ब्रेकिङ समाचार

नेपाली जनता होशियार भारतीय दलालहरू खबरदार !

वीरगंज, १३ माघ/नेपाल र नेपाली जनतालाई थिचोमिचो गरी आफ्नो कुटिल रणनीतिको साम्राज्य स्थापित गर्न सक्रिय भारतीय खुफिया एजेन्सी रअ तथा भारतीय दलालहरूको जालोलाई भत्काउन नेपाली जनताहरू सचेत हुनुपर्ने समय आएको छ ।
वीरगंजमा स्थापित भारतीय महावाणिज्य दूतावासमार्फत तराईका सीमासँग जोडिएका भारतीय क्षेत्र सुरक्षित गराउन नेपालको तराईका विभिन्न क्षेत्रमा आर्थिक एवं भौतिक लगानी गरी यस क्षेत्रका राजनीतिक दल र नेताहरूलाई आफ्नो अनुकुल प्रयोग गरी नेपालमा अस्थिरता, द्वन्द्व, कलह, जातीय, क्षेत्रीय, धार्मिक लगायतका विभिन्न खाले द्वन्द्व, परनिर्भरता लम्ब्याउने कार्यमा सक्रिय रहेको छ ।
भारतका विभिन्न प्रान्त तथा नेपालसँग सीमा जोडिएका भारतीय गाउँ वस्तीहरू चरम गरीबीमा डुबेको, त्यहाँका विद्यालयमा पढ्ने बालबालिकाहरू चिसो भूइँ तथा खपडाको छाना भएको घरमा बोरा बिच्छाई पढ्नुपर्ने बाध्य भइरहँदा पनि भारतीय र विहार क्षेत्रका गरीबी हटाउन पहल नगरी नेपालका तराई क्षेत्रमा आफ्नो पकड बलियो बनाउन सक्रिय हुनु पछाडी भारतको नियत के हो ? भन्ने घाम झैं छर्लङ्गिएको छ ।
वीरगंज आर्थिक नगरी भएकोले यस क्षेत्रको व्यापार व्यवसाय, विकास लगायतका कार्यमा टेवा पुर्‍याउने उद्देश्यले भारतीय महावाणिज्य दूतावासको स्थापना भएको भनिएपनि दूतावासको नियत भने त्यसको ठीक विपरित अर्थात् यस क्षेत्रको उद्योग धन्दा ठप्प पारी यहाँका जनतालाई चाहिने उपभोग्य लगायतका वस्तुमाथि पूर्ण रुपमा भारतमाथि निर्भर गराइरहने कुटिल रणनीति हो ।
यस क्षेत्रमा सक्रिय तस्करहरूले भारतबाट विभिन्न खाले माल सामान नेपाल भित्र्याउने क्रममा एउटै सामानको भारतको रक्सौलस्थित भन्सार चेकपोष्टमा एकथरी परिमाण र मूल्य देखाउँछन् भने नेपाली भन्सारमा अर्कोथरी बिल र परिमाण देखाएर नेपाली राजश्व चुहावट गर्न भारतीय दूतावासको अदृश्य शक्तिको सहयोगमा रक्सौल कस्टमका कर्मचारीहरूमार्फत तस्करहरू लागि परेको प्रष्ट छ ।
दुबै देशको सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी र भन्सार छली नियन्त्रणका लागि भारत सरकारले सीमा क्षेत्रमा सशस्त्र सीमा सुरक्षा बल परिचालन गरेपश्चात नेपाली तस्करहरूले बाध्य भई भारतको मूख्य कष्टममा आयात गरिएको माल सामानको परिमाण र मूल्य उल्लेखित सक्कली कागजात पेश गरी भन्सार पास गर्छन भने त्यही सामान नेपालको भन्सार कार्यालयमा ल्याउँदा परिमाणको केही मात्र राजश्व बुझाउने गरेका छन् । भने बाँकी माल भन्सार कर्मचारीको मिलोमतोमा गाडीमा लोड गरी नेपाल भित्र्याउने क्रममा राजश्व अनुसन्धान कार्यालय तथा नेपाली सुरक्षाकर्मीहरुले बारम्बार पक्राउ गर्दै आएतापनि यस घटना क्रमलाई रोक्न भारतीय महावाणिज्य दूतावास वीरगंजले कुनै ठोस पहल नगरी तस्करहरुलाई साथ दिई अनुचित लाभ लिन सक्रिय रहेको प्रष्ट छन्, हैन भने भारतीय कस्टममा तस्करले पेश गरेको कागजातहरुलाई इन्टरनेटको माध्यमबाट नेपाल सरकारलाई जानकारी किन नगराएको ?
त्यसैगरी नेपाली जनताहरुले भारतीय सीमावर्ती बजार रक्सौल लगायतबाट घरेलु उपभोगका लागि खुद्रा सामानहरु किनेर फर्किने क्रममा रक्सौल कस्टममा खटिएका कर्मचारीहरुले नेपाली नागरिकहरुसँग दुब्र्यवहार गर्दै जबरजस्ती रु. ५० देखि ५०० पाँच सय रुपैयाँ सम्म रंगदारी असुल्ने गरेको घटना दिनहुँ भईरहँदा पनि भारतीय महावाणिज्य दूतावासले त्यसतर्फ कुनै चासो नदेखाउनु पछाडीको रहष्य आफैंमा शंकास्पद छ ।
मित्रको आवरणमा खतरनाक शत्रुको रुपमा रहेको भारतको घृणित अनुहार त्यतिमात्र छैन नेपाली युवाहरुलाई कुलतमा फसाएर नेपाललाई जर्जर बनाउन पनि उत्तिकै सक्रिय रहेको पाइएको छ । नेपाली युवाहरुलाई लक्षित गरी उत्पादित फेन्सिडिल, टिडिजेसिक इन्जेक्सन, नाइट्रोजे पाम टैबलेट लगायतका खतरनाक नशाजन्य लागुऔषध खुल्लेयाम रुपमा नेपाली युवाहरुका लागि बिक्री वितरण गर्न लगाउने तथा भारतीय बजारमै त्यसको सेवन समेतको आवश्यक वातावरण त्यहाँका प्रहरी शासन र व्यापारीहरुले तयार पारेको सबैले थाहा पाए पनि भारतीय महावाणिज्य दूतको मौनताले उसको खतरनाक रणनीति छर्लङ्ग हुँदैछ ।
भारतको गणतन्त्र दिवस, स्वतन्त्रता दिवस लगायतको अवसर पारेर नेपालमा नाटकीय ढंगले केही स्कूल बस, एम्बुलेन्स बाँड्ने भारतीयहरूले बारा, पर्सा, रौतहट लगायतका लाखौं किसानको हजारौं हेक्टर जग्गालाई बाँझो राखेर नेपाललाई खाद्यन्नमा समेत भारतमा निर्भर बनाउने कुटिल रणनीति अन्तर्गत गण्डक नहरको पानी रोक्ने घृणित कार्य गर्दै आएको एक दशक भन्दा बढी भएको छ यसले भारतीय महावाणिज्य दूतावास वीरगंजमा स्थापनाको वास्तविकता उजागर भएको छ ।
त्यति मात्र हैन भारतीय आयल निगमको रक्सौल स्थित डिपोमा पेट्रोलियम पदार्थ लिन जाने नेपाली ट्यांकर र नेपाल आयल निगमका ट्यांकहरुसँग भारतीय आयल निगमका कर्मचारीहरुले जबरजस्ती प्रतिट्यांकर (शिल, अनलोड, गेट खोल्ने, पालो) लगायतका नाममा अवैध तरीकाले भारतीय रुपैयाँ १५ सय सम्म असुल्ने गरेको कारण नेपाल आयल निगमका ट्ंयांकर चालकहरुले तेल चोरी गर्ने गरेको वीरगंजस्थित रेणुका आयल स्टोर्सका मनिस मिश्रले बताएका छन् । भारतको विभिन्न क्षेत्रबाट नेपालीहरुमाथि अनेक तरीकाले लुट मच्चाइरहँदा पनि भारतीय महावाणिज्य दूतावास वीरगंजले त्यसको रोकथाममा कुनै पहल नगर्नु आफैंमा रहष्यमयी छ ।
त्यसैगरी भारतीयहरूले नेपाल र भारत सरकारले निर्धारण गरेको भारतीय रुपैयाँको सटही दर तथा सम्झौता विपरित नेपाली जनतालाई दोहन गर्ने गरेको छ । भारतीय सीमावर्ती क्षेत्रको बजारमा उपभोग्य लगायतका सामान खरिद गर्न जाने नेपाली नागरिकहरुसँग प्रति सयकडा १० देखि १५ रुपैयाँसम्म असुल गर्ने गरेको कारण मित्रको आवरणमा धमिरालेझैं नेपाललाई खोक्रो बनाउन भारत सक्रिय रहेको प्रमाणित भएको छ ।
सदियौं देखि सुमधुर र मित्रवत रहेको नेपाल–भारत सम्बन्धमा चिसोपन ल्याउने तथा नेपालमा अस्थिरता, अराजकता, परनिर्भता, अशान्ति, कलह, द्वैश, द्वन्द्व लगायतलाई लम्ब्याएर त्यसको अनुचित लाभ लिन वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास सक्रिय रहेको हुँदा त्यसमा संलग्न दलालहरुलाई खबरदारी गर्न नेपाली जनता गोलवद्ध हुनुपर्ने समय आएको छ ।