प्रथम राणा प्रधानमन्त्री जंग बहादुरको तलव
 -प्रवीण अधिकारी
-प्रवीण अधिकारीनेपाली समाजमा जंग वहादुर ,उनको शैलीको कारण ज्यादै चर्चित हुन पुगेको नाउँ हो ! आधुनिक विद्वान हरुले उनलाई पटमुर्ख भनेर औंल्याउछन् ! वुढाबुढिहरु उनलाई लहडी र आँटी भन्थे ! अहिलेका राजनीतिज्ञहरु उनलाई हेय दृष्टिले हेर्छन ! भलै उनले पारिवारिक शासन शैलीको स्थापना गरेका हुन तर म उनलाई न.एक राष्ट्रवादी देख्छु ! आखिर किन त् ? यसको एउटै कारण हो एउटा देशको प्रधानमन्त्री जस्तो व्यक्ति आफै लडाइमा सामेल भै अर्काकोलागि लडेर सुगौली सन्धिमा गुमेको लगभग १६०० हजार बर्गमाइल जमिन फिर्ता लिएर आए ! उनले मुलुकबाट कति फ़ाइदालुटे त्यो इतिहाँसमा सुरक्षित होला तर तिनका नातिपनाती आजको दिनमा रिक्सा चलाएर , अर्काको खेतबारीमा मजदुरी गरेर खादैछन् !
को हुन त् जंग बहादुरका पूर्वज ?
१८ औं शताव्दीदेखि २१ सौं शताव्दी सम्म नेपालको राजनैतिक इतिहाँसमा अविच्छिन्न रुपमा सक्रिय देखिएको कुँवर बंश पनि हो ! यस बंशका पहिलो पुस्ताका नाम उदयपुर चिटौढ (भारत)का महाराणाप्रतापको वंशज फकत सिंह जो राजा राम शाहको समयमा गोर्खा दरवार संग गासिन पुगेका थिए ! इनको वंशा वली यस्तो थियो - फकत सिंह - अभय् सिंह -अहिराम कुँवर - रामकृष्ण कुँवर - रणजित कुँवर -वालनरसिंह कुँवर र् जँग बहादुर ! जसले नेपाल राष्ट्रको एकिकरणको तानाबाना बुनि बलियो र सक्षम नेपाल बनाउन शाहवंशलाई सघायो भने त्यै कुँवर बंश वृक्षका अहिराम कुँवरका पनाति जय कृष्ण कुँवरका नाति चन्द्रवीर कुँवरका छोराहरु हुन् बल भद्र कुँवर र वीर भद्र कुँवर ! जंग बहादुरका मावली पट्टि मामा माथवर सिंह , मावली हजुर्वा नयन सिंह थापा (भीमसेन थापाका भाई) बुढा हजुर्वा थिए सङ काजी अमर सिंह थापा ! बृद्ध बुढा महाराज नर भूपाल शाहदेखि नेपाल निर्माणमा अहिराम सिंह र उनका ३ भाई छोराहरुको बिशेष योगदान थियो ! रामकृष्ण कुँवरको बुढा महाराज पृथ्वी संग बि.स. १८३१ /३२ सम्म गतिलो साथ् रह्यो ! त्यसपछि वाल नरसिंह कुँवर , जंग बहादुर कुँवर हुँदै प्रधानमन्त्री मोहन शमशेरका , विजय शमशेर ,पशुपति शमशेर अद्द्याबधी नेपालको राजनीतिमा सक्रिय छन् !
जंग बहादुरको परिचय
धेरै मान्छेहरुको नजरमा जंगबहादुर राणा नायक होइनन , यिनी खलनायक हुन ! महत्वाकांक्षी भएकाले राजारानी र दरवारलाई खोपी भित्र राख्ने चातुर्यता देखाएर १०४ बर्ष पारिवारिक राज्य चलाए ! रास्ट्रीयताको सवालमा यी दृढ थिए ! राजा राम शाहको पालादेखि इनका वराजुहरु अहिराम कुँवर गोरखा दरवारको ज्यादै नजिक थिए ! त्यै सम्बन्धको कारण जंग बहादुर निरक्षर भएपनि पारिवारिक सम्बन्धको कारण दरवारको नजिक र चल्तापूर्जा हुन पुगे !
जंगबहादुरले सुबेदार पदबाट शैनिक सेवामा प्रवेश पाएका थिए ! विसं १८८६ मा श्रीजंग पल्टनको सुबेदार हुँदा उनी १३ वर्षका थिए ! सिनास जर्नल (वर्ष २६, अंक १:१६३-१७०)मा गंगा खरेलले प्रकाशित गरेको ‘जंगबहादुर राणाको जीवनी र कृतिसँग सम्बद्ध टिपोट' अनुसार उनी १८९५मा कुम्भेदान, १८९७ मा कप्तान र १८९८ मा काजी भए ! बीचमा वि.स. १८९२ र १८९६ मा जंग बहादुर जागिर खोसिएर ढाक्रे पनि भए ! उनी एकातिर ढाक्रे हुनु र त्यही बेला जुवाको लतले आर्थिक अवस्था नाजुक हालतमा पुग्दा पैसा कमाउन उनि हात्तीखेदा समेत भए !! तर आफ्नो चातुर्य र साहशले यिनले सबै चुनौती सामना गर्दै अन्तमा आफ्नै चाटूर्यले आफ्नै मामा प्रधानमन्त्री माथवरसिंह थापाको १९०२ वैशाखमा हत्या , १९०३ भाद्रको ३१को कोतपर्व र सोही साल कात्तिक २७ गते भण्डारखाल पर्व मच्चाउदै विरोधी दलका सदस्यलाई सखाप पारी १९०३ आश्विन बदि १३ रोज ४ मा राजा राजेन्द्रबाट मुख्तियारी पाई जंगबहादुर कमान्डर इन चिफ हुनपुगेका थिए ! उनले राज्यलक्ष्मीको रणेन्द्रलाई युवराज बनाउनु त के उनैले राजा राजेन्द्र र रानी राज्यलक्ष्मीको १९०३ मंसिर १० गते काशीयात्रा गराए (पूर्णिमा, पूर्णांक २७:१७६ र १७७)।
जंगबहादुर तीनडोरे जनै लगाउँथे भने चौतरिया खलक ६ डोरे जनै लगाउने र धोतीपाटा फेरेर भात खान्थे ! यसबाट सामाजिक समस्यामा परेका जंगले आफ्नो कुल पुर्खाको नाम उदयपुर (भारत)का महाराणाप्रतापको वंशवृक्षमा पारे !यसरी आफ्नो नामथर कँबर वा कुँवर नभएर राणा भएको प्रमाणित गराएर उनी उच्च घरानाको झर्रा क्षत्री हुन् पुगे !अनि उनको प्रशस्ती हुन पुग्यो श्री मद्राजकुमारात्मज राणाजी !- इतिहासकार ज्ञानमणि नेपाल (हिमाल, पुस २०-२६, २०७१)। उनले राणाजीको पद्वी र रजपुतसँग विवाहको अधिकारको लालमोहर १९०५ को जेठ बदी २ मा लिएका थिए ! (पूर्णिमा पूर्णांक २७:१७७) ! एक सय चार वर्ष लामो राणा शासनमा उनैले मात्र ३० वर्ष लामो शासन चलाए ! जंगबहादुरकी रानी मात्र ४०/५० ओटी थिए ! निरंकुशताका प्रतीक जंगबहादुरले सैन्य संगठन र युद्धकौशलमा आफ्नो खुबी देखाएर भोट विजय गरे ! नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता ल्याए !
जंगबहादुरको तलब
श्री ५ लाई खोपाको देवता बनाएर श्री ३ धारण गरी राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका जंगबहादुरको तलबचाहिँ कति थियो त ? हामी आम नेपालीहरुको जिज्ञाशाको विषय हो ! ( हेर्नुहोस अन्वेषक महेशचन्द्र रेग्मीको सम्पादनमा रेग्मी रिसर्च सेन्टरले सञ्चालन गरेको रेग्मी रिसर्च सेरिज (वर्ष ८, अंक १:१६-१९)मा ‘दी राणा एलिट' शीर्षकमा जंगबहादुरलगायत उनका भाइहरू, त्यस बेलाका गुरुपुरोहित र सेनाका अधिकारीहरूले पाउने वार्षिक खान्गी (तलब)को विवरण यस प्रकार दिइएको छ ! यो तलबमान विसं १९१० को हो)
जंगबहादुरलगायत केही राणाहरुको वार्षिक तलबमान यसप्रकार रहेको थियो :
प्रधानमन्त्री जंगबहादुर कुँवर राणा रु. ८३,६२०/'
कमान्डर इन् चिफ बमबहादुर कुँवर राणा रु. ३२,६१३/'
जनरल कृष्णबहादुर कुँवर राणा रु. २२,०७२/'
जनरल रणोद्वीप सिंह कुँवर राणा रु. २२,४१०/'
जनरल जगतशमशेर कुँवर राणा- रु. २१,०९७/'
जनरल धीरशमशेर कुँवर राणा- रु. २१,८५३/'
जनरल (कपर्दार) भक्तवीर कुँवर राणा- रु. १९,००१/
'त्यो समय जंगबहादुरका छोरा जगतजंग कर्णेल थिए ! उनले बुझ्ने गरेको वार्षिक तलब रु. १६,७१२/' रुपैयाँ थियो ! यस्तै जंगका छोराहरूमध्ये कर्णेल भीमजंगले रु. ८,५६७/' र कर्णेल जितजंगले रु. ९०००/' वार्षिक तलब बुझ्ने गरेको देखिन्छ ! यस्तै कप्तान फत्तेजंग र बबरजंग दुवैको रु. ५००१/' तलब थियो ! भाइ कर्णेलहरूमध्ये कृष्णध्वज कुँवर राणाको रु. ७,९५९÷', खड्गबहादुर कुँबर राणाको रु. ७,७९३÷' र पृथ्वीध्वज कुँवर राणाको रु. ७,१२९÷' तलब रहेको थियो !
यस रिसर्च सेरिजमा प्रधानमन्त्रीदेखि कप्तान दर्जासम्मका तलब बुझ्ने राणा परिवारका १७ जना सदस्यको नाम र तलबमान दिइएको छ ! त्यस बेला विभिन्न पल्टनमा रहेर कप्तानदेखि जमदारसम्मका थप अन्य २२ जना कुँबर राणाको नामावली दिइए पनि उनीहरूका लागि तोकिएको तलबमान भने खुलाइएको छैन ! त्यतिखेर सेनाका अफिसरहरूका रूपमा रहेका थापा र बस्न्यात काजीहरूको वार्षिक तलबमान सो समयको पैसाको मूल्यअनुसार उल्लेख्य देखिए पनि राणाहरूको तुलनामा धेरै कम छ। त्यस बेला थापा र बस्न्यात काजीहरूले वार्षिक रु. ६,४००÷' तलब बुझ्थे ! गुरुराज पण्डित धर्माधिकार विजयराज पण्डितको रु. ४,५००÷', गुरु नगेन्द्रराज पण्डितको रु. ४,०००÷' र गुरु पुरोहित रु. तीर्थराज पण्डितको रु. ३,०००÷' तलब रहेको उक्त रिसर्च सेरिजमा उल्लेख छ !
जंगबहादुर विसं १९०२ मा काजी भएका थिए भने १९०३ मा प्रधानमन्त्री नियुक्त भएका हुन् ! उनी काजी र प्रधानमन्त्री नियुक्त हुँदा तत्कालीन राजा राजेन्द्रविक्रम शाहले जारी गरेको नियुक्तिपत्र पनि रेग्मी रिसर्च सेरिज (वर्ष ३ अंक १ : २४ र २५)मा प्रकाशित गरिएको छ ! उनलाई विसं १९०२ पुस सुदि ४ मा काजी पदमा नियुक्त गरिँदा एक हजार एक सय ६० मुरीको खेत र रु. ३,५००' वार्षिक तलब तोकिएको थियो ! कोतपर्वपछि शक्तिशाली बनेका उनलाई प्रधानमन्त्री, कमान्डर इन चिफ र जनरलको जिम्मेवारीसहित विसं १९०३ मार्ग वदि १० मा मुख्तियार नियुक्त गरियो ! त्यस बेला उनको तलब रु. १२,४०१÷' तोकिएको थियो ! दुवै नियुक्तिपत्रमा युद्ध र अन्य अवसरमा सुविधामा पुनर्विचार गरिने सर्तसमेत राखिएको छ !त्यो तलबको वर्तमान मूल्य रेग्मी रिसर्च सेरिज ( वर्ष ८, अंक १: १९)मा सन् १८५२ (विसं १९०८)को समयको अत्यावश्यक खाद्य वस्तुको मूल्यदर पनि प्रकाशमा ल्याइएको छ !
त्यतिखेर खाद्य सामग्रीको मूल्य
त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो ! यस्तै एक रुपैयाँ मार्सी चामल ३० माना, तौली चामल ३२ माना, रहरको दाल १४ माना, मासको दाल २० माना र मुगी दाल १२ माना किन्न पाइन्थ्यो ! एक रुपैयाँको एक धार्नी घ्यू किन्न पाइन्थ्यो ! इतिहासकार प्राध्यापक दिनेशराज पन्तका अनुसार राणाकालमा नेपाली रुपैयाँ र भारतीय रुपैयाँको मूल्य बराबर थियो र कुनै बेला भारतीय रुपैयाँभन्दा नेपाली रुपैयाँ महँगो पनि भएको थियो ! त्यस बेलाको रुपैयाँ मोहर चाँदीको हुन्थ्यो !
जंगबहादुरका सन्तान विसं १९४२ मा उनैका कान्छा भाइ धीरशमशेरका छोराहरूले मच्चाएको पर्वमा कोही सखाप भए त कोही लाखापाखा भए ! उनका सन्तान आज सार्वजनिक परिचयविहीन हुन पुगेका छन् ! हरेक वर्ष सरकार र उनका सन्तानले छुट्टाछुट्टै त्रिपुरेश्वरको कालमोचन घाटमा जंगबहादुरको श्राद्ध गर्ने गर्छन् ! जंगबहादुरको विसं १९३३ फागुन सुदि १२ मा सिकारमा जाँदा पत्थरघट्टामा मृत्यु भएको थियो !
(श्रोत सामाग्रीहरु : महेश्वर पन्त , ज्ञानमणि नेपाल, वावुराम आचार्य , राजकुमार दिक्पाल ,जंगबहादुरको वंशावली)
 

 
 
 
 
 
 
 
 
 
 
 
