ब्रेकिङ समाचार

बेसाहाराको साहारा बन्दै कुसुम साहारा

अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहाराको घर) बालबालिकाहरुको क्षेत्रमा कार्यरत एक विशुद्ध गैरसरकारी सामाजिक संस्था हो । यस संस्थाले बिगत ४ वर्षदेखि विविध कारणबस परिवार गुमाएका एवम् उचित स्याहार नपाएका बालबालिकाहरुको सुनौलो भविष्य निमार्णमा निरन्तर भुमिका खेलिरहेको छ ।

साहाराको घरको स्थापना २०६९ मा भएको हो । देशमा भएको जनआन्दोलनको बेला कयौ मानिसहरु हताहत हुन पुगेकाले कयौ बालबालिकाहरुहरु बेसाहारा बन्न पुगे भने यी पछिल्ला दिनहरुमा पनि राजनीतिक अस्थिरताका कारण दिनहुँजसो हुने बन्द, हडताल, तोडफोड, आगजनी, बमबिस्फोट, जस्ता दुर्घटनाहरुमा परि कैयौ बालबालिकाहरुले ज्यानै गुमाए भने कयौ बालबालिका अनाथ बने । विविध कारणबस बुवाआमाको न्यानो काख गुमाएका वा जोखिममा परेका बालबालिकाहरुलाई दिर्घकालीन संरक्षण सहित छोरी भित्रको सम्भावनाको खोजी गर्नु नै साहाराको घरको उद्देश्य हो र यहि उद्देश्य अनुरुप साहाराको घरले कार्य गरिहेको छ । हाल साहाराको घरमा १५ जना बालिकाहरु आश्रित रहेका छन् । परिवारमा आधारीत हेरचाहाका अतिरिक्त साहाराको घरले बालबालिकाको सर्वाङ्गिण विकासकालागि गुणस्तरीय शिक्षा एवम् शीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर र स्वाबलम्बी बनाउने योजना बनाएको छ । यसै संन्दर्भमा रहेर प्रस्तुत छ साहाराको घरकी आमा कुसुम साहारासंग सौरवले गरेको कुराकानीको सारसंक्षेप:

तपाईंले गरिरहनु भएको कार्यबारे केही बताइदिनुस न ?
– म एक सामाजिक अभियन्ताको सानो एक अंश हुँ अरु केही भन्न चाहन्न म आफैलाई आफैले चिनाउन त्यति उपयुक्त नहोला ।

तपाई आज साहाराको घर संचालन गरिराख्नु भएको छ के कुराले तपाइलाई यस कार्यमा क्रियाशील हुन प्रेरित गर्यो ?
– म पनि एक मध्यम वर्गको घर परिवार म जन्मेकी छोरी हुँ मैले सानै उमेरमा धेरै कुरा सिक्ने, बुझ्ने र देख्ने अवसर पर्याप्त रुपमा प्राप्त गरे । यसै अनुरुप म बाटोमा हिंड्दा सडक बालबालिका जाडोको समयमा सडकको पेटी पेटीमा बोरा ओडेर सुतेको धेरै देखें र त्यसमा पनि छोरीहरुको अवस्था झनै दयनीय थियो । अनि म त्यो देखेर धेरै भाबुक बन्ने गर्थें । राति सुत्दा पनि त्यो दृश्यले निकै छटपटी हुने गर्दथ्यो । ती बालबालिका भित्र अथाह सम्भावना देख्थें । आज पनि समाजमा प्राकृतिक परिवारमा छोरी भित्र खासै सम्भावनाको खोजि गरिएको पाईदैन झनै बुवा आमाकै काख गुमाएका अबोध बालापनमै सडकमा उच्च जोखिम मोल्दै भविष्यले अन्धकार तिर धकेलिरहेका देखेपछि संरक्षणको सानो सुरुवात भएपनि प्रयासको सुरुवात अनुरुप साहाराको घरको आवश्यकता महसुस भएको हो ।

तपाइले बालबालिका कै क्षेत्र किन अंगाल्नु भयो ?
– साहाराको घर बेसहाराहरुको साझा चौतारी हो । जसको कोहि छैन त्यसको लागि साहारा बन्ने प्रयास गरिरहेका छौ । हामीले अन्य बेसहाराहरुलाई पनि आपतकालीन सेवा दिएका छौं भने दिगो संरक्षण बेसहारा छोरीहरुलाई दिदै आएका छौं । मानिस जन्मदै ठुलो मान्छे हुँदैन मानिस विकासको क्रम बालबालिकाबाट नै सुरुवात हुने हो । हामीले यिनै बालबालिकालाई सानैमा उचित किसिमको वातावरण उपलब्ध गर्न सक्यौ भने उचित वातवारण पाएका बालबालिका सरह संरक्षित हुने देख्यौं र बालबालिकाको क्षेत्र नै अगाल्न पुगेकी हुँ ।

साहाराको घरमा कस्ता बालबच्चालाई आश्रय दिनुभएको छ ?
– सर्वप्रथम त बच्चा लैङिगक हिसावमा छोरी बालिका हुनुपदर्छ । यसको मतलव हामी बालक वा छोराहरुको हितमा कामै गर्दैनौ भन्ने चाहि होईन । तत्पश्चात आवश्यक कागजात सहित प्राप्त निवेदनहरुमध्ये संवेदनशीलतालाई हेरेर प्राथमिकताको आधारमा बच्चा भर्ना गरिन्छ तर भर्ना अगाडी हाम्रा सहकर्मीहरुले सम्बन्धीत ठाउँमा नै गएर स्थलगत अनुसन्धान समेत गर्दछन् ।

सेवाको नाममा धेरै बाल आश्रमहरु संचालित छन, धेरैले सेवा भन्दै आफ्नै स्वार्थपूर्ति गर्ने काम गरेका छन्, अरु भन्दा तपाईमा के फरक छ ?
– मलाई अरु आश्रमका बारेमा केही भन्नु छैन सायद सबैले राम्रै गरिरहनुभएको छ । तर साहाराको घर कुनै पनि नकारात्मक सोच विचारका साथ संचालन भएको हैन । यो साहाराको घर बाहिरबाट हेर्दा सामाजिक संस्था भएपनि यसको आत्मा भनेको बच्चाहरुले आफ्नै घरको जस्तो अनुभूति गर्नु हो । परिवारमा आधारित दिर्घकालिन संरक्षण साहाराको घरको विशिष्ठ पहिचान हो । यहाँ बालबालिकाहरुलाई केवल सामान्य खान बस्न र पठनपाठनको व्यवस्था हुनु मात्र होईन आजको आवश्यकता र परिवेश अनुसारको पारिवारिक वातावरण तथा आत्मिक र भेदभावरहित सम्पूर्ण किसिमले सक्षम बनाउने अठोट सहितको दीर्घकालीन सोचका साथ केही गरौ भन्ने भावनाले उत्प्रेरित भएको बच्चाहरुको आफ्नै घर हो । परिवारका सदस्यबीच विश्वासनीयता एवम अटुट सम्बन्ध स्थापित गर्दै बालमैत्री पारिवारिक वातावरणमा बालबालिकाहरुको सर्वांगिण विकासमा अग्रसर हुने हाम्रो कार्यपद्धतिले हामीलाई अरु भन्दा पृथक बनाएको छ ।

नि:स्वार्थ अरुको सेवा गर्नु कठिन कार्य हो । यो सेवामा लागि रहदा कस्ता–कस्ता दु:ख पीडाहरु भोग्नु पर्‍यो ?
– अवश्य पनि कठिन कार्य हो । सेवाको दौरानमा विभिन्न थरीका कठिनाई नआएका होईनन् अवश्य पनि आए तर धैर्य र साहासका साथ सो कठिनाईलाई पार गर्दै अगाडी बढ्ने कोशिस गरीरहेका छौ । हामीलाई स्वच्छ आत्माले मात्रै नभई केही विभिन्न मनसाय राखी सहयोगका हात अगाडी बढाउनेहरु पनि नआएका होईन तर हामीले स्वार्थी मनलाई टाढैबाट चिन्ने कोशिस गरी सहकार्य नै गरेनौ र गर्ने छैनौ । सेवाका क्रममा अनेकथरीका मानिसहरु भेटिए कतिले त विदेशी डलर पचाउन बच्चालाई माध्यम बनाएको पनि भने निस्वार्थ सेवामा लागिरहँदा यस्ता शव्दले मन असाध्यै रुँदो रहेछ । भित्री व्यथा के छ थाहा छैन् उनीहरुलाई तर हामीलाई साँच्चै आत्मादेखि नै नि:स्वार्थ भावनाले साथ सहयोग र सल्लाह दिनुहुने सहयोगीहरुको साथले निरन्तर अगाडी बढ्ने उर्जा मिलीरह्यो ।

कहिल्यै तपाईलाई यो सेवामूलक काममा किन लागें भन्ने भावना मनमा जाग्यो ?
– अहँ ! कहिल्यै त्यस्तो लागेन । यो मेरो अन्तरमनको चाहाना हो सामािजक कार्य कठिन कार्य हो । अझै अपजसिलो कार्य पनि हो तर मैले सेवाको कार्यमा लाग्दा मलाई आउन सक्ने कठिनाईको बारेमा पहिल्यै सोचेकी थिएँ र जस्तोसुकै कठिनाईहरु आई परे पनि यो कार्यमा लागेरै छाड्छु भन्ने दृढबिश्वासका साथ कदम चालेकी हुँ । फेरी आफ्नो रुचीको कार्यमा लाग्दा थकान महसुस नै हुँदैन रहेछ फेरी दृढविश्वास बिना यो कार्य सम्भव पनि छैन ।

कहिले काँही आश्रमका बालबच्चालाई माग्न पठाउने, श्रम गर्न पठाउने, खानेकुरामा शुद्धता नभएको, यौन शोषण, मानसिक शोषण भयो भन्ने कुरा बारम्बार किन आउँछन्, तपाईले कसरी व्यवस्थापन गर्नु भएको छ ?
– हो मैले पनि यस्ता खबरहरु सञ्चार माध्यम मार्फत पटक–पटक सुन्ने र पढ्ने गरेकी छु । साह्रै दु:ख लाग्छ । केहीले गलत नियतले यसो गरे तापनि सबैले यस्तो गतल कार्य गरेका हुँदैनन् । हामीले बालबालिकाको सर्वोच्तम हितमा रहेर कार्य गर्दै आएका छौं । हामीले सकेसम्म बालबालिकालाई प्राकृतिक पारिवारिक वातावरणको प्रत्याभूति गराउने कोसिस पनि गरिरहेका छौं र यही अनुरुपका कार्यहरु गर्दै आईरहेका छौं ।

भनिन्छ बच्चाहरुको मुस्कानमा भगवानको बास हुन्छ । के तपाई बालबच्चाहरुमा त्यही किसिमको मुस्कान ल्याउनको लागि यो क्षेत्रमा प्रवेश गर्नु भएको हो ?
– अवश्य हो ।

अधिकांश आश्रमहरु विदेशी दाताको सहयोगमा निर्भर रहन्छ । तपाईहरुले आश्रम सञ्चालनकोलागि आर्थिक व्यवस्थापन कसरी मिलाउनु भएको छ ?
– हालसम्म साहाराको घरको दिगो आर्थिक स्रोत नभएतापनि स्थानीय सहयोगी दाताहरुको नगद तथा जिन्सी सहयोगबाट नै चलेको छ । सरकारी तथा गैरसरकारी स्तरबाट प्रशाासनिक सहयोग बाहेक हामीलाई खास सहयोग प्राप्त भएको छैन । बरु बिदेशमा रहनुभएका तमाम सह्दयी दाताहरुको सहयोगको भरमा नै संस्था सञ्चालन भै रहेको छ । देशविदेशमा रहनुहुने मनकारी आत्माहरुले हाम्रो कार्य र अवस्था प्रति चासो देखाई बालबालिकाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न स्वईच्छाले आर्थिक सहयोग गर्दै आउनुभएको छ साथै निरन्तर सञ्चालनका लागी सहयोग गरीदिनुहुन म यहि पत्रिका मार्फत सबै मानविय आत्माहरुलाई सहयोगको याचना गर्दछु कि यो संस्था तपाईहरुकै संस्था हो कसरी सञ्चालन गर्दा अझ बालबालिकाहरुका लागी प्रभावकारी हुन्छ कृपया सुझाव सल्लाह दिनुहुन र सकरात्मक भावनाले सोचिदिनहुन पनि अनुरोध गर्दछु ।

सहाराको घरले बालबच्चाहरुलाई आश्रय मात्र दिने काम गर्छ कि व्यक्तित्व विकासकालागि अन्य अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गर्ने गरेको छ ?
– हामीले केवल आधारभूत आवश्यकता मात्रै नभई बालबालिकाको रुची अनुसारका अन्य अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी गराउँदै आएका छौं । बालबालिकाहरुको व्यक्तित्व विकासका लागि शिक्षा मात्रै नभई खेलकुद, मनोरञ्जन तथा संगितको पनि उचित प्रबन्ध मिलाएका छौ ।

आगामी दिनमा तपाईको र सहाराको घरको लक्ष्य के छ ?
– साहाराको घरले हाल १५ जना बालिकाहरुलाई संरक्षण दिदैं आइरहेको छ । रुपन्देहीमा समेत शाखा बिस्तर गर्न सफल भएका छौं । आगामी दिनमा अझै धेरै बेसाहाराहरुलाई साहारा दिई छोरीहरु भित्र सम्भावनाको खोजी गर्नु हाम्रो मुख्य उद्देश्य हो । तर साँच्चै भन्नु पर्दा हामी भौतिक रुपमा सम्पन्न भने छैनौं । हाल भाडाको घर प्रयोग गर्दै आइहेका छौं । त्यसैले अब विभिन्न सहयोगी दाताहरुबाट सहयोग संकलन गरी बालमैत्री वातावरण सहितको आफ्नै भवन निर्माण गर्ने दृढ सोच रहेको छ ।

कसैले तपाईको संस्थालाई सहयोग गर्ने सोच बनायो भने कसरी सम्पर्क गर्न सक्ने छन् ?
– हामीलाई भरतपुर–११, पोखरीटोल चितवनस्थित साहाराको घरमा नै आएर सहयोग गर्न सकिन्छ । यसको अलवा हाम्रो फेसवुक पेज मार्फत पनि संस्थाको विषयमा जानकारी लिन र सहयोग गर्न सक्नुहुनेछ । अझ सहजका लागि साहारा घरको फोन न ०५६–५३२०२६ मा सिधा सम्पर्क गर्न सकिनेछ ।

२०७३ साउन २७ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित