ब्रेकिङ समाचार

राष्ट्रिय जनता पार्टी (राजावादी) ले गणतन्त्रको संविधान नमान्ने– महतो

क्राइमचेक प्रतिनिधि/
वीरगंज/ राष्ट्रिय जनता पार्टीका अध्यक्ष किशोरी महतोले गणतन्त्र नेपालको संविधान नमान्ने बताउनु भएको छ ।

सनातनी हिन्दू अधिराज्यका हिमायती नेपाली जनताको चाहना र इच्छा विपरित लागु गरिएको संविधान २०७२ देश र जनताको हित भन्दा अहितकारी भएकाले कुनै पनि सार्वभौम नागरिकले यो संविधान मान्न नहुने धारणा राखेका छन् ।

गणतन्त्र नेपालको संविधान २०७२ को खारेजी र नेपाललाई हिन्दू अधिराज्य कायम हुनु पर्ने दुई सूत्रीय अभियानसहित संघर्षमा उत्रेको राष्ट्रिय जनता पार्टी (राजावादी)ले वर्तमान गणतान्त्रिक संविधान २०७२ खारेजी गरी हिन्दू अधिराज्य सहितको संविधान लागु गर्नुपर्नेमा जोड दिनु भयो ।

क्राइम चेकसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष किशोरी महतोले विदेशी राष्ट्रको इशारामा स्थापित संविधान २०७२ नेपालीहरूकालागि द्वन्द्वको दस्तावेज भएकोले सो संविधान जारी गरेको दिनलाई कालो दिवसका रुपमा मनाउने तयारी गरिरहेको बताए ।

सम्पूर्ण नेपालीको साझा संस्थाको रुपमा रहेको राजसंस्था बिना देशको हित, एकता, विकास र सार्वभौमिकताको रक्षा हुन नसक्ने भन्दै अध्यक्ष महतोले सम्पूर्ण देशवासीलाई हिन्दू अधिराज्य पुर्नस्थापना महाअभियानमा सहभागी हुन आग्रह गरे ।

निर्वाचन आयोग नेपालमा २०६४ सालमा आधिकारीक रुपमा लोक कल्याणकारी नेपालको नाममा दर्ता भएपनि हालै संशोधन गरी राष्ट्रिय जनता पार्टी (राजावादी) कायम गरिएको  अध्यक्ष महतोले बताए ।

(२०७३ कार्तिक २३ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित)