ब्रेकिङ समाचार

शिशु राजाको परम्परा, शाहवंश र अढाई सय बर्ष


–स्वयम्भुनाथ कार्की

आजको नेपालको शुरुवात काठमाण्डौमा गोरर्खालीहरुको विजयलाई मान्ने गरिन्छ । यसो हुँदा सन २००८मा राजा ज्ञानेन्द्रलाई पाखा लगाएको अनि नेपालको शुरु भएको बर्ष सन १७६९ बिच दुई सय अड्तीस बर्षको कालखण्ड हुन आउछ ।

भन्ने गरिएको २४० बर्ष नेपाल एकिकरणको उमेर हो , गणतन्त्र भनिएको समयलाई पनि जोडेर वर्तमानमा अढाई सय बर्ष भनेर गाली गरिदैछ ।

यो नेपालको अस्तित्वलाई नै गाली गरेको हो , दुखको कुरो त यो छ कि यसरी गाली गर्नेमा अहिले नेपालको सत्ता सञ्चालन गरिरहेकाहरु अग्रपंतीमा छन ।

यो कालखण्डमा राम्रा काम हुन नसकेको अनि भएका नराम्रा कामको जिम्मेबारी एकोहोरो रुपमा शाहवंशलाई दिएर नयाँ पुस्तालाई नेपाली हुनु अभिशाप हो भन्ने मन्दबिष खुवाईदैछ ।

यस कालखण्डमा राम्रा काम फिटिक्क नै भएनन् केही भएका भए पनि त्यो अरुले नै गरेको भन्ने कुरा पत्याउन युवा पिढी बाध्य छ । यस्ता प्रचारलाई राजा वीरेन्द्रको शासनकालदेखि पुनर्स्थापना भएको दरवार बरिपरीको प्रभावशालीहरुको पर्खालले मलजल गरेको छ ।

शिशु राजा रणबहादुर शाहको पालादेखि बन्न शुरु भएको यो पर्खालले गर्दा नेपालको इतिहासमा हमेशा दाग लगाउने काम गर्‍यो । दुर्भाग्यवश त्यस बेलादेखि नेपालले लगातार शिशु राजा ब्यहोर्नु पर्‍यो ।

राजा सुरेन्द्र युवा भए पनि केटाकेटी अवस्थादेखि नै जंगवहादुर राणाको प्रभावमा थिए । उनले जंगवहादुरको निमित्त आफ्नै बुबा राजा राजेन्द्रलाई थुनामा राख्‍न पनि हिचकिचाएनन ।

युवराज त्रैलोक्यको युवाअवस्थामा मृत्यु भए पछि त एक शताव्दी नै १० बर्ष नपुगेका राजा गद्धिमा बसे ।

राणाहरुको नियन्त्रणमा बाहिरी दुनियासंग सम्पर्क विहिन भएर बस्नु परेका शाहराजाहरु आलंकारिक राजा मात्र थिए । दरवारको त्यो पर्खालले श्री ३को पदवी धारण गरेर आफुलाई बलियो बनाउने मौका भाएको थियो ।

यसलाई राजा त्रिभुवनले केही भत्काउन खोजेका थिए । तर राणाको पर्खाल भत्काए पनि तैयार हुँदै गरेको नयाँ पर्खाल उनले देख्‍न सकेनन ।

वीपी कोईरालाले आफ्नो नीजि सचिव हुन नेहरुसंग मागेर ल्याएको गोविन्द नारायणलाई दरवार घुसाए । भारतलाई नेपालमा नियंत्रणात्मक सल्लाह दिने यो असरदार औजार बन्यो ।

दरवारमा जरा गाडेर नेपालमा फैलदै गरेको यो भारतिय प्रभाव कस्तो थियो भन्ने कुरा वीपीको आत्मवृत्तान्तमा अध्ययन गर्न पाईन्छ । भारतले त दरवार नियन्त्रण गर्न खोजेको वेला परंपरागत पर्खालले टाउको नउठाउने त कुरै भएन ।

तर राजा महेन्द्रले कुशलतापूर्वक मुलुकलाई पर्ने प्रतिकुल असरलाई कम पारेर भारतको फैलदै गरेको पञ्जाबाट मुक्त त गरे नै स्वदेशी पर्खाललाई पनि पुर्ण नियन्त्रणमा राखे ।

सन १७७७मा दुईबर्षे रणबहादुर शाह गद्धिमा बसेको समयदेखि शुरु भएको राजा थपनाको युग राजा महेन्द्रले सन १९९० तिर करिव १८३ बर्ष पछि तोडे ।

यो समयमा १०४ बर्ष राणाहरुले एकलौटी पर्खालको भुमिका निर्वाह गरे पनि बाँकि ७९ बर्ष रानीहरु ,विभिन्न भारदार , खलक र केही हिस्सा राजनीतिकर्मीहरुको भागमा पनि पर्न आउछ ।

तर यसको करिव सोह्र बर्ष अर्थात १९७६ तीर नै राजा विरेन्द्रले फेरी राजा खोपीमा रानी सत्तामाको अबस्था शुरु गरे । महेन्द्रले भत्काएको राजा र जनता विचको पर्खाल फेरी अझ मजवुत भएर आयो । यो परिस्थिति यत्तिसम्म खराव भयो कि राजा त्रिभुवनको साखा सन्तान नै झण्डै समाप्त भएको थियो ।

यस अबस्थामा परिवार समाप्तीको पीडामा केहीले लगाएको लान्छना समेत थापेर राजा ज्ञानेन्द्र सत्तामा बसे । त्यसवेला सर्वसाधारणले सामाजिक जीवन शुरु गरिसकेका ज्ञानेन्द्रले त आफु र राजा विचको पर्खाल छिचोल्लान भन्ने आशा गरेका थिए ।

केही त्यस्ता लक्षण नदेखिएका पनि होईनन् । केही समय शिथिल भएर ढल्ला कि भने जस्तो भएको पर्खाल अझ मजवुत भएर आयो ।

पर्खाल पारीका जनताको ईच्छा चाहनाको गलत अर्थ लगाईयो र एक्कईसौ शताव्दीमा मध्ययुगमा जस्तो जनतामाथी संचार, समाचार सबै बन्द गर्ने काम गराउन यी चाटुकारहरु सफल भए । फलत राजसंस्था ने तारो भयो ।

यो कठिन समयमा साथ दिन त परै जाओस एक वचन सहानुभुतीको समेत निकल्न उनीहरुले सकेनन् । रातारात गणतन्त्रवादी वन्ने वा दुला परेर लुक्ने होड चल्यो ।

यसरी यो पर्खाल आफ्नो स्थानवाट हट्यो । राजाले जनता र जनताले राजा प्रत्यक्ष देख्न पाए । राजतन्त्रलाई आफुले गलहती लगाउदा समेत प्रतिकारको एक शव्द पनि सुन्न नपरेको शक्ति राजतन्त्र पाखा लागेपछि राजाको वरीपरि झुम्मिन पुगेका जनसमुह देखेर छक्क पर्‍यो । राजापरिवारलाई धेरै ठाँउ जानमा रोक लगाईयो ।

रणवहादुर शाह भन्दा पहिलेको आठ बर्षको शाहवंशको प्रत्यक्ष शासन भएको मान्न सकिन्छ । शासन व्यवस्था बदलिंदा त दशकौ संक्रमणकाल मान्नेहरुले एकिकणको लगत्तै पछिका ८ बर्षमा स्थिरता खोज्न सुहाउने कुरा हैन ।

तैपनि जोडिएका बाईसे चौबीसे राज्यहरुका मौलिक परिचयको (पहिचान) सम्मनपूर्वक समिश्रण त्यही कालमा भएको थियो ।

यसैको कारणले आज लिम्वुवान भनेर झण्डा उचाल्ने विदेशमा आफुलाई नेपाली अझ गोर्खाली भन्न गौरव गर्छ ।

प्रविधिकरुपमा पञ्चायतको करिव तीस बर्ष राजाको हातमा शासन भए पनि राजा महेन्द्रको ११ बर्ष र वीरेन्द्रको पहिलो पाँच बर्ष राजाहरुले शासन चलाएको अवस्था हो । तै पनि स्वेच्छाले खोपीको शासन स्विकार गरेकोले तीसबर्षको जवाफदेही राजाहरुमा जान्छ ।

राजका भाईहरुले दाजुको शासनमा रुची लिनु विद्रोह सरह हुन्छ । त्यसैले राजा ज्ञानेन्द्र शासन भन्दा अलग भएर बसेका थिए । उमेरले परिपक्व भए पनि शासनको ज्ञानमा शिशु नै थिए ।

कठिन परिस्थिति सम्हाल्न साथ दिनपर्नेहरु देश इमान्दार हुन सकेनन । तै पनि उनले प्रत्यक्ष शासन गरेको १९ महिना या पुगनपुग २ बर्ष राजाकै जवावदेहितामा जान्छ ।

यसरी पहिलेको ८, पञ्चायतको ३० र पछिल्लो २ गरेर ४० बर्ष नेपालमा शाहवंशको प्रत्यक्ष शासन रह्यो । बाँकी २ सय बर्षको र शरमै पचाएर गणतन्त्र घोषणा पछिको दश बर्षको पनि दोष शाहवंशलाई दिनु कति उचित छ ?

स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७३।१।३
(गोरखा एक्सप्रेस)



लेखकलाई फेसबुकमा फलो गर्न यहाँ थिच्नुहोस्