ब्रेकिङ समाचार

बलात्कारको मनोसामाजिक कारण

– धर्मानन्द जोशी

केही दिनअघि एकजना प्रहरीले एउटी बोल्न नसक्ने (लाटी) युवतीलाई बलात्कार गरेको समाचार पढेको थिएँ । ती प्रहरीलाई कारवाही भयो कि भएन थाहा छैन । तर बलात्कार जस्तो गम्भीर अपराधमा बारम्बार प्रहरी र सेना मुछिनु वा आरोपित हुनु जति निन्दनीय छ त्यति नै सोचनीय पनि छ । बलात्कार कसैको हत्या गर्नु भन्दा गम्भीर घृणित अपराध हो । यो मानव सभ्यताका लागि एउटा नमेटिने कलँक पनि हो । जसले पीडिकलाई हैन पीडितलाई जिन्दगी भरिकालागि रुवाउँदछ ।

संधैजसो बलात्कारको घटना भइरहन्छ, कहिले अपराधी समातिन्छन्, कहिले स्वतन्त्र भएर छाती तानेर हिंडछन् । तर जसले यो पीडा भोग्छ उसको त जिन्दगी नै संधैकालागि खलबलिन्छ । बलात्कार एउटा समाजाकि अपराध र समस्या मात्र हैन एउटा मनोसामाजिक समस्या पनि हो । जसप्रति हाम्रो समाज र सरोकारवालाहरुले आँखा चिम्लिेका छन् ।

करिब साढे तीन वर्षअघि वैदेशिक रोजगारीबाट फर्केकी सीता राईलाई विमानस्थलमा कार्यरत एकजना प्रहरीले बलात्कार गरेका थिए । विदेशबाट फर्केको दिन सीता राईको सामान रोकिदिएका ती प्रहरीले भोलिपल्ट आफ्नो सामान लिन जाँदा राईलाई एक्ला भएको मौका छोपेर बलात्कार गरेकाथिए । प्रथम र दोस्रो बिश्व युद्धका बेला थुप्रै महिलालाई सेनाले बलात्कारको शिकार बनाएको थियो । सेनाबाट कतिवटा गाउँ नै पीडत भएको पनि समाचार नपढिएको हैन । यो मनोरोग हो कि परिवारबाट टाढा भएर र एक्लिएको समयमा पुरुषहरुमा उत्पन्न हुने सामाजिक समस्या हो ?

यहाँ बलात्कारीको पक्ष लिन र उनीहरुप्रति सहानुभूति राख्न खोजिएको हैन । बलात्कार एउटा संगिन अपराध हो र यसमा बलात्कारीले हदैसम्मको सजाय पाउनै पर्दछ भन्नेमा कुनै दुईमत छैन । तर बलात्कारीको लिँग काट्दैमा, उसलाई नाँगै जलाउँदैमा वा फाँसीमा झुण्ड्याउँदैमा यो समस्या समाधान हुँदैन । एउटा अपराधलाई अर्को अपराध वा दण्डले कम गर्दैन कि झन यो मौलाउन थाल्छ । त्यसैलाई समस्याको जरोसम्म जानु आवश्यक छ ।

संसारका साढे सात अर्ब मानिस सबै मातापिता वा स्त्री, पुरुषको सम्बन्धबाट नै जन्मेका हुन् । यहाँ कोही भगवान शिव जस्तो प्रकट भएका हैनन् कि स्त्री र पुरुषको मिलन अर्थात रगत र वीर्यको समागमबाट जन्मेका हुन् । हरेक जीव वा प्राणीमा सृष्टिकालागि प्रकृतिले भाले र पोथीको सहवासलाई आधार बनाएको छ । झन मानिस त सृष्टिको सबैभन्दा चेतनशील र उत्कृष्ट प्राणी हो । मानिसले आफ्नो माया विपरीत लिंगीप्रति विभिन्न भाव, भँगिमा र कार्यबाट प्रकट गर्दछ ।

व्यस्क भैसकेपछि मानिसले आफ्ना भावना र चाहनालाई प्रकट गर्न साथी खोज्छ नै । जसलाई हाम्रो समाज र संस्कृतिले विवाहको रुपमा दुई स्त्री, पुरुषलाई आफ्नो चाहना र प्रेम प्रकट गर्न अनुमति दिन्छ । हुन त हाम्रो समाजले विवाहलाई सन्तान उत्पादनकालागि लाइसेन्सको रुपमा पनि व्याख्या गरेको छ ।

तर उमेर पुगेका युवा, युवतीले आफ्नो मन मिल्ने साथीसँग माया साटेर सन्तुष्टि लिने गरेका छन् । दुई व्यक्तिबीच आपसी सहमतिमा माया र विश्वासलाई आधार बनाएर शारीरिक सम्बन्ध कायम हुन्छ भने त्यो अरुकालागि आपत्तिजनक र टाउको दुखाईको विषय हैन ।

हम्रो सिनेमा, साहित्य सबै माया, प्रेम, सौन्दर्य र शारीरिक आकर्षण र सम्बन्धले भरिएको छ । हामी तिनलाई पढ्छौं, हेर्छौ र स्विकार गर्दछौ ।

हाम्रो देशमा खुलेका विभिन्न एनजिओ र आईएनजिओहरुले पनि सीमामा रहेर सुरक्षाका विभिन्न विधि अपनाउँदै गरेको शारीरिक सम्पर्कलाई उचित मात्रै मानेको छैन कि त्यसलाई बढावा पनि दिएको छ । त्यसलाई हामी परिवार नियोजनका विभिन्न साधनहरुलाई एनजिओ र आइएनजिओहरु आफैले प्रचार, प्रसार गरेको देखेकै छौं ।

जब सबैले मानिसकेको र स्त्री, पुरुषको सम्बन्ध सृष्टिको आधार मानिएको दुबैको मिलन बिन्दुलाई ती प्रहरी र सेनाले पनि अवश्य पढेका, देखेका, सुनेका र भोगेका अवश्यै होलान् । समाज र परिवारबाट टाढा रुखो र फुस्रो जीवन बिताउन बाध्य सेना र प्रहरीलाई पनि त माया र प्रेम चाहिन्छ नि । उनीहरुलाई पनि आफ्नो श्रीमती वा प्रेमिकाको न्यानो अँगालोमा कसिन मन लाग्छ । रातदिन अपराध र अपराधीको बीचमा बस्दा, बस्दा सेना वा प्रहरीको दिमाग र सोच्ने शक्तिमा पक्कै पनि यसले नकारात्मक असर पार्छ होला ।

सीमामा वा लडाईंको मैदानमा दुश्मनसँग लड्दा, लड्दा थकित र गलित भएको सैनिकले जब कुनै सुन्दर युवती देख्छ तब उसले उसको माया वा शरीर पाउन जबरजस्ति गर्न थाल्छ । महिनौंदेखि स्त्रीसुखबाट वञ्चित जब कुनै प्रहरी र सैनिकले नजिकबाट कुनै स्त्रीको दर्शन गर्ने मौका पाउँदछ त्योबेला उसको मनमा माया वा अपराध दुबै भाव जन्मिन्छ ।

युवती मानि भने त ठीकै छ हैन भने उसले बलात्कार गर्न पनि लाज र डर मान्दैन । मरुभूमिको उजाड जीवनमा कुनै महिला देखिनु नै तिर्खाएको मृगले पानी भेटे जस्तै हुन्छ । कतिपय गलत कार्यलाई गलत हो भन्ने जान्दा जान्दै पनि आफ्नो तात्कालिक इच्छालाई पूरा गर्ने नाउमा अपराध गरिरहेका हुन्छन् ।

एकजना परिचित जो सरकारी अधिकृत थिए । उनकी श्रीमती उनीभन्दा पनि धेरै पढेकी र आईएनजिओमा काम गर्नुका साथै उनीभन्दा १० गुणा बढी कमाउँथिन । श्रीमती संधै काम विशेषले देश र विदेशको यात्रामा गइरहने तथा श्रीमानको शारीरिक इच्छा पूरा नहुंदा उनी घरेलु कामदारसँग पनि सम्बन्ध बनाइरहेको अवस्थामा समातिए । उनी कतिसम्म शारीरक क्षुधापूर्तिकालागि आतुर थिए भने आफ्नो घरमा केही दिनकालागि आएका पाहुना (महिला) लाई पनि जबरजस्ति गर्ने गर्दथे ।

उनको श्रीमतीलाई श्रीमानको यो खराब बानी थाहा थियो । तर पनि उनी यसप्रति बेवास्ता गर्थिन् । जसलेपछि भयावह मोड लियो र पछि उनी पागल झैं भए । एक प्रहरी अधिकृतले बताए अनुसार कुनै–कुनै पुरुषमा शारीरिक सम्बन्धको चाहना बढी हुने र उनीहरुमा यसप्रति उत्तेजना बढाउने हार्मोनको उत्पादन पनि बढी हुने गरेकोले गर्दा आफुलाई नियन्त्रण गर्न सक्दैनन् । जसले गर्दा बलात्कारको रुपमा अपराध कर्मको जन्म हुन्छ । हाम्रो गाउँघरमा अहिले पनि महिलाहरुले वैवाहिक बलात्कारको शिकार भइरहनु परेको दु:खद त्रासदी एकातिर छ भने आफ्नो शरीरको आवश्यकता पूरा हुन नसक्दा वा यसलाई नियन्त्रणमा लिन नसक्दा हिंस्रक भनेको पुरुषको समस्या अर्कातिर छ ।

बलात्कार निश्चय पनि गम्भीर सामाजिक अपराध हो । तर यो किन हुन्छ कसैले यसको मनोसामाजिक कारण केलाउन चाहेको छैन । जब मेडिकल साइन्सले, हाम्रो विवाह पद्धतिले स्त्री, पुरुषको मिलन र आवश्यक्तालाई सही ठान्दछ भने त्यो कुरा उमेर पुगेर पनि निर्वाध रुपमा नपाउँदा पुरुष मनोविज्ञान बहुलाउँछ नै । आखिर कसलाई पो परिवार र प्रेम चाँहिन्दैन र मन पर्दैन होला ?

(प्रकाशन मितिः २०७३ भदौ १६ गते विहीबार)