ब्रेकिङ समाचार

प्रधानमन्त्री प्रचण्डलाई चुनौती र अवसर

–उमेश साह कानु

बलिदानीपूर्ण सशस्त्र जनयुद्धबाट स्थापित देश र जनताको सर्वोत्तम हित गरौं भन्ने दृढ अठोट लिएका क्रान्तिकारी पार्टी नेकपा माओवादी केन्द्रका  अध्यक्ष नेपालको ३९ औं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामु धेरै चुनौती र अवसर छ । चुनौतीलाई अवसरमा परिणत गर्ने प्रशस्त ठाउँ प्रचण्डलाई मिलेको छ । अब पनि प्रचण्डले आफ्नो कार्यकुशलता प्रदर्शन गर्न सकेनन् भने जीवनमा कहिले पनि देखाउन सक्दैनन् र एउटा असफल प्रधानमन्त्रीका रुपमा प्रमाणित हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डसँग नेपाली जनताहरूले कुरा कम, ठोस् काम बढी खोजेका छन् । अब पनि देश र जनताका हितमा अनिवार्य रुपमा गर्नुपर्ने वाञ्छनीय कार्यहरू ठोस रुपमा प्रचण्डले गर्न सकेनन् भने त्यो नेपाल र नेपालीकैलागि दुर्भाग्य हुनेछ ।

स्वाभाविक रुपमा चुनौतीको पहाड उभिएको छ । चुनौतीलाई सामना गर्न प्रचण्डलाई समय र भाग्यले साथ दिएको छ । नेपाली जनता सबैको साथ र समर्थन छ । अहिले पनि नगरे कहिले गर्ने ? सत्तामा पुग्न अस्वभाविक सत्ता बाँडफाँडको सम्झौता भएको छ । नै महिनाको अवधिमा कति पनि ढिलाई नगरीकन आफ्नो पदीय जिम्मेवारी प्रचण्डले पूरा गर्न सके भने उहाँले निश्चित रुपमा वाह ¤ वाह ¤ लुट्नु हुनेछ । कार्यतालिका बनाएर प्राथमिकताका साथ एक पछि अर्को चुनौती हल गर्ने अठोट लिएमा प्रचण्डका लागि असंभव केही छैन । आँट देखाएमा, आफ्नो गलत सत्ता स्वार्थलाई तिलाञ्जली दिने हो भने प्रचण्डले देखा परेका साना देखि ठूला समस्या र चुनौती हल गर्न सक्दछन् । ‘खाने मुखलाई जुँगाले छेक्न सक्दैन भनेजस्तै काम गर्ने व्यक्तिले सबै बाधा, अडकाउ फुकाएर सबैलाई एकसाथ लिएर देश र जनताप्रति गर्नुपर्ने सबै कर्तव्य पूरा गर्न सक्दछ । विगतदेखि चल्दै आएका राम्रा काम कुरोलाई अंगाल्ने, नराम्रा काम कुरोलाई प्रचण्डले औंल्याउनु पर्दछ । ठोस काम कुरोमा ध्यान केन्द्रित गर्नु पर्दछ ।

मधेशकेन्द्रित दलहरूलाई दिएको सबै जायज आश्वासन इमान्दारीतापूर्वक पूरा गराउन सबैखाले आवश्यक भूमिका बेलैमा खेल्नु पर्दछ । मधेशी पार्टी र मधेशी जनताको मन जित्न सके भने देशमा विद्यमान आधा समस्या यसै हल हुनेछ । कुटनीतिक पहलकालागि प्रचण्डले ‘आफू प्रयोग हुने होइन, अरुलाई उपयोग गर्ने नीति’ आत्मसात गर्नु पर्दछ । गुटगत स्वार्थ पार्टीबाट हटाउन र सामुहिक स्वार्थ, सामुहिक प्रयासको प्रतिनिधित्व गर्न सक्नु पर्दछ । संविधान संशोधन गरी असन्तुष्ट पक्षका सबै जायज माग प्रचण्डको छोटो अवधिको प्रधानमन्त्रीत्वकालमा पूरा हुन सक्यो भने प्रचण्ड सफल प्रधानमन्त्रीको रुपमा स्थापित हुनेछन् । होइन भने देशमा अर्को रणसंग्राम सुरु हुनेछ । प्रचण्ड चुनौतीको पहाडबाट थिचिने छन् । अवकास प्राप्त प्रधानमन्त्री खड्ग प्रसाद (के.पी.) ओलीले भनेजस्तो प्रचण्डले ‘उधारो कागज’ मात्रै गर्न खोजेका हुन् भने अवका दिनमा त्यो भन्दा ठूलो बिडम्बना केही हुँदैन । सिंगो देशले नै हारेको अनुभूति हुन जानेछ । ‘मौका आउँछ पर्खंदैन, बगेको खोला फर्कंदैन’ भन्ने सत्यलाई मनमा गाँठो पारेर एउटा कुशल नेताले गर्नुपर्ने सबै काम ढिलासुस्ती र भ्रष्टाचार को भूमरिबाट उम्किएर पूरा गर्ने साहस र अठोट प्रचण्डले देखाउन सके भने प्रचण्ड सच्चा कर्मशील देशभक्त नेताका रुपमा स्थापित हुन सक्दछन् । उनीसँग बलियो आधार र साहस छ । जताततै नक्कलीको बिगबिगी भएझैं प्रचण्ड पनि नक्कली नेताका रुपमा चित्रित नहुन, नेपालको भलाई चाहने सम्पूर्ण नेपालीहरूको कामना छ ।

गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको मुद्दा निकै पेचिलो बन्दै गएको छ । गणतन्त्र, संघीयता र धर्म निरपेक्षता एउटा ठूलो चुनौती हो । यसैमा राजनीतिक भविष्य सुनिश्चित वा अनिश्चित निर्भर गर्दछ । स्थिरता, शान्ति र विकास नेपालको अनिवार्य आवश्यकता हो । कुटनीतिक सन्तुलन र आन्तरिक शान्ति विना यो असंभव छ । संविधानको सफल कार्यान्वयन गर्न गराउन नसक्नु भनेको देश र व्यवस्था नै असफल हुनु हो । यो दायित्व एक्लैले पूरा गर्न सक्दैन तर नेतृत्व इमान्दार र कुशल भयो भने संविधानको कार्यान्वयन सहज ढंगले गराई सबैखाले षडयन्त्रको अन्त्य गराउन सक्दछ । गुणस्तरीय राजनीति बिना, फोहरी राजनीतिक खेल कायम भएसम्म सुधार र विकासको अपेक्षा गर्न सकिंदैन । विधिको शासन, कानीनी राज्यको पालना गराउन प्रधानमन्त्री प्रचण्डले हरसंभव प्रयास गर्नु पर्दछ । भूकम्प पीडित, बाढी पहिरो पीडित, डुबान पीडित नेपाली जनताहरूको राहत र उद्धारमा संवेदनशील भइ सकारात्मक निर्देशनमार्फत आथिएक विकासको मोडेल तयार गर्न प्रधानमन्त्री प्रचण्ड सफल भए देश र व्यवस्था नै सफल हुनेछ ।

क्राइमचेक साप्ताहिकमा २०७३ भदौ २ गते बिहीवार प्रकाशित