सर्वोच्चको द्वन्द्ववादी फैसला
 – सन्तोष मिश्र
– सन्तोष मिश्रयो प्राकृतिक मनोरम संसारको श्रृष्टि इश्वरले गरेका हुन् । एउटा पृथ्वी, एउटा चन्द्रमा, एउटा सूर्य देखिएझैं इश्वरका नाम र अवतार धेरै भएपनि इश्वर एउटै छन्, जो निरन्जन निराकार छन् ।
संसार परिवर्तनशील छ । त्रिकाल भूत, वर्तमान र भविष्यमा समय बलवान हुँदै आएको छ । समयले साथ दियो भने संसारमा असंभव भन्ने केही छैन । संसारमा यस ब्रह्माण्डको सृष्टिकालदेखि नै दैवी शक्ति र आसुरी प्रवृत्ति देखा परेको छ । दैवी शक्तिले सृष्टि, स्थिति र संहार गर्दै आएको यो संसारमा आसुरी शक्तिले पनि दु:ख दिने गर्दै आएको छ । प्रकृति र दैवी शक्तिले अति र ज्यादति भएपछि यस संसारमा विग्रह, विपत्ति मच्चाई उथल पुथल ल्याउने गरेको छ । प्राकृतिक विपत्ति, दैवी विपत्तिबाट बच्नेहरू मात्र सच्चा धर्मात्मा हुन् । उनीहरूको अनुभव, अनुभूति, उनीहरूमा देखा परेको अलौकिक शक्तिबाट मात्र यस संसारको दिगो भइरहेको हुन्छ । भगवान र मानिस, प्रकृति र मानिसबीच अन्योयाश्रित सम्बन्ध छ । मानिसमा धर्म सकिएपछि दु:खको दिन देखा पर्दछ । जताततै द्वन्द्व बढेर अशान्ति फैलिन्छ अनि धर्मात्मा र विधर्मीहरूकाबीच भीषण लडाई हुन्छ । विधर्मीहरूको विनास अवश्यंभावी छ । मानिसको जन्म भएपछि मृत्यु हुन्छ, यो शास्वत सत्य हो । इश्वरको लिला अपरम्पार छ । उनकै निर्देशनमा संसार चलेको छ । राम्रो काम गर्नेको नाम राम्रो किताबामा लेखिन्छ । नराम्रो काम गर्नेको नाम नराम्रो किताबमा लेखिन्छ ।
मानिसको मूल्यांकन र मानिसलाई न्याय दिने काम ईश्वरले गर्दै आएका छन् । न्यायाधीशहरूलाई ईश्वरको प्रतिनिधि न्यायमूर्ति मानिन्छ तर यस घोर कलियुगमा पापको प्रतापले अन्याय गर्नेको क्षणिक फलिफाप र चर्चा भई विलय हुने गरेको छ । असल काम गर्नेको कृति युगौं युगसम्म रहिरन्छ ।
नेपाल प्राचीन देवभूमि हो । तन्त्रमन्त्रशक्तिले टिकेको देश हो । नेपालमा सनातन हिन्दू धर्म छ जसलाई मानव धर्म पनि भनिन्छ । नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र थियो । राजनीतिक परिवर्तनपछि लेखिएको अन्तरिम संविधान २०६३ विश्वको एकमात्र हिन्दू राष्ट्रको अस्तित्वमाथि धावा बोल्दै जबरजस्ती धर्म निरपेक्ष राष्ट्रमा रुपान्तरण गर्यो जसको कारण भगवान रिसाए, पुराना मन्दिर सबै भत्किए । महाभूकम्पले चेतावनी स्वरुप जनधनको ठूलो क्षति गर्यो । नेताहरूले गरेको पापको प्रतापका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान कार्यान्वयन हुनै नसक्ने स्थितिमा पुगेको छ ।
संविधानको आडमा धर्म निरपेक्षताको आधारमा क्रिश्चियन धर्म परिवर्तनले पुरानो धार्मिक संरचना भत्काउने र नेपालको अस्तित्व मेटाउने सम्मको दुस्साहस गरेको छ । आग्रह, पूर्वाग्रह, षडयन्त्र, संकिर्णता, अवसरवाद र उपभोक्तावाद अहिले नेपालमा कायम छ । अड्डा अदालत, प्रहरी प्रशासन, शासन संयन्त्र संविधानको रक्षाकालागि सक्रिय रुपमा खटिएका छन् तर समय र परिस्थितिले उनीहरूलाई साथ दिइरहेको छैन । परम्परा र यथास्थितिको क्रमभंग गर्ने उनीहरूको अठोट पानीको फोका सावित भएको छ । न्याय र अन्याय, धर्म र अधर्म, पाप र पूर्णबीच भीषण द्वन्द्व कायम भइरहेको छ । सनातन धर्म र ईश्वरको पक्षमा जो रहन्छ, उसको विजय निश्चित छ । अन्याय, असत्य र पापको पक्ष लिएर आफ्नो अभिष्ट पूरा गर्नेहरूको विनाश निश्चित छ ।
नेपालको कानुनी क्षेत्रको विकासक्रम धर्म शास्त्रहरूकै आधारमा भइ आएको छ । धर्ममा आधारित राजनीति ध्वस्त गर्नेहरू ढिलो वा चाँडो आफैं ध्वस्त हुनेछन् । उनीहरूको नयाँ इतिहास, उनीहरूले चाहेको नयाँ नेपाल कुनै पनि हालतमा हुने छैन । नेपालको धर्म, संस्कृति, अस्तित्व, राष्ट्रियता तहस नहस पार्न सक्दो भूमिका खेल्ने जोकोही दण्डनीय भएको हामीले हेर्न पाउँछौं ।
आफ्नो धर्म परिवर्तन गर्ने, गराउने पापीहरूको भविष्य कालो बादलले ढाकेको आकाश जस्तो छ । कालो बादलले आकाशलाई ढाकेपछि परिवर्तन निश्चित छ । उज्यालो हुन्छ, धर्मात्मा, पूण्यात्माको दिन फिर्नेछ ।
धर्मको जय ¤ पापको क्षय आजसम्म भएको छ र हुन्छ नै । स्वर्ग र नर्क यहिं छ । आत्मा, परमात्मा यहिं छन् । धर्मी र विधर्मीबीच भीषण युद्ध समयको माग बनेको छ । परिस्थितिले धार्मिक द्वन्द्व निम्त्याइरहेको छ । धार्मिक द्वन्द्वले सनातन हिन्दू धर्म, विधि, पद्धति, सिद्धान्त, दर्शनबाट संचालन भएको नेपाललाई पुन: हिन्दू राष्ट्रमै फर्काएर एउटा शक्तिशाली हिन्दू राष्ट्रका रुपमा विश्वमानचित्रमा स्थापित गराउने छ । विधर्मी र विधर्मीका मतियार सबै नेपाली माटोमा मटियामेट हुनेछ । यो दैवी शक्तिको चमत्कारले भएर नै छाड्छ । संविधानबाट हिन्दू अधिराज्य शब्द हटाएपछि नेपाल र नेपालीमाथि थुप्रै अनिष्ट, विकृति, विसंगति र विनाश आएकै छ र यो क्रम अझै जारी नै छ ।
प्राचीनकालदेखि सुन्दर, शान्त, विशाल, समरिक महत्वको स्थल नेपालमा नेपालीहरूको साधारण व्यवहार, इमान–जमान धर्म र विश्वासमा आधारित थियो । बलिप्रथा आवश्यकताको उपज र धार्मिक आस्थाको बलियो आधार हो । बलिप्रथा विरोधीहरू अहिले जति सल्बलाएपनि बलिप्रथा रोक्ने उनीहरूको बलबुत्तोले सक्दैन । संविधान, कानुन, निर्णय र फैसला केहीले पनि परम्पराको मुहानलाई थुन्न सक्दैन । थुन्न खोजिन्छ भने पशु संहार होइन ठूलो नर संहार हुन सक्ने छ ।
पाँच वर्षमा एक पटक बारा जिल्लाको बरियारपुरस्थित गढीमाई मन्दिरमा लाग्ने विश्वप्रसिद्ध मेला र त्यहाँ देखा पर्ने अपार शक्तिलाई सर्वोच्च अदालतका आस्था विरोधी न्यायाधीशहरूले बाध्यात्मक परिस्थितिको फाइदा उठाउँदै पशु बलि रोक्ने जुन फैसला गरे यसले पशुबलि गर्ने र पशुबली रोक्नेबीच द्वन्द्व भई एक अर्काका विरुद्ध सशस्त्र बल प्रयोग गर्ने अवस्था सिर्जना गर्ने देखिन्छ । त्यतिखेर त्यो फैसलाले शान्ति र न्याय कायम गर्छ कि अशान्ति र अन्याय ?
