ब्रेकिङ समाचार

आफ्नो बुद्धि र विवेक कहिले प्रयोग गर्ने ?

– स्वयम्भुनाथ कार्की

राजा महेन्द्रले नेपालीलाई सही अर्थमा जनता बनाउन चाहेका थिए । त्यसैले उनले लागु गरेको व्यस्थामा “गुण र दोषको आधारमा समर्थन वा विरोध” प्रमुख थियो । जनता निर्भिक बनुन भन्ने सोचले “नबिराउनु नडराउनु” भन्थे । आफ्नो मनमा लागेको कुरा निर्धक्क अभिव्यक्त होस भनेर भनेका थिए “आफ्नो ब्रम्हले देखेको कुरा व्यक्त गरिदिए त्यो मुलुकको ठूलो सेवा हुनेछ” । आव्हान गर्दथे “तिम्रै हो नागरिक हक , लेउ काँधमा काँधै गरी” । उनको यो सपना पुरा हुन सकेन, किन र को दोषी छ भन्ने वहस निरर्थक छ ।

वर्तमानमा आफ्नो बुद्धि विवेक प्रयोग गर्न कन्जुसी गरेर कसैको होहोरेमा लाग्नेहरुको बाहुल्यता छ । शायद राजा महेन्द्रको मृत्यु पछिका झण्डै ४५ वर्षमा पनि नेपाली जनता उनले बनाउन खोजेको सार्वभौम जनता बन्न तैयार छैनन् । कुनै पनि क्षेत्रमा चलेको हल्लाको भरमा दौड्ने स्वभाव नेपाली जनता छोड्न चाहान्नन् । समय भन्दा धेरै पहिले नै विवेकशिल जनता बनाउन खोजेर उनले गल्ती त गरेका थिएनन् ? अहम प्रश्न छ । उनको मृत्युको झण्डै आधा शताव्दी पछि पनि जनताको प्रवृति स्वेच्छाले हमेशा भेडा रहन चाहाने रहेको छ । आफ्नाको भक्ति गान र अर्काको निन्दा गान गाउने प्रवृतिको उदाहरण खोज्नै पर्दैन । उदाहरणहरु पन्छाउन नसकिने गरेर लगातार सामुन्ने आई रहेका छन् ।

कुनै नेपाली नायिकाले आत्महत्या गरिन, किनभने कुनै पत्रिकाले उनको नग्न तस्विर छाप्यो । ज्योति मगरको छोटो पहिरनबाट आधा देखिएको तिघ्रा र स्तनको विरोध गरियो । हो सम्यताको त्यो मान्यता होला र सभ्यताको पहरेदार बनेर गाली गरियो होला । तर, त्यही पहरेदारहरु अश्लिल चित्रपटकी नायिका सन्नी लियोनीको स्वागतमा र प्रशंसामा लाग्दा विचित्र लाग्दैन र ? अझ राष्ट्रिय भनिएका संचारमाध्यमहरुमा सन्नी लियोनी नेपाल आउनुलाई ठूलो र गौरवपूर्ण कुराको रुपमा आउँछ । ज्योतिको तिघ्रा र स्तनको आंशिक प्रर्दशनले नेपाली सभ्यता भत्केको देख्नेहरु सन्नीको स्वागतमा दौडन्छन्, खै विवेकको प्रयोग ?

कुनै दुई दलहरु जब जोडिने प्रकृयामा लाग्छन्, दुवैका सदस्यहरु एक अर्काको प्रशंसामा युद्ध स्तरमा लाग्छन् । जब त्यो प्रयत्न असफल हुन्छ तिनै मुखहरु एक अर्काको उछित्तो काढ्न लाग्छन् । खै आफ्नो बुद्धि र विवेकको प्रयोग ? अर्काले जे अह्रायो त्यही गर्न त जनावरले पनि सजिलै मान्दैन, मान्छे त सर्वश्रेष्ठ प्राणी हो । फेरी यो दासत्व किन स्विकार गर्दछ ? एउटा सांसदको खोईरो खनेर नथाक्ने मुख जब त्यही सांसद सामुन्ने पर्दछ घनुष्टंकार नमस्कारमा झुक्छ, किन ? त्यो सांसदले आफ्नो वराजुको सम्पत्ति जस्तै मनपर्दी खर्च गर्न पाउने जनताको पैसाबाट बनेको सांसद कोषबाट केही पाउन हैन र ?

