ब्रेकिङ समाचार

सीमा अध्ययनको महत्वपूर्ण कृति जंगे–बुद्धे

“नेपालको सिमानाले मलाई खोजिरहेको छ, अनि मैले नेपालको सिमानालाई बाध्य भएर खोज्नु परेको छ” भन्नुहुने सीमाविद वुद्धि नारायण श्रेष्ठको पछिल्लो कृति सीमा साहित्य जंगे वुद्धेको हालै लोकार्पण भएको छ । लेखक वुद्धिनारायण श्रेष्ठ मरेर गएपनि उहाँले लेख्नु भएको पछिल्लो कृति ‘जंगे–बुद्धे’ कालजयी बन्ने छ । प्रत्येक देशभक्त नेपालीले सो महत्वपूर्ण कृति ‘जंगे–वुद्धे’ पढ्न र आफ्नो साथमा राख्न अनिवार्य छ । किनभने त्यो पुस्तकमा सम्पूर्ण नेपालको इतिहास, भुगोल र सिमानाको अध्ययन छ । ‘जंगे–बुद्धे’ पढेपछि सम्पूर्ण नेपालको विशिष्ठता बुझ्न सकिन्छ ।

नेपालका शासक जंग बहादुर राणाले निर्माण गर्नु भएको नेपालको सीमा स्तम्भ अहिले धेरै ढलेको, भत्किएको र गायब भएको छ । दक्षिणतर्फको छिमेकी राष्ट्र भारत हरबखत सीमा अतिक्रमणकारी विस्तारवादी र प्रभुत्ववादी छिमेकी राष्ट्र भारतको ज्यादतिका विरुद्ध न्यायपूर्ण संघर्ष गर्ने ‘जंगे–वुद्धे’ले मार्ग निर्देशन गरेको छ । प्रत्येक नेपाली जसले जंगे–वुद्धे पढ्छ उसको भारतीय हेपाहा प्रवृत्तिविरुद्ध रगत उम्लिन्छ ।

अब वुद्धिनारायण श्रेष्ठ एक्लोले मात्र होइन, उनको साथमा लागेर प्रत्येक नेपालीले आफ्नो गुमेको भूभाग नेपाल क्षेत्रफल फिर्ता गराउन र ढलेको जंग स्तम्भ कायम गराउन दह्रो खुट्टा लिएर रणमैदानमा उत्रनु पर्दछ । हामी नेपालीले भारतीय विस्तारवादका धेरै हर्कतहरू सहँदै आएका छौं । समय बलवान हुन्छ । समयले प्रत्येक नेपालीहरूलाई सीमा अतिक्रमणकारी भारत विरुद्ध मुकाबिला गर्न सक्ष्म बनाइ दिएको छ । नेपालीको न्यायपूर्ण सीमा सम्बन्धी लडाईलाई अब भारतले कुनै पनि हालतमा दबाउन सक्दैन । सत्य प्रमाणको सधैं विजय हुन्छ ।

भारतले लगातार सीमा अतिक्रमण गरी जबरजस्ती पुरानो नक्सा सच्याएर नेपालको ठूलो भूभाग हडप्न अहिले हदैसम्मको प्रयास जारी राखेको छ । ‘जंगे–वुद्धे’ महत्वपूर्ण सीमा कृतिले भारतीय सीमा अतिक्रमणको हर्कतलाई नांगो पारीदिएको छ । नेपालीहरू पानी मरुवा होइनन्, बलियो आधारका साथ सीमा अतिक्रमणकारी भारत विरुद्ध निरन्तर लडिरहेका छन् । अतिक्रमित नेपाली भूमि भारतबाट जतिसक्दो छिटो फिर्ता गराउन नेपाली जनताहरूको आन्दोलन जारी छ । सीमा सम्बन्धी आफ्ना अनुभवहरूलाई समेटेर लेख, रचना प्रकाशन गर्दा गर्दै सीमा विज्ञ वुद्धिनारायण श्रेष्ठले सीमा सम्बन्धी महत्वपूर्ण दस्तावेज आधिकारिक दस्तावेज ‘जंगे–वुद्धे’ सार्वजनिक गरी नेपाली मातृभूमिलाई ठूलो गुण लगाउनु भएको छ ।

उहाँको जीवन सार्थक बनेको छ । जहाँ आशा छ, त्यहाँ जीवन छ । नेपालको जीवनलाई जिवन्त पार्नुहुने वुद्धिनारायणको सीमा अध्ययन र सीमा संघर्षको प्रत्येक यात्रामा सच्चा नेपालीले  साथ दिएर सुरक्षित नेपाल समृद्ध नेपाल बन्ने छ ।

अति सामरिक महत्वको नेपाल राष्ट्र अब पनि शक्तिशाली बन्ने छ र ‘आइलाग्नेमाथि जाइलागेर नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्ने छ ।
‘जंगे–वुद्धे’ कृतिले हरबखत राष्ट्रघाती, दलालहरूलाई खबरदारी गर्ने छ । आफ्नो सीमा सुरक्षा गर्न नसक्ने र गर्न नचाहने सत्ता स्वार्थमा मात्र केन्द्रित रहने पार्टी र पार्टीका नेताहरूलाई धिक्कार्ने छ ।

ओखलढुंगा डाँडोको भूगोलमा जन्मिएर प्रतिष्ठित मदन पुरस्कार प्राप्त गर्नु हुने वुद्धिनारायण श्रेष्ठको सीमा सम्बन्धी अध्ययन र योगदानलाई राष्ट्रवादी नेपालीहरूले बिर्सन सक्ने छैनन् । महा प्राकृतिक आपत विपतबाट नेपाल राष्ट्र तहस नहस भएपनि नेपाली सीमा अतिक्रमण गर्ने भारतको दुस्साहसलाई नेपाली जनताले बिर्सन सक्दैनन् । नेपाल र नेपालीलाई दु:ख दिइरहने भारतको कदापी भलो हुँदैन भन्ने कुरामा नेपालीहरू दृढ छन् । ‘जंगे–वुद्धे’ कति पढेर सीमा सम्बन्धी सम्पूर्ण जानकारी मन मस्तिष्कमा राख्न महत्वपूर्ण अवसर नेपालीले पाएका छन् । चुनौतीको सामना नेपालीले गर्न सक्दछन् ।

क्राइम चेक साप्ताहिकमा २०७३ भदौ २ गते बिहीबार प्रकाशित सम्पादकीय