सर्वोच्च अदालत धार्मिक विवाद, द्वन्द्वमा मुछिनु नपर्ने थियो मुछियो । सर्वोच्च अदालतका न्यायधीश इश्वर प्रसाद खतिवडा र अनिल कुमार सिन्हाले देश, काल, परिस्थिति, परम्परा, आस्था विरुद्ध गएर विवेक गुमाएर बलिप्रथा रोक्ने निर्देशन सरकारलाई दिएका छन्, यो असन्तुलित, अव्यवहारिक र अवैज्ञानिक छ । नेपालमा विभिन्न देवी देउता, शक्तिपीठहरूमा दिनहुँजसो पशुबलि गरिन्छ, गढीमाई मेलामा पशुबलि रोक्ने पक्षधरहरूले दैनिक हुने बलिलाई रोक्न सक्लान त ? दिनहुँ मासु खानेहरूले पशु बधशाला/स्थलहरूमा दिनहुँ गरिने पशुबलिको विरुद्ध आवाज उठाउने कि नउठाउने ?
गढीमाई मन्दिरमा रांगा, हाँस, कुखुरा, सुंगुर, बोका बलि दिंदा क्रूर व्यवहार र उचित काम नहुने, पशु वधशाला/वधस्थलहरूमा बुढी भैंसी, बुढी बाख्रा काट्दा राम्रो व्यवहार र उचित काम हुने कस्तो न्याय ? कस्तो आश्चर्य ¤ ठूलाले जे गर्छ काम त्यो हुन्छ सर्वसम्मत भनेझैं सर्वोच्च अदालतले नराम्रो फैसला गर्दा, अव्यवहारिक निर्देशन दिंदा पनि मान्नुपर्ने बाध्यता, भय र भ्रममा कहिलेसम्म रहने ? सत्यता र तर्क, तथ्य र प्रमाण बेगर अनुचित निर्णय गरिंदा अवाञ्छित काम कुरोले प्रश्य पाउन सक्दछ । हिन्दू राष्ट्र नेपाल रहिरहँदा सामाजिक नैतिकता व्यवहार, धर्मप्रतिको विश्वास, इमान्दारितामा कानुन अडदा शान्ति र स्थिरता थियो । अहिलेको जस्तो अस्थिरता, अराजकता, अवमूल्यन, अन्याय थिएन । हिन्दू धार्मिक नैतिकता, आचार संहितामा अडेको नेपालको कानुन मान्नेमा दृढता, विवेक र व्यवहारिकता थियो ।
सनातन धर्म, आस्था र विश्वास एउटा संगठन हो । गढीमाई विष्णु, माया, चेतना, वुद्धि, निद्रा, क्षुधा, छायाँ, शक्ति, तृष्णा, दया, तुष्टि, मातृ, भ्रान्ति, चिती रुपकी हुन् । प्रकृतिमा गढीमाईलाई प्रसन्नतामा राख्न आदि अनादी कालदेखि मानसिहरूले बडो आस्था र भक्तिका साथ पशुबलि दिंदै आएका हुन् । पशुबलिमा अपार शक्ति छ । भगवती देवीको अपार शक्ति मै यो ब्रम्हाण्ड टिकेको छ ।
गढीमाईसँग जिस्किन खोज्ने र जिस्काउन खोज्नेहरूले कालान्तरमा ठूलो हण्डर खोप्नुपर्ने हुन्छ । सारा संसारका हिन्दू धर्मप्रेमीहरूको आस्थाको केन्द्र गढीमाईको पाँच वर्षे चमत्कारिक मेलामा पशुबलिको विरोधका लागि विरोध गर्ने, क्रिश्चियन अनुयायीहरू धेरै हुन सक्छन् तर बलिप्रथा कुनै पनि हालतमा रोक्न सक्दैनन् ।
अघिल्लो मेलामा पनि क्रिश्चियन धर्मावलम्बी, बलिप्रथा विरोधी संघसंस्थाहरू तथा पशु अधिकारवादीहरूले ठूलै वितण्डा मच्चाएका थिए । भारतबाट बलिकालागि आएका राँगा, बोका भारत सरकारले नेपाल छिर्न रोक लगाएको थियो तर बलि संख्यामा कुनै कमि आएन । सुरुमा पशुबलि खाँदै आएका जातीहरूले सिनो नखाने भनेर विरोध जनाएपनि पछि लुटेरै लगेका थिए । बलिप्रथाविरुद्ध भ्रम पार्ने काम बरु क्रूर व्यवहार र अनुचित काम हो । नेपालमा अदालत खडा नहुँदैदेखि चल्दै आएको गढीमाई मेला बलिप्रथालाई भविष्यमा आइपर्ने जटिलताको कुनै ख्यालै नगरी पूर्वाग्रह र आग्रहको आडमा बलिप्रथा रोक्न खोज्नु ‘बेमौसमको बाजा’ जस्तो हुन गएको छ ।
गत साउन २० गते सरकारका नाममा सर्वोच्च अदालतको संयुक्त इजलासले “गढीमाई मेलामा पशुबलि दिने क्रूर व्यवहार रोक्नकालागि उचित काम गर्न निर्देशन दिएको प्रति खुशीयाली मनाउँदै स्वागत र समर्थनमा काठमाण्डौमा ठूलै संख्यामा र्याली निस्कियो, यसको प्रतिकृया के आउँछ हेर्न बाँकी छ । बलिप्रथा विरोधी जमात तयार गर्न क्रिश्चियनवादी धार्मिक राष्ट्रहरूले ठूलो धनराशी खर्च गरी संसारभरीका हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वासमाथि गम्भीर आघात पुर्याउने अस्वभाविक कार्य गरिरहेका छन् । रहस्मयी सर्वोत्कृष्ट गढीमाई मेलामा विश्वभरीका मानिसहरूको करोडौंको संख्यामा उपस्थिति हुन्छ । १० औं हजारले आफ्नो इच्छा कामना पूरा भएमा बलि चढाउने भाकल गरेका हुन्छन् । नेपाल र भारतका हिन्दू धर्मावलम्बीहरूको थामिनसक्नुको भीड एक महिना अघि/पछि पनि बलि चढाउने गर्दछन् । गढीमाइमा हुने बलिप्रथाको निन्दा गर्नु पाप र अधर्म हो । बलि प्रथा विरोधीहरूको उदण्डताले उनीहरू नै शून्यमा पुर्याउँछ । विरोध गर्न कसैले कसैलाई रोक्ने छैन, विरोध गर्नुको उपलब्धी के त मात्र भन्ने कुरा हो ।
धर्म एक सामयिक कानुन हो । सनातन धर्म र परम्पार रोक्ने तागत कसैमा छैन । पशु अधिकारवादीहरूले सबै दिन, सबै ठाउँमा प्राणि हत्या, पशुहत्यालाई रोक्न सक्नु पर्दछ । नेपाल भगवान गौतम वुद्धिको जन्मभूमि हो । भगवान गौतम वुद्धले अहिंसालाई जोड दिनु भएकै हो । अहिंसा परमो धर्म पनि हो । वधशालामा काटेको प्राणीको मासु खाएर सदा सर्वदादेखि चल्दै आएको गढीमाई बलिप्रथाको विरोध गर्नु कुनै समुदायले आफ्नो अभिष्ट पूरा गर्न खोज्नु हो । आफ्नो तुच्छ स्वार्थ र अभिष्ट पूरा गर्न अरुहरूको आस्था र अधिकारमा घात, प्रतिघात गर्नु पनि मानव अधिकार विरोधी कृयाकलापमा उत्रिएर बलिप्रथावादीहरूसँग जोरी खोज्नु थप द्वन्द्व कायम गराउने पश्चिमी राष्ट्रहरूका एनजिओवादी कुचालबाट सम्पूर्ण नेपाली सतर्क हुन जरुरी छ ।
चेतना जगाएर शान्तिपूर्ण तरिकाबाट बलिप्रथा रोकिन्छ भने कुरा अर्कै हो । जोर जबरजस्ती गरेर, धार्मिक आस्थामाथि चोट र खलल पुर्याएर गढीमाई बलिप्रथा रोक्न खोजिन्छ भने आखिरमा आइलाग्नेमाथि जाइलाग्नु स्वभाविकै हो । नतिजा र परिणाम जे होला होला ।
क्राइम चेक साप्ताहिकमा २०७३ भदौ २ गते विहीबार प्रकाशित
 
 
 
 
 
 
 
 
 
 
 
 
