ब्रेकिङ समाचार

हरितालिका तीजको महत्व र विकृति

– सन्तोषी साह

नेपाल र भारतमा मात्र होइन विश्वभर छरिएका हिन्दू नारीहरूले आफ्नो पतिदेवको दिघार्यु, सु–स्वास्थ्य, अटल सौभाग्य र घर परिवारमा सुख शान्तिको कामनासहित प्रत्येक वर्षझैं यस वर्ष पनि व्रत बसेर शिव पार्वतीको पूजा गरेर भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज भव्यता पूर्वक मनाए ।

आधुनिक  महिलाहरूले पहिरन र गहना प्रदर्शन गर्ने पर्व तीज बनेको छ । अहिलेको तीज महिलाको फेसन शो भन्दा अतियुक्ती नहोला । तीज पर्वका दिन महिला स्वतन्त्र, उन्मुक्त हुन्छन् । उनीहरूमा बेग्लै हर्ष, उल्लास र उन्माद पाइन्छ । तीजमा चेलीहरू माइता जाने, आफ्ना साथीसँगीसँग नाच्ने, गाउने, सुख दु:खका कुरा सुन्ने सुनाउने गर्दछन् । हरेक नारीहरूको मनमा आ–आफ्नै कथा व्यथा हुन्छ । तीज पर्व धार्मिक र सांस्कृतिक पर्व हो । यसको विशेष महत्व छ । नेपाली महिलाहरूले विगतका दिनहरूमा परिवर्तनकालागि तीज पर्वको गीतको माध्यमबाट चेतना फैलाएका थिए ।

हिजोआज पनि एक महिना अघिदेखि तीजको गीत संचारमाध्यमा बजाइँदै छ । तीज पर्वको रमाइलो वातावरण गाउँ–शहर जताततै कायम भयो । महिलाहरूको चहल पहल निकै बढेको पाइयो । विवाहित हरेक तह र तप्काका महिला भेदभावरहित वातावरणमा एक ठाउँमा भेला भएर तीजको दर खाने र नाँच्ने, गाउने गरेका छन् । धनी गरिब, सानो–ठूलो भन्ने वातावरण हराएको छ । तीजमा जस्तो महिला एकता सधैं हुन सके नेपाली समाज उत्कृष्ट र उदाहरणीय समाज बन्ने थियो । तीज पर्व खर्चिलो र भड्किलो हुँदै गएको छ । नेपाली जनता जसको जीवनस्तर वृद्धि भएको छ ऊ तीजमा बढी सुखी र खुशी छ । हुँदा खाने वर्ग, निम्न आयस्तरका वर्गका महिलाहरूले तीजलाई बोझिलो ठान्दै आएपनि ऋण गरेर भएपनि धान्दै आएका छन् ।

तीजको परम्परा र आधुनिकताबीच समायोजन जरुरी छ । तीज पर्वमा साडी, चुरापोते, गर गहना, लहंगा, अन्य फेशनका कपडा बेच्ने व्यापारीहरूकालागि तीज पर्व अति व्यापार हुने पर्वका रुपमा लिने गरेका छन् ।
हरितालिका तीज पर्वको चलन प्राचीन कालदेखि नै चल्दै आएको हो । अविवाहिता महिलाहरूले योग्य वरको कामना गर्दै तीजको कठिन व्रत लिएका हुन्छन् । हरितालिका तीजको धार्मिक, सांस्कृतिक पक्षका साथै सामाजिक पक्ष पनि महत्वपूर्ण छ । तीज पर्वकालागि कलाकर्मीहरूले सामाजिक, आर्थिक, राजनीतिक लगायत क्षेत्रका विकृति, विसंगति, सरकार र नेताहरुको कार्यशैली र प्रवृत्ति उदाङ्गो पार्दै गिती क्यासेट, भिडियो तयार पारिएको पाइयो । तथा तीजको गीतमा भण्डाफोर अभियान पनि समावेश छ । शिवालयहरूमा तीज पर्वका दिन मेला लागेको थियो । भोको पेटका महिलाहरू खुबै नाचे, गाए, त्यो शक्ति उनीहरूलाई इश्वर भगवानले प्रदान गरेको हुन्छ ।

तीज मनाउने परम्परामा धेरै भिन्नता आएको छ । पहिले पहिले तीजको बेलामा महिलाहरू माइतिघर जाने चलन थियो भने अहिले पाइकै घरमा महिलाहरू एक महिना अघि देखि नै भेला भई तीजका नाममा भोज भतेर र नाँच गानको प्रचलन चलेको छ । महिलाहरूको आर्थिक जीवनस्तर जति उठाउन सकिन्छ त्यति नै तीज पर्व रमाइलो बन्दै जान्थ्यो । रमझम तीज आयो वरी लै, नाची देउ, आइ देउ, हाँसीदेउ दिदी बहिनीहरू जति सबै लौ । भन्दै मनाए ।

तीजको अन्तिम दिन अर्थात पञ्चमीका दिन तीजको व्रत बसेका व्रतालुहरूले ऋषि पञ्चमीको ब्रत बसेर समापन गरेका थिए ।

(२०७३ भदौ २३ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित)