ब्रेकिङ समाचार

श्री कृष्ण जन्माष्टमी मनाइँदै

क्राइमचेक प्रतिनिधि/
वीरगंज/ बिहीबार परेको श्री कृष्ण जन्माष्टमी देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
यसैक्रममा वीरगंजको गितामन्दिर, आदर्शनगर, पानीटंकी लगायतका विभिन्न ठाउँमा विशेष रुपले श्री कृष्णको जन्मोत्सव मनाइन लागिएको बताइएको छ ।

६ दिनसम्म झुला महोत्सवको आयोजना पनि गरिन लागिएको जानकारीमा आएको छ ।
त्यसैगरी काठमाण्डौको बुढानिलकण्ठस्थित श्री कृष्ण मन्दिरमा भव्य रुपले श्री कृष्ण जन्मोत्सव र जन्माष्टमी मनाइने कार्यक्रम रहेको छ ।

देशका विभिन्न भागमा रहेका श्री कृष्णका मन्दिर, गीतामन्दिरका साथै श्री कृष्णको मूर्ति बनाएर पनि मेला, झाँकी, प्रदर्शन, यज्ञ इत्यादीको विधिद्वारा हर्षोल्लासपूर्वक श्री कृष्ण जन्माष्टमी मनाइँदै आएको युगौं देखिको परम्परालाई निरन्तरता दिंदै नेपाल, भारत लगायत विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी मनाउन लागेका हुन् ।

भारतको मथुरा र गोकुल धाममा श्री कृष्ण सप्ताहको रुपमा एक हप्तासम्म दीपावली गरी श्री कृष्ण जन्माष्टमी मनाइने गरिएको छ ।

द्वापर युगमा कंश लगायत विभिन्न असुरहरूले साधु सन्त र मानवजातीमाथि अन्याय, अत्याचार, दूराचार गर्न थालेपछि भगवान विष्णुले श्री कृष्णको अवतार लिई असुरहरूको संहार गरी मानवजातीको कल्याण गरेका थिए ।

२०७३ भदौ ९ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित