ब्रेकिङ समाचार

“टुल्की”

- सीता पौडेल
 
    समयलाई पछ्याउँदै समयकै रफ्तारमा हिंड्न रुचाउँने टुल्की सानैदेखि लगनशील, ज्ञानी अनि साहसी थिई । “संघर्ष नै जीवन हो” भन्ने सोच लिएकी टुल्की कहिल्यै विचलित हुन जानिन । “हुने विरुवाको चिल्लो पात” भने झैँ टुल्कीमा पनि ती सबै गुणहरु सम्मिलित थिए जसले यो भनाइलाई सार्थक पाथ्र्यो । अहिले खाए भरे के खाने भन्ने जस्तो अति नै दयनीय अवस्थाले घेरेको गरीब परिवारमा जन्मेकी थिइ ऊ । एउटा दुर्गम गाउँ जहाँ टुल्की आफ्नो गरीब आमा–बाबु र सानी बहिनीसंग आफ्ना दिनहरु बिताइरहेकी थिई ।

    आफैंमा मेहनती अनि प्रभावशाली टुल्कीमा दुरदर्शिता पनि थियो । हरेक कामलाई समय मै सकाएर आमालाई पनि सघाउँथी टुल्की । हरेक समस्यालाई हाँसेर स्विकार्नु र समाधानको बाटो खोज्नु उसकोलागी कुनै अनौठो थिएन बरु ऊ उत्साहित हुन्थी हरेक यस्ता समस्यालाई अंगाल्न तर, समय सधैं कहाँ एकनासको हुन्थ्यो र ¤ “हुनेहार दैव नटार” भने झैं एकदिन अचानक उसको बाबु ह्दयघातको शिकार बन्न पुगे जस्को कारणले त्यो परिवारमा ठुलै बज्रपात भयो । स्कुले जीवन पबि नसकाएकी टुल्की यो घटनाको कारणले निकै नै विक्षिप्त हुन पुगी उ केही सोच्न सक्ने अवस्थामा थिइन ।

    विस्तारै केही वर्ष बितेपछि ऊ फेरि पहिलाको अवस्थामा आउन थाली । अब त झन् ऊ माथि झन् धेरै भार थपिएको थियो उसले धेरै कोशिश गरि आफ्नो पढाईलाई निरन्तरता दिन तर उ असफल भइ अनी उसले मनमनै ठानी मैले पढ्न नसके पनि म बहिनीलाई पढाएर मेरो इच्छा पूरा गर्छु अनि ऊ दिनरात मेहनत गर्न थाली तर पनि उसले सोचेको गर्न सकेकी थिइन् । उ अतिनै आतुर थिई आफ्नो परिवारको जीवनमा राम्रो परिवर्तन ल्याउन, यसै क्रममा एकदिन कसैबाट उसले सुनी कि धेरै नेपाली दिदीबहिनीहरु आफ्नो परिवारलाई केही हदसम्म भए पनि सुचारुरुपले जीवनशैलीलाई सुखद बनाउन विदेशीएका छन् भनेर । त्यसपछि उसमा पनि विदेशीने चाहना पलाएर आयो ।

    आखिर यताउताको सोधखोजले उसलाई सम्पूर्ण जानकारी प्राप्त भयो र उसले आमाको सहयोगबाट पैसाको जोरजाम गरि र कलिलै उमेरमा विदेशीनुको पीडालाई मन भित्रै दबाएर राखी । असहमत हुँदाहुँदै पनि आमाले सहमति जनाउन कर लाग्यो । आखिर त्यो समय पनि आई पुग्यो जुनदिन टुल्कीले घर छोड्नु थियो । मन रोये पनि हाँसेर विदा हुनु पर्ने । आमाले टीका लगाएर विदा गर्नु भयो । टुल्की पनि हिंडि पर पुगे पछि मन दरो बनाएर एकपटक आफ्नो प्यारो गाउँ, घर, आमा र बहिनिलाई फर्केर हेरी ।

