मर्न के हत्तार...?
 – प्रशान्त महासागर
– प्रशान्त महासागरकसैले उपहार दिंदा लिने कि नलिने... ? यो मैले मसँग होईन अरु कसैसँग सोधेको छु भन्दा त्यो अरुमा हजुर वा तपाई वा तिमी वा तँ भन्ने प्रवुद्धको मनुष्य पर्छ कि पर्दैन ? शायद जवाफमा अँह हुनसक्छ भन्ने अड्कल पनि अहिलेको अवस्थामा शेष रहन्छ किनभने सबै सोचले सिद्ध महापुरुषहरु बनिसकेका छन् भने अधिकारको सवालमा सबैले माग्न जानिसकेका दिनहरु अबका हुन् । यस्तोमा मैले मेरो रुप यस्तै छ भनी वर्णन गर्दा मै विरुद्ध आवाज, मेरो पनि चर्को हुन्छ नै ।
त्यसैले जीवनसँग मृत्युका कदमहरु टाढिएका हुन् भन्नुको अर्थ आनाकानी, मृत्युलाई स्वीकार्नुमा गर्ने नै हो भने कतिपय ठाउँमा नजिक हुने तीब्रता यथास्थानमा छ नै । र त्यो यथास्थान भनेको नक्कलमा बाँचेका जीवनहरु जस्मा कमाईका लागी गरिएका होडहरु, धर्मका नाउँमा पापलाई अनुशरण गरेका अर्थहरु आदी आदीमा जीवन भन्दा नि बढी मृत्युले नै सकृय कार्यहरु सम्पादन र प्रतिपादनका खेल क्रिडा रचेका हुन्छन् । तर बुझ्न चाहँदैनन् । अन्तत जीवन, मृत्युसम्म पुग्न आनाकानी नै हुन्छन् वा गर्छन् जुन जीवनको वास्तविक अधिकार पनि हो भने पुग्नु पर्ने वास्तविक गन्तव्य पनि त्यही हो । तर पनि लोभका, प्रलोभनका अनेक कुराहरुले त्यो बाटोमा अनेक अप्ठ्याराहरु आफैंद्वारा निर्माण गर्ने र बाँच्नुको सार त्यही ठान्नुले धेरै कुराहरु कुनै बच्चा गर्वमै तुहिए जस्तै भई रहेको बिर्सिनु नै हो । अनि आफ्नो गल्ति र दोषलाई दैबको लीला दैव नै जानुन् भनि पन्छिने कार्य पनि हामीबाट नै भई रहेको छ । यस्ता र त्यस्ता अनेक कार्यले गर्दा हामीसँग भएका बहुमुल्य चमकहरु ओझेलमा पर्दै हामी निस्तेज हुँदै गई रहेका छौं । र हामी बाह्य तेजको खोजमा अग्रसर छौं । अनि नचाहिंदो शरण भन्नुको अर्थ आफुलाई आफैंभित्र बन्दीमा रुपान्तरित गर्ने कुराहरुको लालसासँग प्रतिबद्ध हुँदै छौं । र प्रतिबद्धतामा ऐक्यबद्धता जनाउन सिद्धान्तको कवज बनाउँछौं वा लगाउँछौं तर जुन कार्यको लागि गरिएका वा हिडिएका बाटाहरु वीचमै तुहिन्छन् । सत्य मरिन्छ भने सत्यकै लागि हिडिएकै या भनौं गुडिएकै पाङ्ग्रामुनि सत्य पर्छ, हेर्नेले कुनै दूर्घटना भन्नु सिवाय अरु जानेकै हुँदैनन् । यस्तोमा कुनै ठाउँले रक्त सेचनका कार्य बाहेक अरु प्रतिपादन गर्न सक्दैनन् ।
संघर्षका कतिपय कुराहरु पनि बेअर्थ प्राप्तिका कुराहरु बन्छन् । अनि एक देखि दुई, दुई देखि चार गुणन हिसाबका सिद्धान्तहरु प्रतिपादन हुन्छन् । तर काम वा उद्देश्य जहाँबाट शुरु थियो त्यही नै अन्त भोगी प्रतिक्षाका कुराहरु वेदनाहरु पोखी सम्भावनाहरुको खोजमा रहिरहन्छन् तर हामी मानव आफुलाई ठूलो र गुणवान् सम्झी कुरा र प्रसंगहरु फेरी रहेकै हुन्छौं । र जीवन, बाँच्नुसँग मात्र शेष राख्न खोजी रह्यौ । यस्तोमा देशको कुरा तुच्छ हुनु स्वाभाविक नै हो भन्नुको अर्थ सबै व्यक्तिबाद सोचमा छन् जस्को उत्पादन भनेको जातियता हो । र मैले जात भनेर कसैको जन्मद्वारा प्राप्त गोत्रको कुरा गरिरहेको छैन्, पहिचान भनेर चिच्याउने तर त्यही पहिचान मास्ने, कतिपय ठाउँमा बेच्ने जत्थाको कुरा गरिरहेको छु, अवसर खोजी रहने जातको कुरा गरिरहेको छु । नेपाली भएर बाँच्न नसक्ने प्रथाको कुरा गरिरहेको छु । जन्मसँग टाढिएर कर्ममा लिपिबद्ध भई जन्मकै विरोध गर्ने बथानहरुको कुरा गरिरहेको छु । र म यो कुरा किन गर्दैछु भने सबैलाई अंश चाहिने तर अंशको सवालमा कर्तव्य र दायित्वबाट सहजै पन्छिने जुन इबोलाले मानव जीवनमा डेरा गरे आखिर कहिलेसम्म भन्ने मेरो दुखाइ नै हो । त्यसैले सर्वप्रथम जन्म पाउनुको उद्देश्यलाई मनन गरौं ।
