ब्रेकिङ समाचार

सरकारको हात रोकेको हैन, नपत्याएको मात्र हो


-स्वयम्भुनाथ कार्की
 


बढीमा २०७२ साल माघ ७ सम्म रहने यो सरकारको मधुमास काल समाप्त भई सकेको छ । संविधानले नै संक्रमणकालमा भएको व्यवस्था अनुसार काम गर्न तोकेको सरकारबाट त्यो दिनसम्ममा संविधानले कल्पना गरेको नयाँ नेपालको ढाँचा र शासन प्रणालीमा मुलुक लैजाने प्रयत्न भएको देखिएको छैन ।

न त दैनिक कामकाज अन्तरगतको दायित्व सक्षम शासनले जनताको न्यूनतम बाँच्ने आधारको निमित्त केही काम गरेको देखिएको छ । तर संविधान नाघ्‍ने मनसायको चोर बाटो खोजेर र अयोग्यताको आफ्नो टोली चयन अनि जनताको कष्ट प्रति ध्यान नदिएको अनुभूति गराएर जनविश्वास गुमाउदै छ ।

यो कसैका निमित्त पनि सुखद समाचार हैन , इतिहासमा नै सवैभन्दा खतरामा भएको नेपालमा कोही यो कुराले रमाउन सक्दैन । त्यसमाथि थप जव सरकारका जिम्मेवार निकायमा रहेकाहरु जनताले प्रधानमन्त्रीको कुरामा अविश्वास गरेको कुरामा उग्र प्रतिक्रिया व्यक्त गर्न थाल्छन भने यो भन्दा दुखद अरु के कुरा हुन सक्छ ?

हो प्रधानमन्त्रीका आश्वासनहरु संसार मै नभएको नौलो कुरा थिएनन , तर पत्याउनु नपत्याउनु सार्वभौम जनताको अधिकारको कुरा हो । इतिहासमा जस्तो सरकारद्वारा घोषित योजनाको विरोध त गरेका छैनन , न प्रधानमन्त्रीको परिकल्पनाको विरोध नै गरेका छन ।

सरकारलाई काम गर्नबाट रोक्ने कुनै काम जनताले गरेका छैनन । केवल बोलेको कुरा पुरा गर्न यो सरकारले सक्छ भनेर नपत्याएको मात्र हो । यो नपत्याए वापत जनतालाई गाली गर्न सरकार किन आफ्नो शक्ति लगाई रहेको छ ? ‘चोरको खुट्टा काट’ भन्दा किन खुट्टा तान्दैछ ?

नपत्याउनेलाई मुखभरीको जवाफ त्यो काम पुरा गरेर दिन सकिन्छ भनेर सोच्न नसक्नु अनौठो कुरा हो । यसको सिधा अर्थ हो यो कुरा स्वयं त्यसको प्रतिरक्षा गर्नेले पनि पत्याएका छैनन । आफ्नो झुट उजागर भएकोले तिलमिलाएका छन ।

जनताले नपत्याउनुको कारण प्रधानमन्त्रीले हुनै नसक्ने कुरा गरे भनेर होईन । यो सरकारको अयोग्यता केवल भाषणले मात्र ढाक्न खोजेको ठानेर हो । सरकारको अहिलेसम्मको कामकाजमा देखिएको अयोग्यताले आफ्नो क्षमताले गर्न त के सोच्न समेत नसक्ने काम आँटेको देखेर अविश्वास गरेको हो ।

जो सरकारमा पृथ्वी नारायण शाहलाई आदर्श पुरुष घोषणा गर्ने दल र उनको नामै लिन नमान्ने दल सामेल छ त्यसबाट आशा गर्न सकिन्न । आफै विच यस्तो मतभिन्नता भएको टोलीबाट काम हुन सक्दैन , यो शास्वत सत्य हो ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई ठूलो उपलव्धी मान्ने र यसलाई मुलुकको वर्तमान दुरावस्थाको कारण मान्नेको जमात भएको यो सरकार आफैमा कति दिग्भ्रमित होला भन्ने कल्पना सहज छ ।