    एक साता पछि म काममा आई पुगें भन्ने खबर उसले गाउँकै एकजना मास्टरको मार्फत दिई र उनै मास्टरबाट बेलाबखतमा टुल्कीको खबर आमाले पाउने गर्थिन । यसरी दिनहरु बितिरहेका थिए । घरायसी समस्यामा पनि सुधार आउन थालेको थियो विस्तारै रिन तिरन तारनको काम हुँदै थियो । आमा सोचीरहेकी थिइन साँच्चै नै विदेश गएर छोरीले राम्रो गरि हाम्रा दिन त फिरे, तर बिचरी ती आमालाई के थाहा कि टुल्कीका दिनहरु कति कष्टप्रद छ भन्ने कुरा ।

    बिहान उठे देखि बिना विश्राम टुल्की रातीको एघार बाह्र बजेसम्म काममा खटिइरहन्थी । अलिकति गल्ती के भयो मानौं पहाड नै खसे जस्तो गथ्र्यो मालिकले भने मालिक्नी यसो सहानुभूति जनाए झैं गर्थी । काम सकेर जब टुल्की सुत्न जान्थी तब उ आफ्नो भाग्यलाई सम्झेर रुन्थी अनि आफ्ना आमा र बहिनीको बारेमा सोच्दा फेरि आफ्नो मनलाई बलियो पार्थी र मनलाई सान्त्वना दिंदै भन्थी अब केही समय त हो म छुट्टीमा घर गएर आमा र बहिनीको त्यो हँसिलो मुहार हेर्छु जुन मेरो सपना हो उनीहरुलाई खुशी राख्नु । कम उमेरमै परिपक्व भएकी टुल्की यस्तै यस्तै कुरा सम्झिंदै आफुलाई बलियो बनाइ रहेकी थिई । फोनबाट आमा र बहिनीसँग कुरा गर्दा उनीहरु खुशी भएको महसुस उनीहरुको कुराहरुबाट पाउँथी र आँखाबाट आँसु झार्दै भगवानलाई धन्यवाद भन्थी ।

    लगभग लगभग टुल्कीको घर जाने दिन नजिकिन थाल्यो उ उत्साहित देखिन्थी, हल्का किनमेल पनि सुरु गरि सकेकी थिइ । एकदिन यस्तै किनमेल गर्ने क्रममा किनमेल सकाएर घर फर्किदै गर्दा बाटोमा अचानक उसलाई कसैले पछाडीबाट प्रहार गर्यो ऊ त्यही अचेत भएर लडि । जब उसको होश आयो तब उसले आफुलाई अस्पतालमा पाई । त्यहाँ उसले थाहा पाई कि उसको बलात्कार भएको रहेछ, ऊ पागल जस्तै चिच्याउन थाली र आफैंलाई पिट्न चिथोर्न थाली ऊ आफैंसँग लज्जित थिई बलात्कृत भएकोमा । ऊ पीडित थिइ अब कस्ले बुझ्ला उसको पीडा भनेर । के गरीब हुनु अभिशाप हो र ? मेरो गरिबीले मलाई यहाँ सम्म पुर्‍यायो त्यति मात्र नभएर मेरो आत्मविश्वासको खिल्ली उडाउँदै कुनै पराइले मलाई नै लुट्यो भन्दै विलौना गर्न थाली ।


  आखिर त्यो दिन पनि आयो जुनदिनको लागि ऊ अति नै उत्साहित थिई तर आज ..... चाहँदा नचाहँदै पनि ऊ भारी मन लिएर स्वदेशको लागि प्रस्थान गरि । जब घर आइ पुगी आमा र बहिनी उसैलाई पर्खी रहेको पाई अनि आमाको अँगालोमा बाँधीएर रुनु सम्म रोइ उसले आफुले भोगेको त्यो दर्दनाक पीडा लुकाउन खोज्दा खोज्दै पनि भन्न पुगि आमा म लुटिए । कसिएको अँगालोलाई खुकुलो पार्दै आमाले टुल्कीको आँखामा हेरिन त्यहाँ उनले मिलनको खुसीमा बगेको आँसु होइन एउटा अथाह पिडा देखिन जसले गुहार मागी रहेको थियो । गरिबीको विवशतामा ओडिएको घुम्टो आज उदाङ्गिएको छ । समय र भाग्यले कर्मलाई जितेर एउटा नराम्रो मजाक गर्याे टुल्कीसंग । समुद्रको छाल जस्तै हुत्तिएझैं उसका सारा सपनाहरुलाई उडाइदिएको छ समयको हुरीले ।



क्राइम चेक साप्ताहिकमा २०७३ साउन ०६ गते प्रकाशित