यहाँ हाम्रो जन्म कुनै बेला कहीं कसैको रहरसँग आबद्ध छ त कहीं कतै कर या कुनै मनोरञ्जनबाट पनि हुने कुरालाई नकार्नु मूर्खता नै सावित हुन्छ । त्यसैले जन्मको कुरालाई एकातिर पन्छाएर जुन मर्नु पर्ने कुरा हामीले सदा आफ्नो स्मरणमा राख्नु पर्छ भन्ने नै मेरो मुख्य उद्देश्य हो । र मर्नु पर्ने जीवनमा त अनेक लोभको हामीसँग वास छ भने यदि मर्नु नै नपर्ने अवस्था शेष रह्यो भने हामी कतिसम्म क्रुर हुन्छौं । यो कुरालाई सोच्न हामीले अवश्य छोडेका छौं भने मर्नकै लागि पनि आफ्नो जीवन कालमा अनेक पापहरु प्रत्यारोपण गरि बाँच्ने दुष्प्रयासमै छौं । तर होश हुँदा नि नभएकै सरह अभिनयमा अनेक यात्राहरु भई रहे, गरि रहे तर दोषको सवालमा यहाँ पनि कि दैब कि सरकार नै शिकार हुँदै गरेका अनेक कुराहरु बजारमा व्यापक छन् भन्नुको अर्थ भाग्य र भगवान्सँगको जुन असन्तोष मनुष्य जीवनमा छ त्यो मरेपछि मात्र कहीं हट्छ कि भन्ने अड्कल मात्र गर्न सकिन्छ । होईन भने माग कतैबाट पनि हट्ने छैन् । जबसम्म माग रहन्छ तबसम्म पाप पनि रहन्छ, पापी पनि हुन्छ । यस्तोमा आज हामीले हाम्रा पाइलाहरु आफ्नो लागि नभए पनि आफ्नो सन्ततीको लागि भए पनि तीख्रार्नु पर्छ नै । ठूलो भन्दा नि असल हुनलाई बाँच्नु पर्छ नै । जीवनलाई सन्तोषमुखि बनाई हाँस्नु पर्छ नै । र त्यो हाँसुमै सबै कुरा हुन्छन् । छातीमा हात राखेर महसुस गर्नुस् जिउँदो जीवन पनि त्यही हुन्छ । र जीवनमा हामीले जुन बाँच्ने प्रलोभन गरेका थियौं सहजै प्राप्त हुन्छन् पनि । यसको लागि हाम्रो संकल्पमा सर्वप्रथम सन्तुष्टि हुनुपर्छ, उपहार ग्रहणसँग प्रयोग गर्ने कुरालाई महत्व दिनुपर्छ, काम कुरालाई व्यवहारसँग जोड्न सक्नु पर्छ अनि
१. राम्रो शिक्षा घर घरमा हुन्छ, देश कुनै प्रलोभनमा त्याग्नु पर्दैन् ।
२. मीठो खाउ, राम्रो लाउको लागि प्रयाप्त आम्दानी हुन्छ, खर्चलाई सहजै चिन्छ ।
३. राम्रो व्यक्तिहरु माझमा राम्रो स्वास्थ्य निर्माण हुन्छ ।
४. राम्रो समाज, राम्रो व्यवस्थामा जीवन हुर्किन्छ ।
५. “राम्रो देश, हाम्रो देश” हाम्रो लक्ष्य समृद्धि सुखी जीवन बन्छ ।
त्यसैले जबसम्म आफुलाई आफैले चिन्ने र सन्तुष्ट पार्ने काम गर्न हामी सक्षम हुँदैनौं तबसम्म यहाँ सधैं जातकै वहस हुन्छन् । धर्म फेरबदल हुनुका साथै परिमार्जित कुराहरु प्रस्फुटन भई रहन्छन् । व्यवस्थाहरु कमजोर हुनु र त्यसको फाईदा लिनमा मानव जन्तु सदा अग्रसर भई रहन्छन् । झुठो र भ्रमपूर्ण कुराहरु नै ज्यादा कमाईसँग आबद्ध भई रहन्छन् । एक मनुष्य अर्को मनुष्यको वीच अपरिचित हुँदै जानुको मुख्य कारक पनि विभिन्न कारणका प्रलोभनहरु नै हुन् जस्मा एक मनुष्यको भाग्य र भगवान्सँग असन्तोष पोख्नु नै हो । त्यसैले उपहार उपहास बनाउने जीवन हामी किन बाँच्ने...यसको अर्थ आत्माहत्या होईन् । सही रुपमा, सही अर्थमा मर्नै पर्छ भन्ने जीवन बाँची आत्मालाई शुद्ध पार्नु आजको वास्तविक आवश्यकता हो । र नपुगताको सवालमा कसैलाई कहीं पनि जति भए पनि पुग्दैनन् । अत: जन्म कर्मकै कारक बन्छ भने पनि एकचोटि अवश्य त्यो थलो भलोको कुरा सोचौं । मर्नु अगावै बाँच्नुको सार छोडेर मात्र मरौं । मर्न त यहाँ दिनहुँ लाखौं जनावर मरिरहेका छन्, त्यो लाखौं जनावरमा म मानव जनावर किन पर्ने भन्ने सोची मात्र बाँचौं ।
(२०७३ भदौ २३ गते विहीबार क्राइम चेकमा प्रकाशित)
 
 
 
 
 
 
 
 
 
 
 
 
