माला बोक्नेहरू भाला बोक्न तयार–अस्मिता भण्डारी
- सन्तोष मिश्रवीरगंज/महिला संचार समुहकी अध्यक्ष अस्मिता भण्डारीले हालैको एक ताजा अन्तर्वातामा धर्म निरपेक्षताका कारण देशको राष्ट्रियता संकटमा परेकोले माला बोक्नेहरू भाला बोक्न बाध्य हुनेछन् भन्नु भएको छ ।
मुलुकको न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकासँगै चौथो अंगका रुपमा रहेको आम संचार पनि मुलुकको राजनीतिलाई हाल यो अवस्थामा पुर्याउनमा दोषी छ भन्नु हुने भण्डारीले हाम्रो देशको सनातन धर्मसहितको हिन्दू संस्कृति भनेको नै संसारमा हाम्रो गौरवमय पहिचान हो । त्यसैले म नेपाललाई हिन्दू अधिराज्य नै कायम राख्नु पर्छ भन्ने मान्यता राख्छु भन्नु भएको छ ।
उहाँले ८४ प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्बीहरू भएको देशमा नेपाली जनताहरूसँग एकपटक पनि छलफल नै नगरी विश्व हिन्दू महासंघको समेत कुनै धारणा नै नबुझी, जनतालाई थाहै नदिई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने अधिकार यो काँग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई कसले दियो ? भन्नु हुने भण्डारीले राजा सबैको साझा हुनाले व्यक्तिको रुपमा मात्र परिभाषित गर्न नहुनेमा जोड दिनु भएको थियो । नेपालको राष्ट्रियता खतरामा परेको छ, राजसंस्था र हिन्दू धर्मलाई विदेशीको ग्राइण्ड डिजाइन अनुुसार पाखा लगाउनाले देश नै अब रहला कि नरहलाको स्थितिमा पुगेको अन्तर्वतामा उल्लेख गर्नु भएको छ ।
विश्व हिन्दु महासंघकी सचिव समेत रहनु भएकी भण्डारीले सो अन्तर्वातामा हिन्दू धर्म र राजाको वकालत गर्ने वैधानिकता राप्रपा नेपालले मात्र पाएको छ भन्नु गलत हो । सबै दलमा हिन्दूवादी, राजावादी र राष्ट्रवादीहरू छन्, अन्य दलहरूले पनि त्रुटी महसुश गरिसकेका छन् । मुलुकको मूलभूत एजेण्डामा केन्द्रित रहेर नेपाल र नेपालीको कल्याणकाकालागि यही कार्तिक ४, ५ र ६ गते विराट हिन्दू महासम्मेलनको आयोजना गरी नेपाललाई अविलम्ब हिन्दू धर्म सापेक्ष राष्ट्र घोषणा गराउने पहल भइरहेको छ । अब सुतेका हिन्दूहरू जाग्ने छन् । मुलुकमा क्रिश्चियन हावी गराउने जुन प्रयास भइरहेको छ यसले नि:सन्देह धार्मिक मुद्दाको शंखघोष गरेको छ । राजासँग धर्म जोडिएकाले राजालाई पाखा लगाउन धर्म हटाइएको हो भन्ने भ्रामक प्रचार गरिएको छ । जसको परिणाम हामंो राष्ट्रियता र संस्कृतिमाथि चौतर्फि रुपमा यति ठूलो प्रहार भइरहेको छ ।
नेपाली जनताको चाहना विपरित नियोजित रुपमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको वकालत गरिएको छ । त्यसले केवल देशमा गृहयुद्धको संभावनालाई बढावा दिएको छ । पहिचानसहितको जातीय राज्यको जुन माग छ त्यसले नेपाललार्य कुन अवस्थामा पुर्याउँछ भन्ने कुरा सबैले विचार गर्नुपर्ने बेला आएको उल्लेख छ ।
(क्राइमचेक साप्ताकिमा २०७३ भदौ २३ गते बिहीबार प्रकाशित)