देश कहिले बन्ने, कसले बनाउने ?
 –सन्तोष मिश्र
–सन्तोष मिश्रकेही दशकदेखि सुन्दर, शान्त, विशाल देशले कसको कुन अधर्म र पापले हो नोक्सानी र क्षति मात्र व्यहोर्नु परेको छ । राजनीतिक परिवर्तनकालागि भएको सशस्त्र जनयुद्ध, जनआन्दोलन, दिनहुँ जारी भइरहेको संघर्षले जनधनको ठूलो क्षति भइरहेको छ । विश्वको एकमात्र हिन्दू राष्ट्रको गर्व र गौरव धर्म निरपेक्षताको घोषणापछि क्रिश्चियन धर्म परिवर्तनको महाअभियानले हिन्दूत्व अस्तित्व रक्षामा खतरा उत्पन्न भएको छ ।
२०७२ वैशाख १२ को महाविनाशकारी भूकम्पले देशका विभिन्न भागमा रहेका धार्मिक, सांस्कृतिक धरोहर मन्दिरहरु धेरै ढले, भत्किए, कति बाँकी रहेका मन्दिरहरु भत्किने अवस्थामा छन् । राजनीतिक अस्थिरता, कुटनीतिक असन्तुलन, बढ्दो प्राकृतिक प्रकोप, युवा शक्तिहरुको रोजगारीकालागि विदेश पलायन, देशमा व्याप्त भ्रष्टाचार, घुसखोरी र ढिलासुस्ती, विकास निर्माणको गतिमा सुस्तता, अनुत्पादक बहस र लगानी आदीले गर्दा देश तहस नहस छ । राजनीति, कुटनीति, अर्थनिति, सामाजिक वातावरण, धर्ममाथिको आक्रमण, सीमा अतिक्रमण, बाह्य हस्तक्षेप, बढ्दो प्राकृतिक प्रकोपको चुनौतिले नेपाल र पनेपालीलाई उँभो होइन उधोतिर लैजान बाध्य बनाएको छ । अनि नेपाललाई कसरी बचाउन सकिन्छ । सामरिक महत्वका दृष्टिले अति महत्वपूर्ण, भौगोलिक विविधता, जैविक विविधता, जातीय विविधता, सांस्कृतिक विविधता, जैविक विविधता, सांस्कृतिक विविधताले धनि नेपाल यतिखेर दिनदशा विग्रिएर अति कठिन, अवस्थामा गुज्रिरहेको छ । मधेश आन्दोलन, भारतीय नाकाबन्दी, अहिले भोगिरहेको बाढी पहिरो, डुबानले नेपाली जनताले ऐतिहासिक सास्ती व्यहोर्नु परेको छ । यत्र तत्र सर्वत्र सन्त्रास, दु:ख, पीडा, कष्ट, अभाव शिवाय देशमा सुख, शान्ति, अमन चयन छैन । पूरै पानीको मुहान धमिििलएको छ । मुहान सफा हुने संभावना निकै कम छ ।
विश्वकै राम्रो पर्यटकीय गन्तव्य मध्येको नेपाल विशाल दुई छिमेकी चीन र भारतबीचको ट्रान्जिट प्वाईन्ट नेपाल अहिले सबैकालागि शीर दर्द बनिरहेको छ । इज्जत, प्रतिष्ठा, विश्वास, इमान्दारिता, संभावना, सबै गुमाईरहेको छ । पूरै देशमा निराशा र उदासिनताको बादल छाइरहेको छ । नेताहरूको असल नेतृत्व, दृढ ईच्छाशक्ति, बोलेको कुरा गरेर देखाउन सक्ने क्षमता, काम कारवाहीमा पारदर्शीता र सत्यता, जनताको सक्रिय सहभागिताले देश बन्छ तर देशमा यिनै कुराको कमी छ ।
आजसम्म देखापरेका दलका नेताहरू नेपालबाट तुच्छ व्यक्तिगत स्वार्थका लागि लिनेमात्र छन्, राष्ट्रलाई सक्दो योगदान दिने क्षमता र योग्यताका छैनन् । राष्ट्र निर्माण भन्दा पनि राष्ट्र ध्वस्तको गति अघि बढेको छ । प्रत्येक पटक दलका नेताहरू मानिस थुप्रिएको ठाउँमा भाषण गर्दा देशमा चुनौती र अवसर दुबै छ भन्छन् तर व्यवहारमा ठूला–ठूला चुनौती सिवाय अवसर केही देखिंदैन । चुनौतिका पर्खालले नेताहरू जति मर्नुपर्ने बेला आएको कारण नेताहरूले बोलेको कुरा पूरा गर्न नसक्नु, देशमा लक्ष्य अनुरुपको प्रगति नुहुनु भनेको नेता मरेसरहकै हो । अनि देश कहिले बन्ने ? कसले बनाउने ? कसरी बच्ने ?
भनिन्छ उदासिन हुनु हुँदैन, सकारात्मक धारणा मनमा हुनु पर्दछ । सुख समृद्धिको दिन आउँछ भनिन्छ तर अवसरवादी नेता र उपभोक्तावादी जनताको वृद्धि भएपछि तातो तातो खाउँ, जल्दी मरुँको अवस्था आउँछ नै । यतिखेर देशमा दीर्घकालीन सोच व्यवस्थापन केही छैन । पूर्खाहरुले आर्जन गरेको सम्पत्तिको दोहन गर्ने, भावी पिंढीकालागि केही नसोच्ने अवस्था विद्यमान छ । ‘स्याल हुइयाँ’ले दिगो विकासको वातावरण बनाउन सक्दैन । नेपालका राष्ट्र निर्माणको प्रण गरेका आजसम्मका नेताहरूले पराजय सिवाय सफलता हासिल गर्न सकेका छैनन् । नेपालमा मौलिक कला, संस्कृति, प्राकृतिक सम्पदाको हिसाबले विश्वकै एक उत्कृष्ट मुलुक हो । ऋषिमुनिहरुको तपस्यास्थल देवभूमि नेपाल प्रचीन देश हो तर आधुनिक नेपालका नाममा भएभरका मौलिक कुराहरू नष्ट हुँदैछन् । नेताहरू प्रताप, शक्ति र धर्म नभएकोले देशमा लगातार विनाशलीला विद्यमान भइरहेको हो । लोभी, पापी र अपराधी नेताहरूको जमात रहेसम्म विनाश सिवाय विकास पाइँदैन । यो कटु सत्य हो । इतिहास, संस्कार, संस्कृति, मौलिकतालाई छाडेर कहिल्यै पनि हामी प्रगति गर्न सक्दैनौं । निश्चित रुपमा नेपाल समाप्तिको बाटोमा जाँदैछ । देशलाई बचाउने प्रतापी नेता कहाँ हराए ? प्राकृतिक श्रोत, साधनको विनास नै प्राणी विनाशको एकमात्र कारण हो ।
२०७३ साउन २७ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित
 
 
 
 
 
 
 
 
 
 
 
 