पञ्चायतकालमा शिक्षक, कर्मचारी आदिले सकृय राजनीति गर्न हुँदैन भनियो । त्यसलाई अन्याय भनेर तिव्र विरोध गर्नेहरु आज त्यही कुरा सही मान्दैछन् । पञ्चायतमा संचारमाध्यमहरु मर्यादित र जिम्मेवार हुनु पर्दछ भनियो । यसलाई वैचारिक तथा अभिव्यक्ति स्वतन्त्रता माथि प्रहार मानियो । वर्तमानमा सरकार त्यही मर्यादित र जिम्मेवार बनाउने कानुन लागु गर्दैछ । पत्रकारहरुको योग्यताको पुनर्परिक्षण गर्ने तैयारीमा छ । स्थानिय निर्वाचित संरचनाहरुलाई पञ्चायतले स्थानिय सरकार बनायो, सकेसम्म अधिकार र श्रोतको विकेन्द्रीकरणको शुरुवात गर्‍यो । हिजो त्यसको विरोध गर्ने मुखहरु आज त्यही मागेर रगतको होली खेल्दैछन् ।

पञ्चतयतले चार हजारको हाराहारी स्थानीय संरचना र चालिस हजारको हाराहारी उपसंरचना थेग्न सक्यो । तर वर्तमानमा मुलुक भरी हजार पनि थेग्न नसक्ने कुरा आउँदैछ तै पनि दोष भने पञ्चायतलाई नै छ । जनताको प्रतिनिधि जनतकै बीचबाट आउनु पर्ने हो । तर नचिनेको र बाहिरको व्यक्तिलाई पनि चुन्नै पर्ने बाध्यता जनताको सम्मान हो कि अपमान खै सोचेको ? गाँउका सार्वजनिक कुराहरुको सञ्चालन गर्न त्यही गाँउकाले चुनेको पञ्चायतको जिम्मा ठिक कि दलहरुले टिका लगाएर बक्सेकाहरुको जिम्मा ठिक ? यो कुराको जवाफ वर्तमानको स्थानिय श्रोतमा स्थानीयको अधिकार भन्ने मागको परिपेक्षमा खोज्नु पर्दछ । नत्र निम रोपेर आँपको फल खोजे जस्तो हुन्छ ।

सरकार अस्थिर भयो भनेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख खोजिदैछ ।  सोच्न पर्ने कुरा के छ भने के प्रत्यक्ष कार्यकारी प्रमुख कुनै विस्तारवादी मुलुकको प्रभावमा आउन सक्दैन र ? यदि त्यस्तो भयो भने त्यसलाई नियन्त्रण कसले गर्दछ ? कुनै एक व्यक्ति वा केही व्यक्तिको समुह मुलुकमा हावी हुँदा के हुन सक्छ भन्ने अनुभवलाई ध्यान नदिनेहरुले “लेण्डुप दोर्जे”लाई गाली गर्ने अधिकार स्वत: गुमाउँछन् । कुनै एक तत्वको आधारमा मात्र निस्केको होहोरेमा सामेल हुँदा त्यो प्रत्युत्पादक हुन सक्छ । “जता भत्क्यो त्यता दैलो” भन्नु भन्दा आफ्नो बुद्धि र विवेक प्रयोग गर्नु श्रेयष्कर हुन्छ ।

हिजो बन्द, हडताल, तोडफोड आदिको सहारामा नेपाल अस्थिर हुने गरेर निरन्तर व्यवस्था परिवर्तन गर्न लाग्नेहरु आज त्यसैको विरोधमा लागेका छन् । यस्ता कार्य हिजो पनि ठिक थिएनन्, आज पनि छैनन् र भोली पनि हुने छैनन् । तर त्यसको निमित्त हिजो त्यो गरेर आफुले गलती गरेको पश्चाताप आवश्यक हुन्छ र मात्र आज विरोध गर्न पाईन्छ । आज आफुलाई मन परेको कुराको अरुले विरोध गर्न पाईन्न भन्ने हो भने समयचक्रले आज तिनै बन्द विरोध गर्नेहरु भोली सडकमा टायर बाल्न उद्यत हुनेछन् । हो रत्नाकर बाल्मिकी हुन सक्छन, तर बाल्मिकी भैसकेपछि उनमा फेरी रत्नाकरको छाँया देखिएन । रत्नाकरको मुखमा बाल्मिकीको मुकुण्डो लगाएर स्वाङ गर्नेहरुलाई चिन्ने बुद्धि र विवेक सबैमा छ तर खै त्यसको प्रयोग ?
विराटनगर– १

क्राइमचेक साप्ताहिकमा २०७३ भदौ २ गते बिहीवार प्रकाशित