महाविनाशकारी भुईचालोले थिलथिलो पारेका जनताको वारेमा नवौ महिनामा वल्ल सोच्ने सरकारलाई जनताले जनउत्तरदायी संझेनन भनेर गुनासो गर्ने ठाँउ छैन ।

महिनौदेखि अभाव र कालावजारीको मारमा पर्दासम्म त्यो हल गर्न भाषण र निष्कर्षहिन वार्ता वाहेक सिन्कोसम्म नभाँचेको सरकारको योग्यतामा जनताले शंका व्यक्त गर्ने अधिकार राख्छन ।

जस्तो भए पनि जे गरे पनि जनताले सरकारको भजन मात्र गाईरहनु पर्दछ भन्ने सोचले नपत्याउने जनतालाई गाली गर्ने समुह जनताका हितैषी हुनै सक्दैनन । कुनै आलोचनाले वा अविश्वासले सरकारले गर्न खोजेको कुनै काममा बाधा परेको भए त्यो प्रष्ट भन्न सक्नु पर्छ ।

त्यही जनताको रगत पसिनाको कमाईबाट तिरिएको करले संकलित राजश्व खर्च गरेर तिनैलाई गाली गर्न बन्द गरेर काम पुरा देखाउने चुनौती स्विकार गर्नु पर्दछ ।

अविश्वास गर्ने जनतालाई सक्ने भए बरु यो सरकारले मधुमास कालमा जनताको यो यो कष्ट निवारण गर्‍यो भनेर देखाए त्यो न्यूनतम भए पनि सदुपयोग हुन्छ ।

मन्त्रीमण्डलमा आपसी सहयोग छ र सहकार्य छ भन्ने कुराको उदाहरण पेश गरेमा राम्रो हुन्छ । संसारमा कही पनि जनतालाई र विरोधीलाई गाली गर्ने सरकारको भलो भएको उदाहरण छैन । नेपाल पनि यसको अपवाद हुँदैन ।

अर्को डरलाग्दो शंका प्रधानमन्त्री वली माथी पैदा भएको छ । त्यो हो सरकारको नेतृत्व गर्ने उनको शाररिक र मानसिक क्षमता ।

सबैलाई थाहा भएको कुरा हो उनको मृगौलाको प्रत्यारोपण भएको छ । अंग प्रत्यारोपणबाट सामान्य स्थितिमा आउन लामो समय लाग्छ । प्रतिरोपित अंग र शरिर बीच द्वन्द चलिरहेको हुन्छ ।

यो अवस्थालाई नियन्त्रणमा राख्‍न चिकित्सकहरुले बहुदा विषेश दवाईहरु सेवन गराउने गर्दछन । यस्ता दवाईहरु स्टेरोइड र लागु औषध प्रवृत्तिका हुन्छन भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

के वलीले त्यो दवाई सेवन गर्नुपर्ने अवस्था पार गरेका छन वा त्यस्ता दवाई सेवन जारी छ ? यो एक अहम प्रश्न हो ।

यस्ता दवाइहरुको काम नै रोगीलाई स्वप्नलोक महशुस गराउनु हो कल्पनाको उडानमा राखेर शरिरमा अंगहरुको बीच समन्वय कायम गराउनु हो । स्टेरोईडले शरिरलाई क्षमता भन्दा वढी काम गराई दिन्छ त्यसैले खेलाडीहरुमा स्टेरोईड प्रयोग वर्जित गरिएको छ ।

लागु औषधीले मानसिक भ्रम पैदा गर्ने , छिनछिनमा स्वभाव परिवर्तन गर्ने काम गर्दछ । यो एक उद्वेलित र उत्तेजित मानसिक अवस्था हो जो दवाई सेवनको केही समय कायम रहन्छ ।
त्यसैले मुलुक हाँक्न जिम्मा दिएको वलीको शाररिक र मानसिक स्वास्थ कस्तो छ त्यो जनताले जान्न पाउनु पर्दछ ।

स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।१०।४

(गोरखा एक्सप्रेस)