ब्रेकिङ समाचार

स्वाभिमानी हिन्दू अधिराज्य नेपाल अभियानः अवधारणा पत्र

केहीलाई छोडेर सबै जसो नेपाली स्वाभिमानी हिन्दू अधिराज्यको पक्षमा छन् । तैपनि यो हुन सकिरहेको छैन । यस्तो किन भई रहेको छ ? अनि यो कारण कसरी निराकरण हुन सक्ला र एक अभियानको रुप लेला ? यही सोचले यो एक संगठन नभएर काममा मात्र एकता गर्ने अभियानको अवधारणा जन्मेको हो । लामो हुने कारणले यसमा बुँदा टिपोटको रुपमा उल्लेख गरिको छ । आवश्यक बुँदामा गहन छलफल  आव्हान पनि छ ।
नामको व्याख्या
सबैभन्दा धेरै भ्रान्ति यिनै शव्दहरुको परिभाषामा हुने गरेको छ । अनेकौ तर्क र व्याख्या हुन सक्छन् । यो अभियानमा यी शब्दहरुको आधिकारिक परिभाषा र व्याख्या हो ।
“स्वाभिमानी” : अन्य मुलुकको दवाव हैन शान्तिपूर्ण सहअस्तित्वको मान्ने 
सामान्यतया स्वाभिमानी भन्ने वित्तिकै मुलुक विषेशलाई गाली गर्ने, त्यो मुलुकको प्रतिद्वन्द्वी मुलुकसँग लम्पसार पर्नु हो भन्ने भ्रान्ति व्याप्त छ । कसैको अनुचित दवाव नसहने, आन्तरिक मामिलामा सल्लाह सुने पनि हस्तक्षेप सहने । आफुलाई होच्याएकोमा प्रतिरोध गर्ने अरुलाई पनि अनावश्यक नहोच्याउने अनि शान्तिपूर्ण सहअस्तित्वको आधारको व्यवहार गर्ने मुलुक स्वाभिमानी हो ।
“हिन्दू” : चन्दने, कन्दनेहरुको परिभाषा भन्दा अलग नेपालको परम्परागत संस्कृति र सहअस्तित्व भएको समाज भएको
धर्म निरपेक्ष भन्न थालिए पछि सबैभन्दा धेरै अपव्याख्या भएको शब्द हिन्दू हो । चन्दन लगाएर मन्दिरमा गएर वा भजन गरेर हिन्दू होइन्छ भन्ने सोच फैलिएको छ । नेपालीहरुले चाहेको हिन्दू सापेक्ष भनेको पुराण लगाएर पैसा उठाउनु, मन्दिर गएर नित्य घन्टी बजाउनु वा फलाना चिलाना देवताको पुजा गर्नु होईन । सनातनदेखि आफुले मान्दै आएको कुल परंपरा, संस्कृति, रितीरिवाज सहितको नेपाली समाज हो । हिन्दू अधिराज्य भन्नुको अर्थ धर्मको नाममा राजनीति हैन बरु राजनीतिलाई धर्ममा मुछ्नबाट बचाउन हो ।
“अधिराज्य” : राजसंस्था उच्च स्थानमा रहेको राजा र जनताको सौहार्द सम्बन्ध कायम भएको मुलुक
“राष्ट्रवाद”: यस्तो नेपाललाई माया गर्ने , नेपाल राष्ट्रका यी सबै तत्वलाई सम्मान र संरक्षण गर्ने वाद
राष्ट्र जनता, राजासंस्था अनि पारम्पारिक गौरव अनुभूतिले आपसमा जोडिने भावनाको संयुक्त रुप हो भुगोलले देखाएको देश पनि हुन्छ । अर्थात कुनै देश राष्ट्र बन्न यी सबै तत्वको आवश्यकता पर्दछ मात्र भुगोलले देश बन्छ तर राष्ट्र बन्दैन । त्यसैले राष्ट्रवाद भाषामा, पोशाकमा मात्र सिमित हुँदैन । राष्ट्र बन्ने यी सबै तत्वको आदर गर्ने र यसको निमित्त समर्पण गर्ने भावना राष्ट्रवाद हो ।
यहाँ हिन्दू अधिराज्य र गणतन्त्रको छनक दिने हिन्दू राष्ट्रको फरक बारेमा केही उल्लेख गर्नु वान्छनिय छ । अधिराज्यमा राजा एक निश्चित परम्परा बोकेर आउँछन् । परम्पराको संरक्षण, जनता प्रति समान व्यवहारको चलन बोकेर आउने हुँदा हिन्दू अधिराज्यले सबैलाई समान व्यवहार गर्दछ । धर्मको मामिलामा राज्यसत्ताको नभई राजाको कर्तव्य र अधिकार रहन्छ । यसले राज्य सञ्चालन गर्ने राजनीतिमा धर्मनिरपेक्षता कायम गर्दछ ।

यसको विपरित हिन्दू गणतन्त्रमा वैधानिक रुपमा हिन्दू राष्ट्र रहे पनि त्यसको संरक्षणको जिम्मा लिने कोही हुन्न । युगौदेखि एक भएका विभिन्न सप्रदायहरु बीच वैमनश्यता बढाई रहेको वर्तमान अवस्थामा वैधानिक बनाईए पनि गणतन्त्रमा हिन्दू राष्ट्रमा हिन्दूत्वको हैकम सन्त महन्त आदिको हातमा जानुपर्ने हुन्छ । यसरी भारतका धर्माचार्यको हातमा देश जाने निश्चित छ । त्यसैले गणतन्त्रको उपस्थितिमा सहितको हिन्दू राष्ट्र भनेको विस्तारवादको पक्ष पोषण हो । गणतान्त्रिक हिन्दू अधिराज्य भनेको राष्ट्रवादको विरुद्धको अवस्था हो भने हिन्दू अधिराज्य राष्ट्रवादको उच्चतम अवस्था हो ।

राष्ट्रवादी सफल नहुनाका कारण
वरिष्ट कनिष्टको भावना, जसले सबैमा मेरै पछि अरु लाग्नपर्छ, मेरो सोच नै सबैभन्दा उत्तम हो भन्ने भावना पैदा गरेको छ ।

संगठन बनाएर त्यसको नेता बन्ने लोभ, जसले १०, २० जना जुटाएर एक संगठन खोल्न प्रेरित गरेको छ । यस्ता संगठनहरुमा विरोधीसँग संघर्ष गर्ने भन्दा समान प्रकृतिका अरु संगठनहरुको खोईरो खनेर आफु ठूलो हुन खोज्ने प्रवृति हावी छ ।

लक्ष भन्दा प्रचारमुखी, काम भन्दा कसरी छिटै आफ्नो वा आफ्नो समुह चर्चामा आँउछ भन्नेमा ध्यान जाँदा परिणाममुखी काम नहुनु

जनताले विश्वास गर्न चाहेर पनि नसक्नु, आपसी कलह, सतही कार्यक्रम आदिले गर्दा यिनिहरुबाट पारलाग्छ भन्ने जनतामा विश्वास हुँदैन त्यसैले साथ दिन पनि हच्किएका छन् ।

अभियान किन ?
यस्ता अरु पनि धेरै कारणहरहरु छन् जसले गर्दा राष्ट्रवादीहरु एकै संगठनमा अट्न सक्दैनन् । तर अहिलेसम्म जतिपनि प्रयत्न भएका छन ती सबै संगठन बनाउने भएका छन् । विगतका झण्डै दश बर्ष अनवरत प्रयत्न गर्दा पनि एक संगठन हुन नसकेको अवस्थामा फेरी संगठनको रुपमा जोड्ने प्रयत्न “डोकोमा दुध दुहुने” सरहको प्रयत्न हुन्छ ।

त्यसैले धेरै कुरा नसमेटी सबैको साझा लक्ष्यमा मात्र कार्यगत एकता गर्न आवश्यक छ । यस्तो एकतामा कसैको पनि अहंमा चोट नपुग्ने हुनुपर्दछ । कसैले पनि आफुलाई वेवास्ता गरिएको अनुभुति गर्न नसक्ने संरचना हुनु पर्दछ ।

यसको निमित्त अआफ्नो वर्तमान प्रतिष्ठा र अवस्था कायम राखेर आफुले गर्दै गरेको कामलाई पनि निरन्तरता दिदै जुट्न आवश्यक छ । त्यसैले यो अभियानमा कोही विलय हुने हैन, अर्को संगठनको रुप लिने पनि हैन । केवल “स्वाभिमानी हिन्दू अधिराज्य नेपाल” को निमित्त मात्र सहयात्रा अभियानको धारणा हो । राष्ट्रवादीहरु बीच अनेकौ कुरामा मत भिन्नता हुनसक्छ । स्वाभिमानी हिन्दू अधिराज्य लक्ष भएकाहरुलाई पहिले त्यससम्म सहयात्रा गर्न कुनै आपत्ति हुन सक्दैन ।

लक्ष्यमा सहयात्रा गर्ने भैसकेपछि त्यसको निमित्त के गर्नु पर्दछ भन्ने कुराको निर्णय गरेर कार्यक्रम बनाउने आपसी सल्लाह र छलफलले हो । लक्ष अपरिवर्तनीय छ अरु सबै कुरा समय र परिस्थिति अनुसार परिवर्तन हुन सक्छन् ।

केही समयको निमित्त अरु सबै कुरा बिसाएर  (बिसाएर भनिएको छ छोडेर हैन) जो जहांको भए पनि यो लक्ष्य पुरा नहुन्जेल सहकार्य गर्न जुटनु आवश्यक छ । कोही अभियान भित्र छ कि छैन भन्ने कुरा उसको लक्ष अनुकुल वा प्रतिकुल कार्यले निर्धारण गर्दछ । यो अभियानमा नाम, व्यक्तित्व वा आर्जित प्रतिष्ठाले मुल्यांकन हुने छैन । लक्ष्य प्रतिको समर्पण र त्यो प्राप्तीको निमित्त गरिने कामले मुल्यांकन हुने छ । सर्वत्र रहेको व्यक्तिपूजाको बानी यहाँ ग्राह्य छैन ।

आधारभूत कार्यनीति
कार्यनीति र कार्यक्रम सामुहिक निर्णयले तय हुने भएकाले आधारभूत कार्यनीति मात्र उल्लेख छ ।
स्वाभिमानी हिन्दू अधिराज्य नेपालको धारण विपरित आएका हरेक कुराको (चाहे त्यो जसले जहाँबाट गरे पनि ) आफुले सकेसम्म प्रतिकार गर्ने ।

आफुले उपयोग गर्ने सेवा, सामानआदि अभियानका सहयात्रीको व्यवसायबाट लिएर एकले अर्कोलाई टेवा दिने ।
सामुहिक कार्यक्रम बाहेक पनि अभियानका सहयात्रीहरुका कार्यक्रममा सहायता पुर्‍याउने ।

(क्राइमचेक साप्ताहिकमा २०७३ भदौ २३ गते विहीबार प्रकाशित)