“पसरा”को थप्पडले “कथा”को तेजोवध
–स्वयम्भुनाथ कार्कीनेपाली राजनीतिमा संक्षिप्त नाम कमाउनेहरुलाई ठूला नेता भन्ने सोच जनतामा पलाउछ । राजनीति र आफ्नो भलोको निमित्त जे पनि गर्न सक्नेहरुलाई नेपाल लगायतका पूर्वेली मुलुकमा ठूला मानिन्छ । यस्ता छोटा नामधारी नेताहरुले सिद्धान्तको आधारमा हैन आफ्नो नामको आधारमा दल गठन गर्दछन् । त्यसैले यिनिहरु दलको सिद्धान्त, विधान भन्दा माथि हुन्छन् । केही आफुप्रति समर्पित कार्यकर्ताको बलमा सदैव हावी हुन्छन् । दुईदेखि तीन नेपाली वा अंग्रेजी अक्षरमा नाम भएका यस्ता कुनै पनि नेताको लीला उल्लेख गर्न ग्रन्थ नै लेख्नु पर्ने हुन्छ । अहिले संक्षिप्त नामको योग्यतामा पशुपतिसम्सेर राणा र कमल थापा पुगेका छन । त्यसैले यस आलेखमा राणालाई “पसरा” र थापालाई “कथा” भनिएको छ ।
पञ्चायतको आवशान पछि पञ्च कार्यकर्ता र महापञ्चहरुलाई संगठित राख्न जन्मेको “राष्ट्रिय प्रजातन्त्र पार्टी” जरासन्ध जस्तै दुई भागमा जन्मेको थियो । त्यहाँदेखि वर्तमानसम्म पुग्दा जुट्ने, फुट्ने र जुटने प्रक्रिया “पानी पँधेरो” भएको छ । एक पटक निकै लामो समयसम्म सुबथाले अलग नाम राखेर पनि पार्टी फुटाए तर अन्तत: राप्रपा नाम मै समाहित हुनै पर्यो । राप्रपा नाम सबैले पञ्चहरुको पर्याय माने पनि केही खरा पञ्चहरु यसमा विलिन हुन चाहेनन र भएनन् पनि । बरु केवल पञ्च हुनु मात्र आधार भएको सिद्धान्त अनुसार भने केही नहुने राप्रपा नामधारी दलहरु भिडमा रहनु भन्दा ओझेमै बस्न चाहे ।
राप्रपा नामधारी दलमा संलग्न कृतध्न पञ्चहरु मध्ये कसैले पनि झण्डै तीसवर्षको यो कालखण्डमा पञ्चायत शब्द पनि उच्चारण गरेनन् । बरु कुनै कुनै महापञ्चहरु त पञ्चायत विरुद्ध संघर्ष गर्ने नेताहरु भन्दा ठूलो स्वरमा पञ्चायतको विरोधमा गर्जने गरेका छन् । उनीहरुको यो कृतध्नताको अन्य दलहरुले राम्रो पुरष्कार दिएका पनि छन् । बहुदलमा मन्त्री र प्रधानमन्त्री नै पनि पडकाउन सफल भए । गणतन्त्रमा प्रधानमन्त्री त भएनन् तर उपप्रधानमन्त्री शुरुमै उछिट्याए । राप्रपाहरुमा सामेल पञ्चायत पृष्ठभूमि भएकाहरुलाई कृतध्न भनिएको हो । ताजा सामेल भएका पञ्चायत आफुले नभोगेका ३०,४० बर्षकाहरु यस परिभाषामा पर्दैनन । उनीहरु मुलुकको भलो गर्न भनेर सामेल भएका हुन र यसमा भएका ठूला नामको भरोशा गरेर सामेल भएका हुन ।
कुनै राप्रपामा सामेल नभई ओझेलमा बसेका पञ्चहरु पञ्चायतका राम्रा कुराको निर्धक्क चर्चा गर्दछन् । आफुले त्यसमा योगदान दिन पाएकोमा गर्व गर्दछन् । संवैधानिक हिन्दू राजतन्त्रको ढोल बजाएर जनताको केही मत बटुलेको राप्रपा नेपाल भने त्यही सिद्धान्तको बारेमा बोलेकोमा धमाधम आफ्ना सदस्यहरुलाई निष्काशन गर्दछ । राप्रपाले आफु पञ्च हुँदाको सिद्धान्त छोड्यो भनेर अलग भएको राप्रपा नेपालले पहिलो निर्वाचन एकै झण्डामा लड्यो । पछि आफुलाई फरक देखाउन झण्डा लगायत धेरै कुरा बदल्यो । अहिले त्यही राप्रपा नेपाल राप्रपामा समाहित हुन भएभरको बल लगाउँदैछ ।
राप्रपाका सबै घटकमा कृतध्न पञ्चहरुको मात्र उपस्थिति छैन । त्यहाँ इमान्दारहरुको पनि बाक्लो उपस्थिति छ । तर त्यो उपस्थिति निर्णायक तहमा बिल्कुलै छैन, अनि नेतृत्वसंग अनेकौ असहमति भए पनि अर्को विकल्प नदेखेर टाँसिन विवश छन् । राप्रपाहरुको एकीकरण चाहानेमा दुबै थरी सदस्यहरु छन् । सत्ता र शक्तिका भोका नेतृत्व वर्तमान संसदमा संख्या बढाएर मोलतोलमा बल पुर्याउन चाहेका छन् । इमान्दार कार्यकर्ताहरु मिलेर गएमा केही होला कि भन्ने आशामा छन् ।
ओली ढलेपछिको सरकारमा राप्रपाहरुले स्थान नपाउने आशंका थियो । त्यसैले बर्षौदेखि चर्चामा आउदै सेलाउदै गरेको एकीकरण एकाएक पसरालाई महत्वपूर्ण लाग्यो । कथा र पसराले एकिकरणको टुंगो मात्र लगाएनन् मिति नै घोषणा गरे संयुक्तरुपमा । सरकारमा आफ्नो स्थान यसले सुरक्षित गर्दछ भन्ने सोचमा गरिएको यो काम एकाएक भाँडियो । सरकारले पसरालाई चारो हाल्यो सरकारमा दल सामेलको निम्तो दिएर । अब पसरालाई कथाको आवश्यकता नै नपर्ने भयो । त्यसैले कथाको तेजोवध हुने गरेर थप्पड हानियो । कथा रन्थनाउनु थियो रन्थनाए , बर्वराउनु थियो आफ्ना आसेपासे सबै लिएर बर्वराउँदैछन् । उनको यो बर्वराहट एकीकरण नभएकोमा हैन सरकारमा जाने बाटो थुनिएकोमा हो ।
जो इमान्दारीले राप्रपाहरुमा सम्मिलित छ उनीहरुले बुझे हुन्छ यसबाट उनिहरुले मानेको सिद्धान्त कार्यन्वयन हुने छैन । जन्मदेखि अहिलेसम्म राप्रपा नामधारी दलहरुले देखाएको व्यवहार सिद्धान्त भन्दा अलग छ । यदि केही गर्ने नै हो भने पहिले यी खोलहरुबाट बहिर निक्लनु पर्दछ । निक्लेर हेरेमा उनीहरुले प्रष्ट देख्नेछन् कि हिजो यिनलाई निस्वाथ्र्य साथ दिनेहरुले आज साथ छोडिसकेका छन् । विभिन्न स्थानहरुमा विभिन्न नामले संगठनहरु भई रहेका छन् । अनि यस्ता संगठनहरु आपसमा कार्यगत एकताले जोडिने क्रममा छन् । सबै कुरा भन्दा माथि राष्ट्र र सबै झण्डा भन्दा माथि राष्ट्रिय झण्डा राखेर मुलुकको मुहार फेरी हसाउन राप्रपाहरु चाहिन्न ।
इमान्दारहरुले यस्ता मोर्चामा सामेल हुन अब ढिला गर्नु हुँदैन । नेपाल आमाको पुकार सुन्ने वेला यहि हो बेला बित्ला । कथा र पसराहरुलाई एक अर्कालाई थप्पड हान्न र तेजोवध गर्न स्वतन्त्र छोडिदिनु पर्दछ । विगतका लामा अनुभव र उदाहरणहरुले राप्रपाहरुबाट मुलुकको भलो हुँदैन भन्ने सावित भईसकेको छ । विकृति र विसंगति विरुद्धको अभियान त्यसैमा सामेल भएर, त्यसैको हिस्सा भएर हुँदैन । त्यसमाथि प्रहार गर्न अलग मोर्चा नै चाहिन्छ । सत्ताका लोभीहरुको साथ छुट्यो भनेर दुखी हुने हैन बरु खुशी मनाउने हो कि लक्षमा पुग्न रोक्ने बाधाबाट मुक्ति भयो ।
विराटनगर-१
२०७३ साउन २७ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित