष्ठले एक कार्यक्रमका बीच  विद्यालयका प्रधानाध्यापक विश्वराज गैह्रेलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

 विद्यालयमा इपुस्तकालय संचालन हुदाँ विद्यार्थीहरुले पुस्तकको ज्ञानलाई प्रविधीसंगै जोडेर आफ्नो अध्ययनलाई अघि बढाउने मौका पाउने प्रधानाध्यापक गैह्रेले बताए । विद्यार्थीहरुको अध्ययनशैलीलाई आधुनिक युगसंगै विकास गर्ने उद्देश्यले विद्यालयमा इ–लाइब्रेरीको अवधारणा अनुरुप कम्प्युटर वितरण गरिएको छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठानका उपाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

 प्रतिष्ठानले जनशक्ति प्राथमिक विद्यालय छाङ्गलाई समेत १ थान कम्प्युटर प्रदान गरेको थियो । जर्मन स्थित अर्काडिज इन्टरनेशनल स्कूलले कम्प्युटरका लागि सहयोग गरेको प्रतिष्ठानले जनाएको छ । त्यसैगरी छोरी मैया श्रेष्ठ स्मृति प्रतिष्ठानले तनहुँका ७ विद्यालयमा अध्ययनरत ४६ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले जनज्योति उच्च माध्यमिक विद्यालय, धर्म मा.वि, बाल शैक्षणिक आधारभुत माध्यमिक विद्यालय, विद्याश्रम प्रावि, दिपक मावि, जनज्योती निमावि र जनज्योती प्राविका विद्यार्थीलाई विद्यालय पोषाक, स्टेशनरी, जुत्ता लगायतका सामाग्री वितरण गरेको हो ।

प्रतिष्ठानले गरिब र विपन्न अवस्थाका जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको प्रतिष्ठानकी अध्यक्ष सुजाता श्रेष्ठले बताइन् । प्रतिष्ठानले विगत ८ वर्षदेखि विपन्न परिवारका विद्यार्थीहरुको अध्ययनमा सहयोग गर्दै आएको छ । प्रतिष्ठानले द एसिया फाउण्डेसन मार्फत प्राप्त पुस्तकहरु धर्म माध्यमिक विद्यालय र दिपक माध्यमिक विद्यालयलाई प्रदान गरेको थियो ।