ब्रेकिङ समाचार

समस्या जीवनको एउटा अंग हो भने संघर्ष त्यसको निराकरण हो

सीता पौडेल

  जीवन अमूल्य छ, मानव जीवन पाएर हामी धन्य छौं किनभने यो एउटा उत्कृष्ट जीवन हो । जीवन एउटा प्रयास पनि हो । हाम्रो कोशिश सधैं यही रहन्छ कि हामी यथार्थको धरातलमा उभिएर जीवनलाई एउटा राम्रो मोड दिउँ भन्ने तर समय परिवेश सधैं एकनासको नहुँदा हामी जीवन देखि उदास बन्न पुग्छौं । अथक प्रयासको बाबजुद पनि एक पछि एक गर्दै हावी हुने समस्याको सामना गर्ने ताकत हामी बीच धेरैमा हुँदैन फलस्वरूप जीवन आफैंमा बोझ हुन पुग्छ ।

  हाम्रो सोचमा जीवन मात्र आफ्नो परिवार बीचको समृद्धिमा अल्झिएको छ । वास्तवमा जीवन एउटा यस्तो चक्रब्युह हो जसमा हामी नराम्रोसँग अल्झिएका हुन्छौं । आफ्नो घरभित्रको तनाव र समस्या नै हाम्रो लागि दुनियाँको सबै भन्दा ठूलो समस्या लाग्छ यदि वास्तवमै हामी जीवनलाई सजिलो र उपयोगी बनाउन चाहन्छौं भने हामीले बाहिरी दुनियाँमा निस्केर बाहिरी दुनियाँलाई नियाल्न जरुरी हुन्छ । जहाँ दुनियाँ हरेक रंगले रंगिएको छ । हाम्रो समस्याको निराकरण तब हुन्छ जब हामी महलमा बस्ने मानिसहरुको जीवनशैली नहेरेर रातदिन दु:खको भारी बोकेर झोपडीमा दिन बिताउने मानिसहरुको वास्तविकता हेर्छौं । जस्को जीवनमा मात्र समस्याको पोको छ फेरि पनि ऊ हाँसेर जीवन जिईरहेको हुन्छ ।

जब मानिसको इच्छा आकांक्षा बढ्दै जान्छ तब त्यहाँ समस्या झन् दह्रो भएर उभिइ दिन्छ । हामी आफ्नो इच्छा आकांक्षा बढाउने रहर राख्छौं भने समस्या संग जुध्ने आंट पनि राख्न सक्नु पर्छ । त्यस्को लागि जहिले पनि सकारात्मक सोच राख्नु पर्छ । सकारात्मक र सार्थक सोच नै उर्जावर्धक हुन्छ र यसले हरेक समस्याको समाधान निकाल्छ भने, जब नकारात्मक सोच दिमागमा आउँछ तब मनमा मात्र नकारात्मक कुराले डेरा जमाउँछ अनि त्यही नकारात्मक सोचले जीवन निराश र नर्क बन्छ ।

धेरै मानिसहरु अतितको कुराले ग्रस्त हुन्छन् र भविष्यको लागि चिन्तित हुन्छन् र नानाथरीको सोच अनि विचारको मंथनले ग्रसित हुन पुग्छन् । त्यसैले मानसिक तनाव संगसंगै शारीरिक शक्तिमा पनि ह्रास आउँछ । के यसरी बसेर सोच्दैमा सबै समस्याको समाधान हुन्छ त ? हुँदैन ¤ त्यसैले बसेर सोचेर झन् निष्कृय हुनु भन्दा सकारात्मक सोच लिएर अगाडी बढ्नु पर्छ । आलस्यताले पनि मानिसलाई अगाडी बढ्न बाधा गराउँछ त्यसैले आलस्यतालाई आफ्नो जीवनमा आगमन गर्न दिनु ठूलो भुल हुन्छ । धेरै कामहरुमा हामीलाई सफलता मिल्दैन त्यस्को कारण हो हामीले त्यो काम मन लगाएर नगर्नु, मतलब काममा एकाग्रता नहुनु ।

कुनै पनि कामलाई सानो या तुच्छ नसम्झीनु । हरेक कामको आफ्नैं स्थान हुन्छ । सानो भन्दा सानो कामबाट कामको शुरूवात गरेर मानिस सफल भएको थुप्रै उदाहरणहरु छन् । त्यसैले कुनै काम सानो र ठुलो भन्ने हुँदैन । भनाइ नै छ सियोको काम तलवारले गर्दैन । कोही अफिसमा बसेर काम गर्छन् भने कोही खेतमा वा कोही मजदुरी  गर्छन् । हरेक कामको त्यतिकै महत्व हुन्छ मात्र सोचलाई सकारात्मक र फराकिलो पार्न जरुरी हुन्छ । जीवनमा एकपटक सबैलाई अवसर आउँछ मात्र त्यसलाई चिन्न सक्नु पर्छ र अगाडी बढ्नु पर्छ ।

समस्याको निराकरण गर्न संघर्ष सधैं जारी राख्नु पर्छ एकपटक सफल नभए पनि पटकपटकको मिहिनेतले अवश्य सफल भइन्छ । जीव जन्तु, पशु पंछी अनि किरा फटयांग्राहरुले त आफ्नो जीविकोपार्जनको लागि निरन्तर मिहिनेत गरिरहेको हामीले देख्छौं भने हामी त विवेकशील प्राणी हौं हामीलाई हात बाँधेर वा निराश भएर बस्न सुहाउँदैन । सानो काम भनेर गर्न लाज मान्ने तर गलतकाम तिर अग्रसर भएर पछि पछुताउनु को अर्थ नै के रह्यो र ? एकपटक असफल हुँदैमा अर्को पटक प्रयास नगर्नु मुर्खता हुन्छ ।

कसैकसैले आत्मविश्वासलाई घमण्ड भन्छन् यो गलत हो । यो बिलकुल एउटा सिक्काको दुईटा पाटा जस्तै हो । आत्मविश्वास त मानिसमा हुने गुण हो जसले सधैं काम गर्ने हौसला दिरहेको हुन्छ भने घमण्ड अवगुण हो जसले मानिसको अस्तित्वलाई नै खसाल्छ र त्यो मानिस कुहिरोको काग बन्न पुग्छ र समाजमा पनि उसलाई तिरस्कारको दृष्टिले हेरिन्छ । त्यसैले घमण्ड मानिसको शत्रु हो । ठूलो ठूलो कुराको चक्करमा मानिसले सानो सानो कुराको बेवास्ता गर्छ र उ यो बिर्सन्छ कि जस्ले सानो कुरालाई सम्हाल्न सक्दैन भने ठुलो कुराको लागि उ योग्य नै हुँदैन । त्यसैले हामीले जहिले पनि यो कुरालाई मनन गर्न भुल्न हुन्न कि “समस्या जीवनको एउटा अंग हो भने संघर्ष त्यसको निराकरण हो” ।

२०७३ साउन २७ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित