त्यो एक रात”
 – सीता पौडेल
– सीता पौडेलढकढक... अचानकको त्यो आवाजले म झसँग भएँ झ् बाहिर डरलाग्दो मेघ गर्जन सहितको मुसलधारे पानी परि रहेको थियो, फेरि आजै मन पनि विचलित थियो, नानाथरीका कुराहरू खेलिरहेका थिए झ् निद्रा देवीले पनि टाटा गरेर गइसकेकी थिइन । फेरि यतिबेला यो मध्य डर लाग्दो रातमा को हुन सक्ला ? मनले तर्क गर्न थाल्यो । उठेर ढोकानिर गएँ तर ढोका खोल्ने आँट गर्न सकिन झ् त्यहीँ उभिएर केही बुझ्ने प्रयास गरें त्यतिकैमा फेरि ढकढक सहितको रुञ्चे आवाज आयो ढोका खोल्नुस् न ।
म आँफुलाई रोक्न सकिन हतारिंदै ढोका खोलें बाहिर आठ नौ वर्षकी एउटी बच्ची पानीमा निथरुक्क भिजेर लगलग कामी रहेकी थिई । मैले हतारहतार उसलाई भित्र ल्याएर ढोका लगायें अनि टावेलले उसको कपाल अनि जीउ पुछ्दै उसलाई सोधेँ को हौ तिमी ? यति राती यस्तो डर लाग्दो मौसममा एक्लै कहाँ हिंडेकी ? तिम्रो आमाबाबु खोई ? तिम्रो घर कहाँ हो ? एकैपटक प्रश्नहरुको वर्षात गरेर म उसको लागि दूध तताउन भान्सा तिर लागें । ऊ मेरो पछिपछि आई र मेरो हात समाउँदै प्रश्न गरी मेरो आमा किन तपाईं जस्तो हुनुहुन्न ? उसको अचानकको यो प्रश्नले म केही असहज भएँ तर आफुलाई सम्हाल्दै उसलाई भनें तिमी बस्दै गर म दूध लिएर आउँछु । ऊ ज्ञानी बच्ची झैं गएर बसी तबसम्म मैले आफुलाई केही सहज बनाएँ र दूध र केही बिस्कुट लिएर उसको छेउमा बसें ।
उसले दूध पिउँदै भनी आन्टी मेरो आमा हुनुहुन्न वहाँ भगवान भएको ठाँउमा जानु भयो रे, मेरो बुवाले धेरै रक्सी खानु हुन्छ अनि सौतेनी आमाले पनि मलाई माया गर्नु हुन्न । जति काम गरे पनि बुवालाई कुरा लगाएर कुटाउनु हुन्छ । आज धेरै समय पछि म दूध पिउँदै छु, घरमा आमाले भाई बहिनीलाई मात्र दिनु हुन्छ । आज त झन् आमाले बुवासंग झगडा गरेर मलाई घरबाट निकाल्न लगाउनु भयो । मैले कति घरहरुको ढोका ढकढकायें तर कसैले पनि खोलेनन् । अनि हजुरकोमा आई पुगें । उसको कुराले कतिखेर मेरो आँखाबाट आँसु बग्न थालेछ थाहै पाइनँ उसले भन्दा पो थाहा भयो आन्टी किन रुनु भएको हो भनेर ? हतारहतार आँसु पुछे अनि अबेर भइ सक्यो अब तिमी सुत ल भनेर उसलाई मेरै ओछ्यानमा सुताएर म उठेर झ्याल नजिकैको कुर्सीमा गएर बसें ।
यस्ता घटनाहरु मेरो लागि नौलो थिएन, एउटा सानो अनाथाश्रममा सहभागी भएर यस्तै पीडित बालबालिकाहरुलाई ओत दिने प्रयास गर्दै आएको पनि लगभग दस वर्ष हुन लाग्यो । तिनीहरूको आँखाको आँसु पुछेर थोरै भए पनि हाँसो ल्याउन पाउँदा आँफुलाई केही शान्तिको महसुस हुन्छ । सामान्य शिक्षा र सानातिना शीपहरुले उनीहरुको भविष्यमा केही मात्रामा भए पनि हिम्मत र हौसला मिलोस भन्ने चाहना हो । सहयोगी मनहरुबाट पाएको सहयोग र सल्लाहले मलाई अझै हौसला मिलेको छ यो अनाथाश्रम चलाउन । जीवनका केही घटनाहरु र आई परेका अप्ठ्यारा मोडहरुले नै वास्तविक जीवनको परिचय बनेको थियो यो मेरो सानो आश्रम । जबजब यस्तो डरलाग्दो मेघ गर्जन सहितको वर्षा हुन्छ तबतब मेरो मन भवसागरको भेलमा डुब्न् लागेको मानिसको जस्तै हुन्छ ।
कहिलेसम्म यसरी पालेर राख्ने हो यसलाई खुरुक्क एउटाकोमा काम गर्न नपठाएर भन्ने दिनहुँको कर्कसे स्वर, एउटा तिरस्कारको भावना अनि अमानवीयपनले दिनहुँ डरले नतमस्तक हुने गथ्र्याे यो सिर, अभद्र व्यवहारले दिन प्रति दिन मन छिन्नभिन्न भइरहेको थियो । सानो उमेर चर्को बोली सुन्दा त डरले थर्कमान हुने बिचरी के गरोस्, कहाँ कोसँग कसरी गुहार मागोस् ? होस सम्हाले देखिकै यो क्षुद्र व्यवहारले दिक्क भएकी एकदिन घर छोड्ने निर्णय गर्छे । त्यो रात यस्तै तुफानी रात थियो डर लाग्दो घनघोर वर्षा र जमीन नै थर्कमान हुने गरि गर्जिने मेघगर्जन । तर मन एकतमासको सोचाइमा डुबेको अनि बिना गन्तव्यको यात्रामा बड्दै गरेको पाइला तुफानको वेगले घरी यता घरी उता हुत्तिदै गरेको त्यो सानो जिउ । उफ झ्झ् यो ईश्वरीय जगतमा सबैको आ–आफ्नै भोगाइ ।
मात्र तेह्र वर्षकी थिइ ऊ । बढ्दै गरेको उमेर फेरि एक्लोपन सजिलो कहाँ थियो र ? त्यसरी नै कहिले कता कहिले कता गरेर दिनरात बिताइरहेकी थिई उ । एकदिन उ हिंड्दै गर्दा एउटा अनाथाश्रम देख्छे र उसलाई त्यहाँ जान मन लाग्छ, उ त्यहाँ जान्छे आफू जस्तै थुप्रै केटाकेटीहरु देखेर उसलाई पनि त्यहीँ बस्न मन लाग्छ । उ उभिएर त्यहाँ हेरिरहेकी थिई त्यतिकैमा एकजना भद्र महिला त्यहाँ आइन उनी लगभग पचास ( पचपन्न वर्षकी थिइन् । कसलाई खोजेको नानी भनेर प्रश्न गर्दा उसले आफ्नो सारा कथा बताउँछे र भन्छे के म यहाँ बस्न सक्छु ? म काममा पनि सघाउने छु झ् ती विशाल ह्दय भएकी महिलाले भनिन् हुन्छ किन नहुनु तिमीहरू जस्ता बेसहाराहरुको सहयोगको लागी त यो आश्रम खोलिएको हो । ऊ खुशी हुन्छे त्यहाँ बस्न पाएकोमा एउटा दह्रो ओत पाएकोमा । दिनहरु बित्दै जान्छ समय संगसंगै उसमा पनि परिवर्तन आउँछ मानसिक तथा शारीरिक दुबैमा ।
ऊ सबै भन्दा एकदम फरक थिई । परिपक्व सोच, कम बोल्ने, दिइएको जिम्मेवारीलाई राम्रोसँग निभाउने । त्यहाँ हुर्किदै गरेका केटाकेटीहरु आ–आफ्नो शीप र ज्ञान अनुसार आफ्नो जीवनका आगामी दिनहरू आफ्नै तरिकाले बिताउने उद्देश्यले आ–आफ्नो गन्तव्य तिर लाग्छन् भने ऊ त्यही आश्रममा नै सेवा गर्ने उद्देश्यले त्यहीँ बस्छे । उसको त्यो उदार भाव र सहयोगी मन देखेर सबै उसलाई माया गर्छन् । आफुले जानेको हरेक सीप, ज्ञान, कला ऊ स्वच्छ मनले अरुलाई सिकाउने गर्थी । आफ्ना विगतका डर लाग्दा दिनहरू जस्तो अरु कसैले नभोगोस भन्ने चाहना थियो उसको । समय बित्दै गयो केही वर्ष पछि त्यो आश्रमको देखरेख गर्ने ती भद्र महिलाको निधनले गर्दा त्यस आश्रमको अरु सदस्यहरुले त्यस् आश्रमको जिम्मेवारी उसलाई दिन्छन् । ऊ पनि स्वच्छ मनले सेवामा आफुलाई समर्पित गर्छे । यसरी बितीरहेका थिए उसका दिनहरु ।
त्यो एकरातको निर्णयले आज ऊ आफ्नो अलग्गै पहिचान बनाउन सफल भएकी छे । सेवा नै धर्म हो भन्ने भावनाले ओतप्रोत भएकी शान्तिको आश्रमको नाम पनि शान्ति आश्रम हो ।
समय चाहे जति परिवर्तन होस् तर उ भित्र को एउटा भाव अझै परिवर्तन हुन सकेको छैन त्यो हो जबजब डर लाग्दो तुफानी रात आउँछ तबतब उ विचलित हुन्छे । एक किसीमको अनौठोपनको आभास हुन्छ । आत्मबल कमजोर भएको महसुस गर्छे । र आज .... आज त्यो बच्चीको कथा उसको आफ्नै कथा जस्तै भएर उभिएको छ उसको सामु । आन्टी त्यो बच्चीको आवाजले विगतका दिनहरुको सोचमा हराएकी म झलयास्स हुन पुगें र त्यो बच्चीलाई अँगालेर धेरै माया गरें ।
क्राइमचेक साप्ताहिकमा २०७३ भदौ ०९ गते बिहीबार प्रकाशित
 
 
 
 
 
 
 
 
 
 
 
 
