ब्रेकिङ समाचार

एक चिम्टी फोहोर

-सीता पौडेल
 
एकादेशमा एक पटक राजालाई आफ्नो देशको सरसफाइ बारे अचम्म खालको जाँचबुझ गर्न मन लागेछ र उनले भनेछन्, "जसको घरबाट जति धेरै फोहोर निस्कन्छ उसलाई त्यति नै धन सम्पत्ति दिइने छ ।"

जनतामा होडबाजी चलेछ कि कसले धेरै फोहोर निकाल्ने भनेर । सबैले जतिसके उति फोहोर जम्मा गरेर राजा कहाँ पुगेछन् र राजालाई आफुले ल्याएको फोहोर देखाएछन् । त्यहाँ एकजना यस्ता बुढा मान्छे पुगे जसले डराउँदै राजालाई भने हजुर मेरो छोरालाई फोहोर मन पर्दैन त्यसैले बिहान देखि फोहोर जम्मा गर्ने कति कोशिश गरे तर जमा गर्न सकिन हजुर भन्दै आफूसंग ल्याएको एक चिमटी फोहोर देखाएछ्न् ।

राजा अत्यन्त खुशी हुँदै ती वृद्धलाई प्रशस्त धन सम्पत्ति दिएर बिदा गरे र उनले अरु जनतालाई भने, "हेर तिमीहरू पनि यी वृद्धका छोराले जस्तै आफ्नो घर आगन सफा राख्ने गर तबमात्र गाउँ,  शहर र देश सफा हुन्छ र रोगका किटाणुहरु सलबलाउन पाउँदैनन् र देश रोगमुक्त हुन्छ ।

यो कथाले दिएको शिक्षा र अहिले हाम्रो देशमा सलबलाई रहेका किटाणुरुपी नेताहरूले जम्मा गरेको फोहोरले आज हाम्रो देश भयानक रोगले ग्रस्त भएको छ ।

ती वृद्ध मानिसको छोरा जस्तो सरसफाइ गर्ने कुनै नेता भेटिएनन् जसले देशलाई रोगमुक्त गरि देशको मुहार फेर्ने कोशिश गरे बल्की कथाका जनताहरुले जस्तै आफ्नो स्वार्थको फोहोर जमा गरि रहे । आज हाम्रो देश पूर्णरुपले भयानक रोगले ग्रस्त भएको छ र बाह्य डरलाग्दा रोगले आक्रमण गरि रहेका छन् ।